१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुरक्षा गणमै फैलियो कोरोना

थप १७ सशस्त्र प्रहरीमा कोरोना पोजिटिभ

सदरमुकामस्थित सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका थप १७ जनामा कोरोना पोजिटिभ देखिएको छ । यसअघि डिएसपीसहित १० जना संक्रमित रहेको गणमा शनिबार आएको नतिजासँगै संक्रमितको संख्या २७ पुगेको हो ।  

स्वास्थ्य कार्यालयले सशस्त्र प्रहरीका ४० जनाको स्वाब नमुना परीक्षणका लागि प्रदेश प्रयोगशाला पठाएको थियो । ‘रिपोर्ट पोजिटिभ आएका सबैलाई आजै (शनिबार) मोरङको गोठगाउँस्थित आइसोलेसन लैजाने तयारी हुँदैछ,’ कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले भने, ‘फाकफोकथुम गाउँपालिकाका ११ र माइजोगमाई गाउँपालिकाका २३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।’

सशस्त्र प्रहरीका १० जनाको स्वाब नमुना परीक्षण गर्दा गत ९ गते डिएसपीसहित ५ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यही गणका १५ जनाको नमुना पठाउँदा शुक्रबार पनि ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।  

भारतीय सीमा क्षेत्र र विभिन्न क्वारेन्टिनहरूमा गस्तीमा खटिएका टोलीबाट गणमा कोरोना संक्रमण फैलिएको हुनसक्ने सशस्त्र प्रहरीका डिएसपी विश्व खड्काले बताए । ‘अहिले पनि गणमा थप ४० जनालाई बेग्लै राखिएको छ तर स्वाबको नमुना लिन बाँकी नै छ,’ उनले भने, ‘बेलैमा पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) जाँचका लागि कीट अभाव हुँदा सबैको परीक्षण गर्न नसकेकाले संक्रमितको दर बढेको हो ।’  

शुक्रबार रिपोर्ट पोजिटिभ आएका ३ जनामा कोरोनाको लक्षणसमेत देखिएको गणले जनाएको छ । गणमै आएर झापाको बिर्तामोड गएका सशस्त्र प्रहरी इन्स्पेक्टर र यहींबाट झापाको पाडाजुगीस्थित सशस्त्र प्रहरी तालिम केन्द्र गएका ३ जनामा बिहीबार कोरोना पुष्टि भएको थियो । योसँगै इलाममा संक्रमितको कुल संख्या ५७ पुगेको छ ।

प्रकाशित: १७ श्रावण २०७७ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App