८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोनाबाट मृतकको शव व्यवस्थापनमा सकस, स्थानीयको निरन्तर अवरोध

पोखरामा विहीबार शव व्यवस्थापनमा स्थानीयले गरेको अवरोध। तस्बिर सौजन्यः सन्दिप पौडेल

कोरोना भाइरस संक्रमणले स्याङजाका एकजना पुरुषको बुधबार राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भयो।  उपचारका क्रममा तीनदिनदेखि भेन्टिलेटरमा राखिएका उनमा निमोनिया र डायबिटिज समेत थियो।  आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षिय ती पुरुषको मृत्य भएपछि शव व्यवस्थापनमा भने निकै नै सकस आइपर्‍यो।  

पोखरामा मृत्यु भएकोले स्याङजा लैजाँदा जोखिम हुने भनेर पोखरामै उनको शव व्यवस्थापन गर्न खोज्दा स्थानीयको अवरोध भयो।  व्यवस्थापका लागि तोकिएको ठाउँसम्म शव लैजान खोज्दा स्थानीयले अवरोध गरेका थिए।  यतिसम्मकी शव व्यवस्थापन गर्न नदिने स्थानीयको अडानकाबिच बल प्रयोग गरेर पोखरा महानगरपालिका–३२ को मजुवामा सेतीनदि किनार नजिकैको चिहानघारीमा व्यवस्थापन गरिएको प्रहरीले बताएको छ।  

कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले स्थानीयको अवरोध भएपनि बल प्रयोग गरेर शव व्यवस्थापन गरेको बताए।  उनका अनुसार स्थानीयसँगको झडपमा प्रहरीले ८ राउण्ड हवाईफायर गर्नुपरेको थियो भने २ महिला र ६ जना पुरुष गरि ८ जना पक्राउ परेका छन्।  शव व्यवस्थापन गर्दा सशस्त्र र नेपाल प्रहरीले ३५ जनाको दरले ७० जना सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो।  अगाडि र पछाडि सुरक्षाकर्मीको स्कर्टिङ गरे शव घाटमा पु¥याइएको थियो।  शव व्यवस्थापनमा सेना, सशस्त्र र नेपाल प्रहरी खटिने गरेका छन्।  

‘निकै कडा सुरक्षामा मृतकको शव गाड्ने तयारीमा सुरक्षा निकाय थियो।  तर, स्थानीयको अवरोधले केही समय लाग्यो।  स्थानीयको अवरोध हटाउन प्रहरीले आठराउन्ड हवाई फायर नै गर्नुप¥यो,’ उनले भने, ‘शव लैजाने बाटोमै स्थानीयले टायर बालेर अवरोध गरेका थिए।  प्रहरी माथि नै स्थानीयले आक्रमण गरेपछि बल प्रयोग गर्न बाध्य भयौं। ’ शव व्यवस्थापनका लागि डोजरले खाल्डो खनेको थाहा पाएपछि स्थानीयहरु अवरोधमा उत्रेका थिए।  प्रहरीले चेकिङका लागि टाँगेको टेन्टमा समेत स्थानीयले क्षति पु¥याएका छन्।  आफुहरुको क्षेत्रमा शव व्यवस्थापन गर्न थालेको  भन्दै संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीय विरोधमा उत्रेका थिए।  

यसअघि जेठ २५ गते पनि पोखरामा कोरोनाले मृत्यु भएका पहिलो व्यक्तिको शव व्यवस्थापनमा उस्तै अवरोध आएको थियो।  कहाँ र कसरी शव व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय गर्न नसक्दा ती व्यक्तिको शव १८ घण्टासम्म अस्पतालमै अड्केको थियो।  महानगरले व्यवस्थापन गर्ने ठाउँ खोजी गरेको पोखरा–११ रिट्ठेपानीसम्म शव लैजाँदा त्यही वडाका फूलबारी र पोखरा–२० भलामका व्यक्तिले अवरोध गरेका थिए।  स्थानीयतहका पदाधिकारी समेत शव व्यवस्थापन गर्दा अवरोध गर्न पुगेको भन्दै ब्यापक आलोचना समेत भएको थियो।  

कोरोनाका कारण शव व्यवस्थापनमा चुनौती खेप्नुपरेको महानगरका मेयर मानबहादुर जिसी बताउँछन्।  ‘जतिखेर पनि पोखरामा अवरोध मात्र हुने गरेको छ।  यो राम्रो हुँदै भएन,’ मेयर जिसीले भने, ‘बस्ती भन्दा निकै नै टाढा अनकन्टार ठाउँमा लगेर गाड्न खोज्दा पनि अवरोध अवरोध आउने गरेको छ।  कसैलाई अप्ठेरो नहुँदा पनि अवरोध गर्नको कारण छैन। ’ विहीबार शव व्यवस्थापन गरिएको ठाउँ सेतीनदि नजिकैको चिहानघारी हो।  अन्यत्र भन्दा त्यहा लगेर सुरक्षित हुने भनेर लैजाँदा पनि अवरोध भएको उनले बताए।  ‘वर्षायाम भएको र सेतीको किनारमा गाड्दा बाढीले निकालेर बगाउने जोखिम हुन्छ भनेर हामीले चियानघारीमा व्यवस्थापन गर्र्न चाहेका हौ,’ मेयर जिसीले भने, ‘तरपनि लैजान नपाउने भन्दै अवरोध आयो।  सुरक्षाको ग्यारेन्टी लिन्छौ भन्दा पनि अवरोध भयो। ’ मरिसकेका व्यक्तिलाई जमिनमा गाड्दा संक्रमण फैलिन्छ भन्ने गलत बुझाई नागरिकमा रहँदा त्यसको अप्ठेरो आफुहरुलाई परेको उनले बताए।  

‘अब त अराजक अवस्था नै आईपर्योल।  बस्तीभन्दा दुईकिलोमिटर टाढा व्यवस्थापन गर्दा पनि सुखै नपाउने अवस्था छ,’ उनले भने, ‘कतै पनि नदिने हो भने कोरोनाका संक्रमितको शव व्यवस्थापन गर्न ठाउँ नै हुँदैन। ’ पोखरा क्षेत्रमा मात्र यसरी अवरोध आउने गरेको उनले बताए।  ‘कोरोना संक्रमितको शव व्यवस्थापनका लागि जग्गा खोज्ने जिम्मा महानगरको हो,’ उनले भने, ‘तर सबैतिर अवरोध आउँछ भने चुनौती थपिनेछ। ’  

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले महानगरले उपलब्ध गराएको जग्गामा शव व्यवस्थापन गर्ने गरेको बताए।  शव व्यवस्थापनमा बारम्बार अवरोध आउन थालेपछि यसबारेमा गम्भिर छलफलमा जुटेको उनले बताए।  ‘अनावश्यक चुनौती थपिएको छ।  शव व्यवस्थापनमा अवरोध हुनु पटक्कै राम्रो होईन,’ ढकालले भने, ‘यो राम्रो होईन।  अनावश्यक रुपमा प्रशासनमाथि चुनौती थप्ने काम भएको छ।  यसलाई हामीले गर्न दिँदैनौ। ’

स्वास्थ्यकर्मी भने कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिलाई खाडलमा गाड्दा संक्रमण फैलने त्रास नहुने बताउँछन्।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति समेत रहेका वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापाले भने, ‘मरेका मान्छेबाट कोरोना सर्ने होइन।  संक्रमणका लागि नाक, घाँटी र फोक्सोबाट एक किसिमको किटाणु बाहिर आउनुपर्छ।  मरेका व्यक्तिबाट ती किटाणु बाहिर आउने सम्भावना कम हुन्छ। ’ कोरोनाले संक्रमण भएर मृत्यु भएका व्यक्तिको शव डिस्पोजल टोलीले विशेष ब्यागमा राखेर सुरक्षित तवरले व्यवस्थापन गर्ने भएकोले संक्रमण फैलने भनेर त्रसित हुनु नपर्ने उनले बताए।  

‘कोरोना लागेको मान्छेको मृत्यु भएपछि डिस्पोजल टोलीले ब्यागमा राख्दा ¥याल निस्कने भएकोले पीपीइ लगाएर पूर्ण सुरक्षाका साथ प्यकिङ गरिन्छ,’ थापाले भने, ‘पूर्ण सुरक्षाको विधि अपाउने भएकोले संक्रमण हुने डर हुँदैन।  गाडिसकेपछि त झनै समस्या हुँदैन। ’ खुला ठाउँमा शव जलाउँदा भने अलि बढी सतर्क हुनुपर्ने उनले बताए।  जलाउँदाको अवस्थामा खुला हुने डरले अलि बढि सजग हुनुपर्ने भएपनि गाडेपछि समस्या नहुने उनले बताए।  ‘गाडिसकेका व्यक्तिबाट संक्रमण हुन्छ भनेर डराउनु हुँदैन,’ उनले भने।  संक्रमण फैलने डरले मरेका व्यक्तिको शव व्यवस्थापनमा अवरोध गर्दा समस्या आउन थालेको उनले बताए।  ‘अघिल्लो पटक तीनठाउँमा सारेर बल्ल शव व्यवस्थापन भयो।  यो हिसाबले त सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई काम गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘फ्रन्टलाइनमा काम गर्नेलाई सर्वसाधारणले अवरोध गर्नु भएन। ’  

 

 

प्रकाशित: ११ असार २०७७ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App