२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कृषि महिला सहकारीलाई निःशुल्क जग्गा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक दम्पत्तीले कृषि महिला सहकारी संस्थालाई जग्गा प्रदान गरेका छन् । हलेसी कृषि महिला सहकारी संस्थाको भवन निर्माणका लागि स्थानीय जगत बहादुर बस्नेत र बिन्दामायाँ बस्नेतले ५ आना निःशुल्क जग्गा प्रदान गरेका हुन् । बस्नेत दम्पत्तीले महादेवस्थानका वडाध्यक्ष चईन्द्र राई लगायतको उपस्थितिमा मालपोत कार्यालयमार्फत २५ लाख मूल्य बराबरको जग्गा पास गरिदिनेगरी कागजात गरिदिएका हुन् । दम्पत्ति बस्नेतले आफ्ना पितृको सम्झनामा सहकारीलाई जग्गादान गरेको छोरा दिपेन्द्र बस्नेतले बताए ।  

महादेवस्थानका १६५ महिला आवद्ध सहकारीले हालसम्म ९ लाख बचत गरिसकेको तथा ६ लाख लगानी गरिसकेको जनाएको छ । जग्गा प्राप्त भएसँगै कृषि महिला सहकारी संस्थाको भवन चालु आर्थिक वर्षबाटै सुरु हुने नगरपालिकाकी उपमेयर बिमला राईले बताईन् । ११ वडा रहेको नगरपालिकामा ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियान अन्तरगत महादेवस्थानमा कृषि महिला सहकारी स्थापना गरिएको हो ।

तरकारी खेती, फूल खेती, सिन्के धुप उत्पादन, व्यापार व्यवसाय लगायतका उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने र उद्यम सम्वन्धी कामबाट आएको आम्दानीलाई बचत गर्दै महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ बाट वडा–वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाएको हो ।

हालसम्म हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा पनि महिला कृषि सहकारी दर्ता भइसकेको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे, हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले लगायतका वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइसकिएको छ ।  

आवश्यक परे सहकारी स्थापनाका लागि नगरपालिकाका तर्फबाट बीउ पुँजी पनि उपलव्ध गराइने उपमेयर राईले बताईन् । ‘महिलालाई संगठिन गर्दै व्यापार व्यवसायमा संलग्न गराउने र त्यसबाट आउने आम्दानीलाई बचत गर्दै उत्पादनमुलक ठाउँमा खर्च गर्ने वानीको बिकास गर्ने हाम्रो लक्ष्य हो,’ उपमेयर राईले भनिन्, ‘यसबाट नगरपालिकाका महिला आर्थिकरुपमा आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ ।’ 

प्रकाशित: ३ असार २०७७ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App