३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सवारी दुर्घटना बढ्दै, मृत्यु संख्या घट्दै

गत आर्थिक वर्ष २०७६/७७ मा काठमाडौं उपत्यकामा सवारी दुर्घटना बढेको पाइएको छ। सो आवमा उपत्यकामा १० हजार ३८ सवारी दुर्घटना भएका छन्। तापनि, दुर्घटनामा ज्यान गुमाउनेकोे संख्या भने कम छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७५/७६ मा दुर्घटना संख्या आठ हजार ५ सय ११ थियो।  

उपत्यकामा सवारीसाधन दुर्घटना बढ्दै जानुको मुख्य कारण चालकको लापरबाही ठहरिएको महाशाखाले जनाएको छ। अघिल्ला वर्षको तुलनामा उपत्यकामा जनघनत्व र सवारीसाधनको संख्या वृद्धि भएकाले पनि दुर्घटना बढ्दै गएको महाशाखा प्रवक्ता वामदेव गौतम बताउँछन्।  

आव २०७५/७६ मा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ५४ रहेको छ भने गत आवमा उक्त संख्या एक सय ५३ मात्रै छ। महाशाखाको तथ्यांकअनुसार गत आवमा दुर्घटनामा संलग्न सवारीसाधनको संख्या १७ हजार ८ सय पाँच छ। जुन संख्या अघिल्ला वर्षको तुलनामा बढ्दो हो। सो अवधिमा २ सय ४० जना दुर्घटनामा परी गम्भीर घाइते र ६ हजार ६ सय ८२ जना सामान्य घाइते भएको महाशाखाको तथ्यांकमा उल्लेख छ।

लकडाउनको समयमा भने सवारी दुर्घटना घटेको महाशाखाले जनाएको छ। लकडाउनको तीन महिनामा एक हजार पाँच सय ६ वटा मात्र दुर्घटना भएका छन्। सो अवधिमा कम सवारीसाधन चलेकाले दुर्घटना पनि कम भएको प्रवक्ता गौतमको भनाइ छ।  

महाशाखाको तथ्यांकले उपत्यकामा दुर्घटना हुने सवारीसाधनमध्ये साना सवारीसाधनको संख्या उच्च देखाउँछ। त्यसमध्ये पनि दुई पांग्रे बढी छन्। गत आवको ११ महिनामा ६ हजार ६ सय ३२ वटा दुईपांग्रे सवारीसाधन दुर्घटनामा परेका छन्। दुर्घटनाको संख्या मात्र नभएर दुईपांग्रेबाट ज्यान गुमाउने संख्या पनि अन्य सवारीसाधनको भन्दा उच्च रहेको प्रवक्ता गौतमले बताए। उनका अनुसार उक्त ११ महिनाको अवधिमा दुईपांग्रे सवारीसाधनबाट ७६ जनाले ज्यान गुमाएका छन्।  

एक वर्षमा १ सय ५३ को मृत्यु

महाशाखाका अनुसार गत आवमा उपत्यकामा सवारी दुर्घटनाबाट १ सय ५३ जनाको मृत्यु भयो भने २ सय ४० गम्भीर घाइते भए। सो अवधिमा दुईपांग्रे सवारीसाधनबाट मात्रै ७६ जनाले ज्यान गुमाएका छन् भने ४७ पैदलयात्रुको ज्यान गएको छ। त्यस्तै, ट्रकबाट पाँच, साइकलबाट ५, बसबाट ६, कारबाट ३ र टिपरबाट ३ जनाको ज्यान गएको छ। आव २०७५÷७६ मा सवारी दुर्घटनाबाट २ सय ५४ जनाले ज्यान गुमाएका थिए भने तीन सय १७ जना गम्भीर घाइते भएका थिए।

दुईपांग्रेबाट ७६ को मृत्यु

सवारी दुर्घटनाबाट मृत्यु हुनेमा मोटरसाइकल, स्कुटरलगायत दुईपांग्रे सवारी चालकको संख्या उच्च रहेको तथ्यांकले देखाउँछ। आव २०७४/७५ मा १ सय १५ जनाको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ भने आव २०७५/७६ मा १ सय १५ र गत आवको ११ महिनामा उक्त संख्या ७६ रहेको छ।

दुर्घटनाबाट ज्यान गुमाउनेमा महिलाभन्दा पुरुष बढी रहेको महाशाखा प्रवक्ता गौतम बताउँछन्। उनका अनुसार गत आवको ११ महिनामा सवारी दुर्घटनाबाट ज्यान गुमाएका एक सय ४५ जनामध्ये एक सय १७ जना पुरुष छन् भने बाँकी २८ महिला छन्। ज्यान गुमाउनेमा ३६ वर्षभन्दा माथिका मानिस बढी छन्। सवारी चलाउनेमा महिलाभन्दा पुरुषको संख्या उच्च रहेकाले पुरुषको मृत्युदर महिलाको भन्दा बढी भएको गौतमको भनाइ छ।  

ट्रक–टिपरबाट ८ जनाको मृत्यु

लकडाउनका समय अर्थात् जेठ १३ गते दाङ रामपुर स्थायी घर भएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीले ज्यान गुमाए। जेठ १२ गते राति काठमाडौंबाट तीव्र गतिमा जाँदै गरेका दुई टिपरले मध्यपुर थिमी नगरपालिकास्थित चोकमा ड्युटीमा खटिएका घर्तीलाई एकैसाथ ठक्कर दिएपछि उपचारको क्रममा उनले ज्यान गुमाएका थिए।

चालकको लापरबाही, ओभरटेक र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ट्रक र टिपरले ठक्कर दिने र दुर्घटना हुने गरेको प्रवक्ता गौतमले बताए। गत आवको ११ महिनामा उपत्यकामा मात्र ट्रक र टिपरबाट ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए।

दुर्घटनाको कारण चालकको लापरबाही

महाशाखाका अनुसार गत आवमा चालकको लापरबाहीका कारण आठ हजार चार सय ७२ दुर्घटना भएका छन्। जुन अघिल्ला वर्षको तुलनामा बढ्दो हो। आव २०७४÷७५ मा उक्त संख्या ५ हजार ९ सय ६१ थियो भने  २०७५÷७६ मा सो संख्या बढेर सात हजार पाँच सय २९ पुगेको छ।

‘अघिल्ला वर्षको तुलनामा चालकको लापरबाहीका कारण पनि दुर्घटना बढ्दै गएको छ,’ प्रवक्ता गौतमले भने, ‘तीव्र गतिमा सवारीसाधन कुदाउने, जथाभावी ओभरटेक गर्ने, मापसे सेवन गरेर गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको हो।’

त्यसबाहेक तीव्र गतिका कारण ४ सय २२ दुर्घटना, मापसेका कारण ४ सय ३५, ओभरटेकका कारण ५८, पैदलयात्रुको लापरबाहीबाट चार, यान्त्रिक गडबडीका कारण ४९, सडकको अवस्थाबाट १६ र अन्य कारणबाट ५ दुर्घटना भएको महाशाखाको तथ्यांकले देखाउँछ। यान्त्रिक गडबडीका कारण ४९, सडकको अवस्थाले १६ र अन्य कारणबाट पाँच दुर्घटना भएको महाशाखाको तथ्यांकले देखाउँछ।

सवारी दुर्घटनामा संलग्न चालकको उमेर हेर्दा २० वर्षभन्दा मुनिका चालकको संख्या बढ्दो छ। आव २०७५/७६ मा २० वर्षमुनिका तीन हजार दुई सय १५ चालक संलग्न छन् भने आव २०७६/७७ मा उक्त संख्या बढेर चार हजार नौ सय ९१ पुगेको छ। अपरिपक्व अवस्थामा सवारीसाधन चलाउने, आवश्यकता भन्दा बढी हाँक्ने, ट्राफिक नियमको ज्ञान नहुने र उनीहरू सिकारु अवस्थाका हुने भएकाले दुर्घटनाको सम्भावना उच्च रहने प्रवक्ता गौतम बताउँछन्।  

त्यस्तै, महाशाखाका अनुसार दुर्घटनामा २१ देखि ४० वर्ष उमेर समूहका चालकको संलग्नता सबैभन्दा धेरै छ। आव २०७५/७६ मा उक्त उमेरसमूहका ८ हजार ६ सय ५० चालक संलग्न थिए भने गत आवमा ८ हजार तीन सय ३१ चालकको संलग्नता रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: ६ श्रावण २०७७ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App