३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोले जताततै सडक बन्द, सडकमै रोकिए यात्रु

पर्वत–बागलुङखण्डमा राजमार्गमा खसेको बढेमानको ढुंगा । तस्बिरः नागरिक

अविरल वर्षाका कारण गण्डकी प्रदेशभित्रका मुख्यसहितका राजमार्गमा ब्यापक क्षति पुगेको छ । प्रदेश भित्रिने मुख्य पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । कालोपत्रे गरिएको सडक समेत पहिरोले बगाएको छ । त्यसबाहेक विभिन्न जिल्लालाई स्थलमार्गले जोड्ने सडकमा पनि पहिरोले क्षति गरेको छ । मुख्य राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक कामले हिडडुल गरेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।  

कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउका कारण हवाईमार्ग रोकिएको बेला अत्यावश्यक कामले स्थलमार्ग प्रयोग गरेका यात्रु यतिबेला सडक अवरुद्ध हुँदा बढी समस्यामा परेका छन् । पोखराबाट चितवन हिडेका पर्यटन व्यावसायी सुमन घिमिरेले पहिरोका कारण बीचबाटोमै रोकिनु परेको बताए । ‘सोमबार पोखराबाट चितवनका लागि हिडेका थियौ । तर, मुग्लिन भन्दा अगाडि बढ्न सकिएन,’ घिमिरेले भने, ‘सौराह पुग्न नसकेपछि कुरिनटारमा बास बस्यौ । पहिरोले मुग्लिन–नारायणगढ अवरुद्ध हुँदा बीचमै रोकियौं ।’

भाईरस संक्रमणले गर्दा सार्वजनिक सवारी चलेका छैनन । तैपनि अत्यावश्यक काम परेका सर्वसाधारण विशेष अनुमति लिएर हिडडुल गर्न पाएपनि सडकमा पहिरो झर्दा गन्तव्यमा पुग्न पाएका छैनन । हवाईमार्ग सुचारु नहुनु र स्थलमार्गमा ठाउँठाउँमा पहिरो झर्दा सबैभन्दा बढी अप्ठेरो बिरामीलाई परेको छ । सडक खुलाउने प्रयास भईरहेपनि निरन्तर बर्षाका कारण असहज भएको स्थानीय प्रशासनले बताएको छ । पहिरोकै कारण कतिपय जिल्लासँगको सडक सञ्जाल बिस्थापित भएको छ । जिल्लाभित्रैकै आउजाउ पनि रोकिएको स्थानीय प्रशासनले बताएका छन् ।

गण्डकी प्रदेशलाई राजधानी जोड्ने एकमात्र पृथ्वी राजमार्गको तनहुँ खण्डमा मात्र चारठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाका दुई–दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए । उनका अनुसार आँबुखैरेनी गाउँपालिकाको ऐनापहरा र मार्कीचोकमा पहिरोले सडक अवरुद्ध बनेको छ । त्यस्तै बन्दीपुर गाउँपालिकाका–४ विमलनगरमा पनि पहिरो गएको छ भने बन्दीपुर गाउँपालिका–१ नहालामा पहिरो जादाँ राजमार्ग अवरुद्ध वनेको डिएसपी तिमिल्सिनाले बताए ।  

‘अन्य स्थानको पहिरो पन्छाउने काम भएपनि नहालामा सडक भासिएको कारण तत्कालै बनाउन असहज छ,’ उनले भने । उनका अनुसार नाहालामा १० मिटर कालोपत्रे सडक नै बगेको छ । त्यसठाउँमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भइरहेको तिमिल्सिनाले बताए । त्यस्तै डुम्रेबाट लम्जुङको बेसीसहर जाने सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर सडक खुलाउन समय लाग्ने उनले बताए । ‘भीषण पहिरोका कारण डुम्रे–बेसीसहर सडक मंगलबार खुलाउन सकिने अवस्था छैन,’ उनले भने । डुम्रे बेसिशहर अन्तर्गत तनहुँको भानु नगरपालिका–९ पुर्कोट रानीपानीमा कालोपत्रे सडक बगाएको उनले बताए ।  

तनहुँको आँबुखैरेनीबाट गोरखा जाने सडक पनि ठाउँठाउँमा अवरुद्ध छ । आँबुखैरेनी–गोरखा २४ किलोमिटर छ । ती मध्ये सडकका मझुवा, सातकिलो, एघारकिलोमा पहिरो खसेको छ । एघार किलोमा सडक नै भासिएकोले तत्काल बन्ने अवस्था नरहेको प्रहरीले बताएको छ । मझुवा र सातकिलोमा एकतर्फी सडक खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाका अनुसार पहिरो पन्छाउने तयारी भईरहेको छ ।

पहिरोले पोखरा–बागलुङ सडकमा पनि अवरोध गरेको छ । पर्वतका प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीका अनुसार पर्वतको नयाँपुलमा बढेमानको ढुंगो सडकमा खसेको छ । ढुंगो खसेपनि सडक एकतर्फी संचालन भएको डिएसपी अधिकारीले बताए । उनका अनुसार ढुंगो फुटाउने तयार भईरहेको छ । रातीको समयमा सडकमा ढुंगा खसेकोले क्षति हुन नपाएको उनले बताए ।

हिमालपारिको जिल्ला मुस्ताङसम्म जाने एकमात्र सडक पनि अवरुद्ध छ । मुस्ताङका ४८ घर परिवार बिस्थापित भएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालका अनुसार थासाङ गाउँपालिका–२ कोवाङका १० परिवार बिस्थापित भएका छन् । त्यस्तै थासाङ –४ घाँसामा पनि ३८ घर विस्थापित भएका छन् । बिस्थापित सबै ४८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । ‘स्थानीय स्कुल र समाजघरमा बिस्थापित घरका परिवारलाई राखिएको छ,’ अर्यालले भने, ‘पहिरोले घरै बगाउने अवस्था आयो र उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको हो ।’  

त्यस्तै बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा पहिरो झरेको छ । पहिरोले सडक अवरुद्ध हुँदा तत्काल सडक सुचारु हुने अवस्था नरहेको उनले बताए । प्रजिअ अधिकारीका अनुसार बेनी–जोमसोमको कोवाङ र बोक्सेखोलामा पहिरो झरेको छ । त्यस्तै छप्ल्याङखोला बढेर पनि आउजाउ अवरुद्ध छ । लेते र घाँसाको बीचमा पनि पहिरो झरेको छ । लेते र घाँसामा झरेको पहिरोले करिब तीनसय मिटर सडक लेदोले पुरिएको छ । सडकमा झरेको लेदोले हिडडुल पनि सहज छैन । सबैभन्दा बढी काभ्रेभीरमा क्षति भएको छ । 

अघिल्लो पटक पहिरो गएको काभ्रभीरमा दोहोर्‍याएर पहिरो झर्दा झनै अप्ठेरो भएको उनले बताए । अहिले काभ्रेभीरको खण्ड पैदल वारपार गर्न पनि सकिने अवस्था नरहेको उनले बताए । काभ्रेभीरमा पहरो फुटाएर नयाँ बाटो बनाउनुपर्ने अवस्था रहेकोले तत्काल सडक खुल्ने अवस्था नरहेको उनले बताए ।

प्रकाशित: ६ श्रावण २०७७ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App