इलाम सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ गणको ठूलो संख्याका सुरक्षाकर्मीमा कोरोना फैलिएपछि जिल्लाभर संक्रमणको त्रास फैलिएको छ। जिल्लामा संक्रमण पुष्टि भएका कुल ७६ जनामध्ये ४६ चाहिँ डिएसपीसहितका सशस्त्र प्रहरी नै छन्।
संक्रमित सशस्त्रमध्ये पनि सदरमुकामस्थित हेडक्वार्टरकै ४३ जना छन्। र, सदरमुकामबाहिरका बाँकी ३ जना पनि कुनै न कुनै रूपमा यही हेडक्वार्टरसँग भौतिक रूपमा जोडिएका थिए। यसले सदरमुकामबाहिर रहेका सशस्त्र प्रहरीका बेसक्याम्पमा त संक्रमणको जोखिम बढेकै छ, ती क्याम्पसनजिकै रहेका समुदायमा समेत त्रास थपिएको छ। हेडक्वार्टर केही दिनयता ‘सिल्ड’ छ तर त्यसअघि हेडक्वार्टर आएका र जिल्लाबाहिर पुगेका सुरक्षाकर्मीमा समेत संक्रमण पुष्टि भएको छ।
हेडक्वार्टरमा कसरी फैलियो त कोरोना ? आमअनुमान र सम्बन्धित निकायको जवाफ फरक–फरक छन्। सर्वसाधारणले सशस्त्र प्रहरीको लापरबाहीले जिल्लामै कोरोनाको जोखिम बढाएको भन्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट चिन्ता व्यक्त गरिरहेका छन्। सरकारी निकाय चाहिँ भारतीय सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई संक्रमणको माध्यम भनिरहेका छन्। गणमा भर्खरै (गण सिल हुनु २/३ दिनअघिमात्रै) सरुवा भइआएका एसपी सुधीरजंग थापा संक्रमण आशंका गरिएका व्यक्ति राखेका क्वारेन्टिनहरूबाट गणमा कोरोना आइपुगेको दाबी गर्छन्। ‘सदरमुकामस्थित जिल्ला समन्वय समितिको नयाँ भवनमा रहेको क्वारेन्टिनमा सशस्त्रको ड्युटी टिम चेन्ज गरिएछ,’ उनले आफू आउनुअघिको अवस्था अनुमान गरे, ‘त्यहींबाट यहाँसम्म कोरोना आइपुगेको हुनसक्छ। ड्युटीको टोली त्यसरी चेन्ज गर्नुहुँदैनथ्यो।’ सशस्त्रले सदरमुकामबाहिरका क्वारेन्टिनमा पनि सुरक्षा टोली राखेको छ। तर, त्यहाँ चाहिँ ड्युटी परिवर्तन नभएको उनले बताए।
कोरोनाकालमै सशस्त्रको टोली भारतीय सीमा क्षेत्रतिरसमेत ड्युटीका लागि पुगेर हेडक्वार्टर फर्किएकाले उनीहरूबाट कोरोना सरेको अनुमान पनि सुरक्षा निकायमा छ। स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बराल भन्छन्, ‘यही कारणले, यही माध्यमबाट कोरोना सरेको भन्न सकिने अवस्था त छैन तर भारतीय सीमा क्षेत्रमा खटिएका जवानहरूबाट सशस्त्रको गणसम्म कोरोना फैलिएको हुनसक्छ।’
तर, एसपी थापा चाहिँ सीमा क्षेत्रबाट फर्किएका जवानबाट कोरोना आएको आफूलाई नलागेको बताउँछन्। ‘सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको त पिसिआर रिपोर्ट आउनै बाँकी छ,’ उनले भने, ‘क्वारेन्टिनमा ड्युटी बसेका व्यक्ति कार्यालयमा आउने–जाने गर्नुहुँदैनथ्यो। सीमा क्षेत्रबाट फैलिएर आएको होजस्तो चाहिँ लाग्दैन।’ सिल हुनुअघिसम्म हेर्डक्वार्टरमा जिल्लाका सबैजसो बेसक्याम्पबाट सुरक्षाकर्मीको आउ–जाउ चलिरहेको थियो। कोरोनाको त्रास रहेपनि सुरक्षाकर्मीको सरुवा–बढुवा, दज्र्यानी चिह्न प्रदान गर्नेजस्ता गतिविधि भइरहेकाले कोरोना फैलिन ‘मलजल’ मिलेको सशस्त्र प्रहरीकै अधिकारीहरू स्वीकार्छन्।
साउन ११ गते हेडक्वार्टरका १० जनाको स्वाब नमुना परीक्षण गर्दा डिएसपीसहित ५ जनाको रिपोर्ट पोजिटिभ आएको थियो। यही गणका १५ जनाको नमुना पठाइएकामा साउन १६ गते ५ जनामा, ४० जनाको नमुना पठाइएकामा साउन १७ मा १७ जना र ३८ जनाको नमुनामा साउन २२ गते थप १६ जनाको रिपोर्ट पोजिटिभ आएको थियो। हेडक्वार्टरका डिएसपीमा कोरोना पोजिटिभ देखिएपछि त्यसको केही दिनअघि उनलाई भेट्न जिर्मलेबाट हेडक्वार्टरसम्म आएका इन्स्पेक्टरमा समेत कोरोना पुष्टि भएको थियो। झापा बिर्तामोडमा साउन १५ मा आएको पिसिआर रिपोर्टमा ती इस्पेक्टरमा कोरोना संक्रमण पुष्टि भएको थियो। इलाम हेडक्वार्टरबाट झापा जाँदा आइतबारेसम्म संक्रमित इन्स्पेक्टरसँग एउटै गाडीमा गएका झापा नापी कार्यालयका ३ कर्मचारीको पिसिआर रिपोर्ट भने नेगेटिभ देखिएको छ।
इलाम हेडक्वार्टरबाटै झापाको पाडाजुगीस्थित सशस्त्र प्रहरी तालिम केन्द्र गएका ३ जनामा पनि साउन १५ मा कोरोना पुष्टि भएको थियो। झापाका सीमावर्ती क्षेत्रमा ड्युटी गरेर इलाम आएका जवानको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको हेडक्वार्टरका डिएसपी विश्व खड्काले बताए। ‘संक्रमण पुष्टि भएका केहीमा कोरोनाको लक्षण देखिएपनि बाँकीमा देखिएको छैन,’ उनले भने, ‘संक्रमणको जोखिममा रहेका जवानहरूलाई हामीले गणमा पनि क्वारेन्टिनकै रूपमा अलग्गै राखेका थियौं।’
भारतीय सीमा क्षेत्र मानेभञ्ज्याङमा रहेको बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी)मा सशस्त्रका ७ जना रहेकामा सदरमुकामस्थित हेडक्वार्टरबाट थप ३ जना पठाइएको थियो। तर, उनीहरू मानेभञ्ज्याङ नपुग्दै पशुपतिनगर बिओपीले सेल्फ क्वारेन्टिनमा राखेर पिसिआर जाँच गरेको थियो। जाँच गर्दा साउन २० मा १ जनाको रिपोर्ट पोजिटिभ आएको थियो।
त्यतिमात्र होइन, पशुपतिनगर बिओपी र सूर्योदय नगरपालिका वडा ११ स्थित आइतबारे चेकपोस्टका १/१ जवान सहायक हवल्दारमा बढुवा भएपछि उनीहरूलाई हेडक्वार्टरले दज्र्यानी चिह्न प्रदान गर्न पहिलो साता सदरमुकामै बोलायो। हेडक्वार्टरबाट फर्किएका पशुपतिनगरका सुरक्षाकर्मीमा साउन २० मा र आइतबारेका सुरक्षाकर्मीमा साउन २१ गते कोरोना पुष्टि भयो। आफ्नो समूहमा मिसिनुपहिले नै आइतबारेका सुरक्षाकर्मीलाई होम क्वारेन्टिनमा राखेर पिसिआर जाँच गरिएको थियो। रिपोर्ट पोजिटिभ आएपछि सूर्योदय नगरले उनको घर रहेको आइतबारे बजार क्षेत्र बिहीबारदेखि अनिश्चितकालका लागि ‘सिल’ गरेको छ।
‘संक्रमित जवान क्याम्पमा नमिसिएको हुनाले सुरक्षाकर्मीभित्र थप जोखिम चाहिँ छैन,’ आइतबारेस्थित सशस्त्र प्रहरी चेकपोस्टका इन्स्पेक्टर दीपक बस्नेतले भने, ‘जोखिम बढ्न नदिन संक्रमित बसेको घर र बजार क्षेत्र सिल गरिएको छ।’
इलाम हेडक्वार्टरमा साउन १७ मा कोरोना पोजिटिभ देखिएका जवान त्यसको केही दिनअघि देउमाई नगरपालिकास्थित आफ्नो घर, गाउँ र नगरपालिका कार्यालयमा समेत पुगेको ‘कन्ट्र्याक ट्रेसिङ’ गरिएको थियो। त्यही कारणले नगरका कर्मचारीसहित उनको घर–गाउँका २९ जनाको पिसिआर जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ। देउमाई नगरका मेयर सूर्य पोख्रेल जोखिममा रहेका व्यक्तिले समुदायतिर भौतिक सम्पर्क गर्नै नहुने बताउँछन्। ‘पिसिआर टेस्ट गराएपछि सकेसम्म क्वारेन्टिनमा बस्नुपर्ने हो तर सशस्त्रका एक जवान हाम्रो कार्यालयसम्म आएछन्, घर–गाउँ पुगेछन्,’ मेयर पोख्रेलले भने, ‘उनको जस्तै कमजोरीले कोरोनाको जोखिम सबैतिर फैलिने हो।’
सदरमुकामस्थित हेडक्वार्टरमा चाहिँ अहिले सबैको पिसिआर जाँच भइसकेको छ। र, बाँकी रहेका सबैको रिपोर्ट नेगेटिभ आएको एसपी थापाले जनाए। ‘अहिले गणमा सबैजनाको रिपोर्ट नेगेटिभ छ,’ उनले भने, ‘२ सातापछि पुनः एकपटक सबैको पिसिआर टेस्ट गर्नुपर्छ।’ पशुपतिनगर बिओपीका ३४ जनाको स्वाब नमुना परीक्षणका लागि पठाइएको इन्स्पेक्टर नवीन खतिवडाले बताए। ‘तर, अहिलेसम्म बिओपीमा कसैलाई पनि लक्षण देखिएको छैन,’ उनले भने, ‘हामी आफू–आफू सुरक्षित भएर बसेका छौं।’
बिओपीमा १/२ जनालाई संक्रमणले भेटिहाले पनि अरूलाई नसर्नेगरी सचेतता अपनाइएको छ। खाना बनाउनेदेखि ड्युटीमा खटिनेसम्मका काममा कोरोनाबाट बच्ने सुरक्षा प्रबन्ध मिलाइएको छ। भारतीय सीमाक्षेत्र जिर्मलेमा रहेको बिओपीका ९ सुरक्षाकर्मीको पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेको सशस्त्रले जनाएको छ।
प्रकाशित: २३ श्रावण २०७७ ०६:४१ शुक्रबार