८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रंगेलीमा पसल बन्द गराउँदै हिडेकाे प्रहरी र स्थानीयबीच झडप

मोरङको रंगेली नगरपालिका–५ स्थित आँपगाछीमा बुधबार राति स्थानीय र प्रहरीबीच विवाद हुँदा झडपभएको छ। बुधबार साँझ ७ बजेदेखि सुुरु भएको विवाद उत्कर्षमा पुगेपछि दोहोरो झडप भएको होे । आँपगाछी क्षेत्र गएराति ११ बजेसम्म तनावपूर्ण रह्यो ।  

कोरोना भाइरसको संक्रमण फैलिएका कारण नगरपालिकाले अन्य वडा शिल गर्नुका साथै पूर्णरूपमा लकडाउन गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र उपभोग्य वस्तु खरिद गर्दा भीडभाड नगर्न अनुरोध गरेको थियो।  

यसैक्रममा बुधबार साँझ वडा नम्बर ५ आँपगाछी क्षेत्रमा खुलेका दैनिक उपभोग्य वस्तुको पसल र मदिरा पसल बन्द गराउँदै पुगेको प्रहरी टोलीबीच पसले र स्थानीयबीच विवाद सुरु भएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवागमन र भीडभाडमा कडाइ गर्न खटिएको प्रहरी टोलीले खुला रहेका मदिरा पसल बन्द गराउन खोज्दा विवाद सुरु भएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

‘मदिरा पसल बन्द गर्न र भीडभाड नगर्न आग्रह गर्दा नमानेका कारण प्रहरीले सामान्य बल प्रयोग गर्न खोजेपछि तनावपूर्ण बनेको हो,’ एसपी खड्काले भने, ‘प्रहरीले नियम उल्लंघन गर्नेहरूमाथि लाठी प्रहार गरेसँगै साँझ ७ बजेबाट आँपगाछीको अवस्था असामान्य बनेर हो ।’

स्थानीयले राति ११ बजेसम्म आँपगाछी प्रहरी चौकी घेराउ गरी प्रहरी प्रशासनको ज्यादती बन्द गर्नुपर्नेलगायतको माग गर्दै नाराबाजी गरेका थिए । प्रहरीले अनआवश्यक बल प्रयोग र लाठी प्रहार गरेकोभन्दै विरोधमा उत्रिएका स्थानीय ढुुंगामुढा र तोडफोड गर्दै प्रहरीचौकीको सुरक्षाका लागि बनाइएको बाँसको टाटीको बार भत्काइदिए ।  

स्थानीयले विरोधका क्रममा चौकीमा गरेको ढुंगा प्रहारबाट चौकीका असइ (सहायक निरीक्षक) सन्तोष यादवको टाउकाे फुटेपछि घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय थप आक्रोशित हुँदै गएपछि स्थिति नियन्त्रण बाहिर जान लागेकाले एक राउण्ड हवाई फायर गर्नु परेको एसपी खड्काले बताए ।  

‘कोरोना महामारीका कारण भीडभाड हुन नदिने र आवतजावत रोक्ने क्रममा मदिरा पसल खुला रहेकोले बन्द गराउन गएको प्रहरी टोलीसँग स्थानीयले विवाद गर्न थाले,’ एसपी खड्काले भने, ‘टोलीले स्थानीयलाई सम्झाउन खोज्दा नमानी ५÷७ सय भेला भई प्रहरी चौकी घेराउ गर्दै आक्रमण र तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नुपरेको हो । स्थानीयको आक्रमणबाट एक जना असईको टाउसमेत फुटेको छ ।’

वडाध्यक्ष महानन्द मण्डलले भने, महामारीका कारण कडाइ गर्न सम्झाउनु पर्ने प्रहरीले सुरूआतमै लाठी प्रहारपछि अवस्था तनावपूर्ण बन्यो । ‘यस वडामा ११ जनामा कोरोना पोजेटिभ देखिएपछि सर्वपक्षीय बैठकले कोरोना नियन्त्रणका लागि भीडभाड र आवागमन रोक्ने सहमति गरेका थियौं,’ वडाध्यक्ष मण्डलले भने, ‘तर, प्रहरीले स्थानीयलाई सम्झाउनु पर्नेमा कुटपिट गर्न थालेपछि स्थिति विग्रेको हो ।’ कुटपिटबाट केही स्थानीयलाई चोट लागेको छ भने बिहान छलफल गरी समस्या समाधान गर्ने भनेपछि राति स्थिति सामान्य बन्यो, मण्डलले भने । स्थितिलाई नियन्त्रण लिन विराटनगरबाट डिएसपी मानबहादुर राई र इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालको छुट्टाछुटै टोली गएको थियो भने सशस्त्र प्रहरीसमेत परिचान गरिएको थियो । 

प्रकाशित: ४ भाद्र २०७७ ०८:०८ बिहीबार

झडप