१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

अध्यक्षको होटलमा क्वारेन्टिन

सौराहाका व्यवसायीले होटललाई क्वारेन्टिनका रुपमा सञ्चालनमा ल्याएका छन्। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईको होटलमा अहिले विदेशबाट आएका पूर्वी चितवनको जयमङ्गलाका दुई जनालाई क्वारेन्टिनमा राखिएको छ। काठमाडौँ, पोखरापछि तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको यस क्षेत्रमा कोरोना सङ्क्रमणअघि पर्यटकले भरिभराउ हुने गरेको थियो। तर कोरोनाका कारण सङ्कटको वर्तमान अवस्थामा सरकारलाई सहयोग गर्दै यहाँका होटलहरु क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याइएको हो।  

क्षेत्रीय होटल सङ्घले यसअघि सौराहाका होटलहरु क्वारेन्टिनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेको थियो। सोही घोषणाको प्रतिबद्धता पूरा गर्न र सरकारलाई सहयोग गर्न क्वारेन्टिनका लागि होटल प्रयोगमा ल्याइएको अध्यक्ष भट्टराईले जानकारी दिए। उनले आफ्नै होटलमा भारतको दिल्लीबाट आएका दुई जनालाई राखेर क्वारेन्टिनको सुरुआत गरेको बताए। भट्टराईका अनुसार निजी गाडीमा उनीहरु दिल्लीबाट आएका हुन्। जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनमा शुल्क तिरेर बस्न चाहनेहरुका लागि होटलको व्यवस्था मिलाइएको हो। सौराहाका २६ वटा होटललाई क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याइनेछ। सङ्घले सरकारलाई यहाँका होटलहरुको विवरण पठाएको थियो।

सरकारले तोकेको शुल्कअनुसार व्यवसायीहरुले शुल्क लिन पाउनेछन्। सङ्घका अध्यक्ष भट्टराईका अनुसार सौराहामा रहेका होटलहरुको स्तरअनुसार दुई हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म दैनिक खर्च लाग्नेछ। सो रकम बराबरमा चियाकफी, नास्ता, बिहान–बेलुका खानाको व्यवस्था हुने उनले बताए। दिनमा एक छाक मासुसहित खाना र एक छाक सादा खाना हुनेछ। चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटकहरु सौराहा आउने गर्दछन्। लकडाउनसँगै सौराहाका सबै होटल व्यवसाय ठप्प छन्।

प्रकाशित: १७ असार २०७७ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App