२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

‘सरकारले अवसर दिन सक्छ कि सक्दैन ?’

प्यूठान नगरपालिका– ५ जुम्रिकाढाका २३ वर्षीय जिते राना १३ महिना संयुक्त अरब इमिरेट्स बसेर २४ दिनको छुट्टीमा घर फर्किएका थिए । बन्दाबन्दीका कारण उनी विदेश जान पाएनन् । कोभिड–१९ को महामारीमा उनको मन बदलिएको छ । उनी  स्थानीय सरकारले केही अनुदान दिए घरमै बसेर व्यवसाय गर्ने सोचमा छन् । उनले  कृषिसँगै कुखुरापालन, बाख्रापालन गर्ने योजना बनाएका छन् ।   

जिल्लाको माण्डवी गाउँपालिका–५ रम्दीकी ३४ वर्षीया शारदा शाही पनि रोजगारीका लागि विगत सात वर्षदेखि दुबई आउजाउ गर्थिन् । श्रीमानले अर्को बिहे गरेपछि उनी माइती गाउँ बरौलामा बस्छिन् । पुनः भिसा लगाएर विदेश जाने तयारीमा रहेकी शाही बन्दाबन्दीका कारणले जान नपाएको बताउँछिन् ।       

तीन छोरासहित १२ वर्षदेखि छुट्टै बस्दै आएकी शाहीले चार जनाको परिवार पाल्नकै लागि बिदेसिनुपरेको गुनासो गरिन् । बन्दाबन्दीभन्दा पहिले नै विदेशबाट फर्किएकी शाहीको फेरि रोजगारीका लागि विदेश जाने सोचाइ परिवर्तन भएको छ । उनी  स्थानीय सरकारले रोजगारीका केही अवसर सिर्जना गरे गाउँमै केही गर्ने बताउँछिन् ।       

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किएकालाई रोजगारी सिर्जना गर्न स्थानीय सरकारलाई अहिले चुनौती देखिएको छ । विदेशबाट रोजगारी छाडेर फर्किएकाहरु तत्काल रोजगारीमा फर्कने अवस्था भने देखिँदैन । अहिले गाउँघरमा विदेशको रोजगारी गुमाएकाहरु स्थानीयस्तरमै रोजगारीको अवसरको पर्खाइमा छन् ।           

प्यूठान नगरपालिका–५ जुम्रिकाढाका जितबहादुर पुन २२ वर्षदेखि भारतको पन्जाब आउजाउ गर्थे । बन्दाबन्दीले गर्दा विदेशको रोजगार गुमेपछि जितबहादुर  बेरोजगार भएका छन् । बन्दाबन्दीका कारण फेरि कामका लागि भारत फर्कन सक्ने अवस्था नहुँदा उनी गाउँमै केही काम गर्ने योजना बनाउँदै छन् ।

‘लेखाइपढाइ त केही छैन,’ जितबहादुरले भने, ‘दैनिक रोजगारी पाएमा गाउँमै बसेर काम गर्ने मन छ । सरकारले कुनै अवसर दिन सक्छ कि सक्दैन ?’           

प्यूठानका स्थानीय तह आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट निर्माणमा लागेका छन् । जिल्लाका अधिकांश स्थानीय तहहरुले आगामी आर्थिक वर्षका कार्यक्रम तथा बजेटमा कृषिमा निर्भर रोजगारीलाई प्राथमिकतामा राखेका गरेका बताएका छन् । कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि बजेट निर्माण गर्ने भएका छन् । जिल्लाको स्वर्गद्वारी नगरपालिका, प्यूठान नगरपालिका, ऐरावती, नौवहिनी, सरुमारानी, गौमुखी र माण्डवी गाउँपालिकाले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नका लागि कृषि र कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने भएका हुन् ।           

कोभिड–१९ का कारण समयमा सरकारले गरेको बन्दाबन्दीले गर्दा भारत तथा तेस्रो मुलुकबाट रोजगारी गुमाएर स्वदेश फर्कने क्रम जारी छ । उनीहरु तत्कालै आफ्नो रोजगारीमा फर्कने अवस्था पनि देखिँदैन । त्यसैले स्वदेश फर्किएर गाउँघरमा बेरोजगार बनेका आफ्ना नागरिकलाई रोजगारी सिर्जना गर्न स्थानीय पालिकाहरुले कृषिमा निर्भर रोजगारीलाई प्राथमिकतामा राखिएको बताएका छन् ।           

जिल्लाको स्वर्गद्वारी नगरपालिकाले आगामी आर्थिक वर्षको कार्यक्रम र बजेट कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर निर्माण गर्ने तयारीमा रहेको नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्री बताउँछन् । सीप र दक्षताअनुसार स्थानीय नागरिकहरुलाई कृषि क्षेत्रमा परिचालन गरिने उनको भनाइ छ । प्रमुख रोकाले नगरपालिकामा अहिलेसम्म एक हजार जना व्यक्ति वैदेशिक रोजगारी गुमाएर भारत तथा अन्य मुलुकबाट आइसकेको र अझै एक हजार पाँच सयभन्दा बढी व्यक्ति फर्कने क्रममा रहेका नगरक्षेत्रमा आउने तथ्याङ्क रहेको जानकारी दिए । 

उनीहरुलाई सम्बोधन हुनेगरी नगरपालिकाले आधुनिक कृषि खेतीका लागि सहयोग कार्यक्रम ल्याउने नगरप्रमुख रोकाको भनाइ छ । मकै र गहुँ मात्रै उत्पादन हुने यस क्षेत्रमा आगामी दिनमा व्यावसायिक रुपमा अन्य बाली र तरकारीखेती उत्पादनका लागि अनुदानका कार्यक्रम ल्याइने उनले बताए ।

उनले भने, ‘नगरका विभिन्न वडामा रहेको बाँझो जमिनलाई अब उत्पादनमुखी बनाउने योजनामा छौं । यसका लागि कृषिमा आधुनिकीकरण, कृषि औजार अनुदानमा दिइने कार्यक्रम बनाउँछौं ।’       

प्यूठान नगरपालिकाका वैदेशिक रोजगारीमा गएका करिब चार हजार पाँच सय नागरिकमध्ये अहिलेसम्म एक हजार पाँच सय जना व्यक्ति फर्किसकेका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले जनाए । आगामी आर्थिक वर्षका लागि पालिकामा कार्यक्रम तथा बजेट निर्माणको काम भइरहेको समेत नगर प्रमुख कक्षपतिले बताए । उनले आगामी बजेट निर्माण गर्दा कृषि, रोजगारी, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउँछन् । भारतबाट नगरक्षेत्रमा आएका व्यक्तिहरुलाई नगरक्षेत्रमै टिकाउन स्वरोजगारमूलक कार्यक्रमहरु ल्याउने योजनामा रहेको उनले बताए ।         

त्यस्तै, नगरले विकास निर्माणका काममा नागरिकलाई सहभागी बनाउने योजनासमेत बनाएको छ । यसभन्दा पहिलेका वर्षहरुमा जस्तै श्रममूलक कामलाई जोडदिने योजनामा रहेको नगरप्रमुख कक्षपति बताउँछन् । जिल्लाको ऐरावती गाउँपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्ने तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष नबिलविक्रम शाह बताउँछन् । भारतबाट आएका युवाहरुलाई स्थानीय स्तरमै रोजगारी सिर्जनागरी टिकाइराख्न क्षेत्रलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।  

‘साना लघुउद्यममार्फत रोजगार सिर्जना गर्नेतर्फ पनि पालिकाले बजेट विनियोजन गर्नेछ,’ अध्यक्ष शाहले भने, ‘यसले पनि युवाहरु समेटिने छन् ।’     

प्रकाशित: २ असार २०७७ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App