१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

उपत्यका र तराई अझै जोखिममा

नेपालमा कोरोना संक्रमित हुनेको संख्या पछिल्ला केही दिनमा निकै घटेको छ । तर, भारतसँग सीमाना जोडिएका तराई/मधेस, काठमाडौं उपत्यकासहितका सहरी क्षेत्रमा भने संक्रमणको जोखिम हटेको छैन । तथ्यांकमा संक्रमितको संख्या घटे पनि जोखिम भने उत्तिकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले जोखिम कायमै रहेकाले सचेत रहन सबैलाई आग्रह गरे । हालसम्म धेरैजसो परीक्षण क्वारेन्टिनमा रहेकाहरूको भएको र उनीहरूको परीक्षण सकिँदै गएपछि संक्रमण पनि कम देखिएको मन्त्रालयले दाबी गरेको छ ।  

पछिल्लो चरणमा काठमाडौं उपत्यकाका संक्रमितमध्ये कतिपयको ट्राभल हिस्ट्री नभएका (भ्रमणमा नगएका) भेटिनु तथा पछिल्लो एक सातामा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा संक्रमण देखिनले पनि जोखिम कायमै रहेको प्रवक्ता गौतमले बताए । काठमाडौंको बूढानीलकण्ठदेखि भैंसेपाटीसम्म विभिन्न क्षेत्रमा संक्रमण देखिएकाले काठमाडौं उच्च जोखिममा रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए । कोरोना संंक्रमण प्रभावित देशमा समेत घनाबस्ती भएका ठूला सहरमा छिटो संक्रमण फैलिएको पाइएकोले पनि काठमाडौं तथा अन्य ठूला सहर उच्च जोखिममा रहेको प्रवक्ता गौतमकोे भनाइ छ । ‘भारतमा महाराष्ट्र, दिल्ली र गुजरातमा संक्रमण बढेको थियो । ती सबै घनाबस्ती भएका सहर हुन्,’ उनले भने ।  

कोरोना संक्रमण प्रभावित देशमा समेत घनावस्ती भएका ठुला शहरमा छिटो संक्रमण फैलिएको पाइएकोले पनि काठमाडौँ तथा अन्य ठूला शहर उच्च जोखिममा रहेको प्रवत्ता गौतमको भनाइ छ।  

त्यसैगरी भारतीय सीमाबाट साना गाडीको प्रयोग गरी आवात–जावात कायमै रहेकोले सीमासँग जोडिएका जिल्लामा उच्च जोखिम कायमै रहेको उनको भनाइ छ । ‘गाउँमा त क्वारेन्टिनमा बसेर निको भएर गएका स्वस्थ भइसके, सहरमा जोखिम धेरै छ,’ उनले भने । उनीहरूमा पुन संक्रमण हुन नदिन र समुदायमा कोराना संक्रमण हुन नदिनको लागि अबका दिन हरेक नागरिकले कोभिड–१९ रोकथामको लागि आवश्यक नियम पालना गरेमा यो सम्भव भएको मन्त्रालयले जनाएको छ । ‘आजसम्म ठूलो संख्यामा फैलिन नपाउनुको कारण हरेक नागरिकले अपनाएका उपायहरू पनि हो, सबैलाई धन्यवाद,’ डा. गौतमले भने ।

काठमाडौं उपत्यकाका बिरामी नियमित परीक्षण गरिरहने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले अस्पतालजन्य संक्रमण उत्तिकै जोखिम रहेको आंैल्याउँछन् । अहिले स्वास्थ्यकर्मीमा भएको संक्रमणको स्थिति हेर्दा अस्पताल उच्च जोखिममा देखिएको उनले बताए । अस्पतालले संक्रमण रोग मापदण्ड पालना गरेमा जोखिम घट्ने उनको भनाइ छ । तर अस्पतालहरूले यो मापदण्ड पूर्ण पालना नगरेका कारण स्वास्थ्यकर्मीमा भएको संक्रमणबाट पुष्टि भएको उनले बताए । ‘अस्पतालहरूले राम्रासँग मापदण्ड पालना गरेमा जोखिम कम हुन्छ,’ उनले भने ।  

अबका दिनमा पनि हरेक व्यक्तिले घर बाहिर निस्कदा भरपर्दो मास्कको प्रयोग गर्ने, बेला–बेलामा साबुन पानीले मिचि–मिची हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, घर बाहिर निस्कदा भौतिक दूरी कायम राख्ने र भीडभाडमा नजाने, जमघटमा नजाने जस्ता नियम पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

थप १०८ मा संक्रमण  

बिहीबार थप १ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । चौबिस घण्टामा देशभरिमा ५२ सय २१ वटा नमुना परीक्षण भएकामध्ये १ सय ८ जनामा मात्र पुष्टि भएको हो । बिहीबार सुर्खेतमा १८ जना, बझाङमा १६ जना र काडमाडौंमा ५ जना संक्रमित पुष्टि भएका छन् । नयाँ संक्रमित सहित नेपालमा कुल संक्रमतिको संख्या १६ हजार ५ सय ३१ जना पुगेका छन् । तीमध्येमा ७ हजार ८ सय ९१ जना निको भइसकेका छन् । कुल संक्रमित मध्येमा ३५ जनाको मृत्यु भएको छ । 

प्रकाशित: २६ असार २०७७ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App