१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मानवता बिर्साउने सोती घटना : अन्तरजातीय प्रेमले खोसेको सपना

मृतकका परिवार भन्छन, ‘सन्तानका सपना भेरीसँगै बग्यो, न्याय नबगोस्’

क्याप्शन

जाजरकोट सदरमुकाम खलंगा बजारबाट हेर्दा रुकुम (पश्चिम ) को चौरजहारी फाँट मुस्काइरहेछ । नागबेली बन्दै जाजरकोट र रुकुमको सिमा छुटएर बगेको छ, भेरी नदी । यहि दृश्य हेर्दै खलंगाबाट करिव १० मिनेट पैदल उकालो चढेपछि पुगिन्छ नवराज विकको घर । प्रकृति मुस्कुराई रहेपनि घर भने शोकमा छ ।  

भेरीमा पानी जसरी बगेको छ, त्यसैगरि बगिरहेछ, नवराजका आफन्तका आँशूहरु । बेलाबेलामा आमा उर्मिला नवराजको कोठामा पस्छिन् अनी भित्तामा झुन्डिएको त्यहि नवराजको तस्विर हेर्छिन । खेलकुदका मेडल अनि नेपाल प्रहरीमा भर्तीका लागि किनेका किताबले नवराजका सपना ब्यूझाईदिन्छ । तर, जेठ १० गते रुकुम पश्चिम चौरजहारी सोतीगाउँमा प्रेमिका लिन गएका नवराज र उनका अन्य ५ जना साथीहरुको सपना भने भेरीमा विलिन भएको तीन साता पुग्यो ।  

जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराजसहित गणेश बुढा मगर, सञ्जु विक, भेरी नगरपालिका वडा न. ११ मटेलाका लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका वडा न. १ रुकुम पश्चिमका टिकाराम नेपालीको सोती गाउँलेहरुले लेखेटेर कुटपिट पश्चात हत्या गरि भेरीमा बगाइदिएको प्रहरीमा उजुरी परेको छ ।  

आफ्ना छोराको खुशीमा साथ दिएका ६ जवानहरुको एकै चिहान कसरी भयो ? यहि प्रश्नको उत्तर खोजिरहेका छन् मृतका आफन्तहरु । ‘म पनि भूपू आर्मी हो । छोराको शव हेर्न सकिन । मन थामिएन । खुट्टा भाँचिएको थियो । टाउकोमा चोट थियो, कञ्चटमा प्वाल परेको थियो’ रानागाउकै मृतक सञ्जु विकका वुवा बलरामले भने –‘हत्या भएको छ, हामीलाई न्याय चाहियो ।’ 

१९ वर्षका जेठो छोरा नै गुमाए पछि यो परिवारमा बैचैन छ । ‘ऊ नेपाल आर्मीमा भर्ती हुने तयारीमा थियो, ४ वर्षको सानो छोरा छ, बाबा खोई भन्दै रुन्छ’ आमा सविता विक भन्छिन्, ‘२० वर्षकी बुहारीको सिउँदो पुछियो, हाम्रो माया छुट्यो ।’ नवराजको प्रेमिका लिन भन्दै छिमेकी जिल्ला गएका श्रीमानलाई सदाका गुमाएकी सविना पनि न्यायको भिख मागिरहेकी छन । ‘मेरो जीन्दगीको कुरापछि सोँचौला । तर मेरो श्रीमानको हत्या गर्ने सबैलाई जन्म कैद होस्’, उनले भनिन् ।  

उज्यालो हुनासाथ रानागाउँबाट रुकुमको समथर चौरजहारी फाँट देखिन्छ । त्यता नजर पर्नसाथ छोरा गणेश बुढाको झल्को आँखा भरि आसु पार्छिन आमा राधिका । जाजरकोटको कुसे गाउँपालिकामा स्थायी घर हो गणेशको । तर सदरमुकाम खलंगा नजिकै रानागाउँको एक घरमा सपरिवार भाडामा बस्दै आएका छन ।  यो परिवारको एउटा साहरा गुमेको छ ।  

‘हाम्रो देशमा मृत्यु दण्ड त छैन । मेरो छोराको आत्माले शान्ति पाउनका लागि मृत्युण्ड नै दिनुपर्छ । त्यो कानुन नभएकाले त्यो त माग्न मिलेन तर हत्यामा संलग्नलाई कानुन अनुसारको कडा कारवाही होस्’ उनको गुहार छ । १७ वर्षका गोविन्द शाहीको घर जाजरकोट र रुकुम चौरजहारीको सिमा भेरी किनारमै छ । जेठ २० गते क्षतविक्षत अवस्थामा उनको शव भेटिएको थियो । जाजरकोट खलंगा र डोल्पा जाने सडक किनारमै उनको घर छ । सामान्य होटल सञ्चालन गर्दै त्यहि छोरा गोविन्दको भरमा थिईन आमा भिमि कुमारी बुढाथोकी शाही ।

‘हामीले १० गते नै थाहा पाएका थियौं । तर प्रहरीले घटनालाई चासो लिएन’ उनले भनिन, ‘ मेरो छोराले विना कारण ज्यान गुमाउनुप¥यो ।’ गोविन्दका लागि भेरी तर्न कुनै समस्या थिएन । आफै नदीमा हाम फालेर मरेको  भ्रम फैलाइएको प्रति आक्रोशित हुँदै भिमिले भनिन  –‘घाँटी रेटिएको छ, अनुहारमा रगत बगेको थियो । पौडी खेल्न नसकेर मरेको भए पेट फुल्थ्यो होला । हामीलाई यो विचमा धेरैले रुवाएँ ।’ उनले आफ्नो छोराको लखेटेर हत्या भएकाले सिंगो सोती गाउँलाई नै सजाय हुनुपर्ने बताउछिन ।  

नौ जवान यूवाहरुको सपनासँगै परिवारको आशा बगेको छ । रुकुम (पश्चिम) चौरजहारी नपा १ का टिकाराम नेपालीको परिवार निर्मम रुपमा कुटेर हत्या हुँदा पनि न्यायका लागि आन्दोलनमा उत्रनुपरेकोमा दुखी छन् । ‘आँखा फुटेको थियो । टाउकोको भाग दविएको थियो । गिद्दी निस्केको थियो । यस्तो निर्मम र क्रुर हत्या भएको छ’ मृतक टिकारामका वुवा वुवा चोमै नेपालीले भने, ‘ यो कस्तो देश हो न्यायका लागि भिख माग्नुपर्ने’?  

टिकाराम जाजरकोट मटेला ससुराली जाँदा नवराजको साथ लागेर सोती गाउँ गएका थिए । आर्थिक अवस्था समेत कमजोर यो परिवारमा टिकारामको मृत्यूले अभिभावकत्व पनि गुमाएको छ । ‘मैलै श्रीमान गुमाएको छु, अब अरु केही होईन न्याय चाहियो ।’ १९ बर्षिय श्रीमती सुनिताले भनिन । उनको २ वर्षको छोरी छन् । जेठ १० गतेदेखि मृतक परिवारले दिनहुँ एउटा न एउटा खबर सुनिरहेका हुन्छन् । ती खबरले न्याय नै नपाउने शंका उब्जाइरहेको छ । जाजरकोट मटेलाका १८ वर्षीय लोकेन्द्र सुनारको मृत्युले आमा लक्ष्मीको साहरा नै गुमेको छ ।  

‘श्रीमानको पोहोर गाडी दुर्घटना हुँदा वित्नुभयो । छोरी त्यहि दुर्घटनामा परेर अपाङ जस्तै छ । आज एउटै साहरा लोकेन्द्रलाई पनि पापीहरुले मारेँ’, उनले भनिन । सुनचाँदीको काम सिक्दै गरेका लोकेन्द्र सुन पसल खोल्ने तयारीमा थिए ।  

अन्तरजातीय प्रेमसँगै प्रतिसोध  

नवराज र सुष्मा मल्लविच प्रेम सम्बन्ध रहेको कुरा प्रहरीले समेत पुष्टि गरेको छ । दुवैले एकले अर्कोलाई मन पराउने भएकाले दोहोरो आउजाउ समेत भएको परिवारजनले बताएका छन । गत पुसमा सुष्मा रमाईलो मेला हेर्नका लागि २ दिन अघि नवराजको घर आएको वुवा मुनलालले बताए । ‘छोरीको साथी भनेर सुष्मा हाम्रो घर आउदा ठकुरीको छोरी रहेछौं, हामी दलित (सानो जातका) हौं । समस्या हुन्छ अबदेखि हाम्रो घर नआउनु भनेको थिए’ उनले भने, ‘पछि भाई पनि आएर बसेँ, छोड्न जादा नवराज चौकीमा थुनिनुपर्यो ।’ 

चौरजहारी नगरपालिका वडा न. ८ का वडाअध्यक्षले लकडाउमा आएको भन्दै खबर गरेको आधारमा बैशाख १७ गते नवराज सहित उनका साथी सुदीप खड्का र सञ्जु विकलाई एक रात राखिएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए । भोलीपल्ट वडाअध्यक्षलाई छलफलमा बोलाउदा नआएको र नवराजको आमाको जिम्मा लगाइएर पठाएको उनको भनाई छ । तर सुष्मासँग अन्तरजातीय प्रेम भएको जानकारी पाएपछि परिवार र वडाअध्यक्ष समेतले सोती गाउँ नआउने चेतावनी सहित कुटपिट गरि चौकीमा थुनाएको सँगै गएका तथा आक्रमणमा परि घाईते भएका सुदीप खड्काले बताए ।  

सुष्माका ठूलो बुवा पर्ने जाजरकोट भेरीका इन्द्र बहादुर मल्लले समेत नवराजको परिवारलाई मल्लको सम्धी हुन खोजेको भन्दै आपत्ति जनाएका थिए । कानुनी रुपमा विवाह उमेर नपुगेकी सुष्मासँगको प्रेम सम्बन्धलाई तोड्न परिवार लागिपरेको बेला जेठ १० गते १८ जना युवा सहित नवराज सोती गाउँ जादा थप उत्तेजक भएको अधिकारकर्मीहरु बताउछन् । ‘अन्तरजातीय प्रेमलाई स्विकार गर्न नसकेकै कारण घटना भएको देखिन्छ’ घटनास्थलको अनुगमन गरेका मानवअधिकारकर्मी गोविन्द खनालले भने । नवराजलाई गाउँमा आउन नदिने गरि सोतीका केही स्थानीयले पूर्व योजना बनाइरहेको बेला लकडाउनका बेला नवराज गाउँ आएपछि गाउँलाई नै उत्तेजित बनाएर आक्रमण भएको उनले बताए ।  

भेरीले जाजरकोट र रुकुम चौरजहारीको सिमा छुटएको छ । तर, सोतीगाउँलाई पहिल्यैदेखि पनि रिसइवी साँध्ने ठाउँ रहेको त्यहाँका स्थानीयहरु बताउछन् । सोतीगाउँमा एकाध मगर र दलित वाहेक सबै मल्ल परिवारको बस्ती छ । सोतीगाउँ पहिल्यैदेखि डरलाग्दो ठाउँ भएको जाजरकोट मटेलाका स्थानीय यमूना शाहीले बताईन । ‘त्यहाँ एउटा दुईटा मान्छे मार्ने काम चल्ला मारेजस्तो हो भन्छन् । अहिले मात्रै यो घटना सार्वजनिक भएको हो’ उनले भनिन । 

नवराज र सुष्मा विच दुई वर्षदेखि प्रेम रहेको कुरा देखिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) प्रमुख डिएसपि ठग बहादुर केसीले बताए । नवराज सहितको १८ जनाको टोली सोतीगाउँमा प्रेमिका लिन आएको बेला प्रकाशी मल्लले जातीय रुपमा गाली गलौज गर्न थालेपछि यूवाहरु सुष्माको दाजू पर्ने विनोद मल्लको घरमा सोधपुछ गरेर जाजरकोट तर्फ सामान्य अवस्थामा फर्किएको प्रहरीले बताएको छ । मध्यपहाडी मार्ग भन्दा माथिको भागमा युवाहरु सुस्ताइरहेको बेला घाईतेहरुका अनुसार २ देखि ३ सय, जनाले हातमा घरेलु हतियार सहित ढुंगा र लठ्ठीले लेखटेका थिए ।  

‘हामी त केटी लिन गएका थियौं, आमाले गाली गर्न थालेपछि घरतिर फर्किदै थियौ, एक्कासी ढुंगाले हान्दै लखेट्न थालेँ’ घाईते मदन शाहीले भने –‘हामीले खु्टटा समात्यौं, तर पनि छोडेनन, हसिया, ढुंगा र लठ्ठीले हानेँ ।’ उनका अनुसार नवराज र अन्य ५ जनालाई भेरी नदी किनार नपुग्दै कुटेर हत्या गरिएको हो । प्रहरीले समेत दोहोरो झडप भएको नदेखिएको बताएको छ । लकडाउन उल्लघन गरेर यूवाहरु गाउँ पसेको भन्दै चौरजहारी नपा वडा न. ८ का वडाअध्यक्ष डम्बर बहादुर मल्लले प्रहरीलाई खबर गरेका थिए । तर घटनास्थलमा आउदा भने कुटपिट भइरहेको थियो । प्रहरीले सिठ्ठी बजाएपछि मात्रै कुटपिट रोकिएको प्रहरी प्रमुख डिएसपि केसीले बताए ।  

अन्तरजातीय प्रेमलाई परिवारले अस्विकार गरेको र त्यहि विचमा नवराजसँग गाउँका केहि यूवाहरुसँग झगडा समेत परेकाले नवराजहरु गाउँ आएको पूर्व जानकारी अनुसार आक्रमण गरि हत्या गरेको हुनसक्ने आंकलन पनि गरिएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ढुंगा, घरेलु हतियारले आक्रमण गरेको बताएका छन ।  ६ जना यूवाहरुको भेरीमा शव भेटिएको घटना निकै संवेदनशिल रहेकाले गहिरो गरि अनुसन्धान अघि बढाइएको, रुकुम (पश्चिम प्रमुख जिल्ला अधिकारी ) उप्रेन्द्रराज पौडेलले बताए । ‘मारेर फालेको, पौडी खेल्दा ढुंगाले हानेको, वा भाग्नेक्रममा डुबेर मरेको के हो ? त्यहि बिषयमा अनुसन्धान भइरहेको छ’ उनले भने । अनुसन्धानका लागि सि.आइ.बिको टिम र बिशेष सरकारी वकीलको कार्यालयबाट एक जना सरकारी वकिल समेत खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोट मार्फत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) मा मृतकमध्ये नवराज बि.क को बाबु मुनलाल विक नेपाली समेत ३ जनाले जेठ १३ मा किटानी जाहेरी दिएका छन् ।  

मानवीय संवेदना देखिएन जनप्रतिनिधिमा  

इन्सेकले सार्वजनिक गरेको स्थलगत अध्ययनको प्रारम्भिक प्रतिवेदनमा ढुंगा र घरेलु हतियार प्रयोग गरि पूर्व योजना अनुसार नै हत्या भएको बताएको छ । मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा भएको स्थलगत अध्ययन अनुगमन प्रतिवेदनले पूर्व योजना अनुसार जनप्रतिनिधि, परिवार र गाउँलेहरुको आक्रमणबाट ६ जना यूवाको सामूहिक हत्या भएको जिकिर गरेको छ । घटनास्थलका स्थानीयले पनि लेखेट्दै भेरी नदी किनारमा पु¥याएको र १० जना नदीमा हाम फालेका र २ जनालाई बाहिर नै नियन्त्रण गरि कुटपिट गरिएको थियो ।  

प्रहरीले कुटपिट भएको देखेपनि लकडाउन उल्लघनको आशंकामा १२ जना यूवालाई प्रहरी चौकीमा लगेको थियो । १० गते राती नै नवराजको शव भेटिएको थियो । तर स्थानीय जनप्रतिनिधि र प्रहरी समेत शव खोज्न भने सहयोग नगरेको चौरजहारी नगरपालिकाका स्थानीय अर्जुन कुमार लामिछानेले बताए । घटनापछि पनि मानवीय संवेदना दिनमा स्थानीयदेखि केन्द्रीय तहसम्मका जनप्रतिनिधिले चासो नदिएको मृतक परिवारको गुनासो छ ।  

सात्वना दिन स्थानीय तहका नगरप्रमुखहरु मृतकका घरमा गएपनि प्रदेश सरकार, प्रदेश र संघीय सांसदहरु भने पुगेनन् । जाजरकोटका ५ जना यूवाहरुले ज्यान गुमाएका छन् । त्यहि क्षेत्रका संघीय सांसद शक्ति बस्नेत लामोसमयसम्म बेखबर जस्तै बसेँ । रुकुम पश्चिम चौरजहारी क्षेत्रबाट निर्वाचित संघीय सांसद जर्नादन शर्मा सदनमा विवदास्पद अभिव्यक्ति दिए । तर घटनास्थल र मृतकका परिवारमा गएर भने संवेदना दिएनन् । ‘हामी पनि जनता नै हो, मैलै भाई गुमाए, चुनावका बेला हात जोड्दै आउने नेता मन्त्रीहरु दुःख परेका बेला आएनन’ जाजरकोट भेरी नपा ४ रानागाउँका मृतक गणेशका दाजू भरतले गुनासो पोखेँ ।  

नेकपा र नेपाली काँग्रेस सहितका दर्जनौं नेताहरु भएको ठाउँमा जनप्रतिनिधि र राजनितिज्ञहरुले मानवीय संवेदनालाई ख्याल भने नगरेको स्थलगत अध्ययन गरि फर्किएका पूर्व सांसद विनोद पहाडीले बताए । घाईतेहरुको उपचार, मृतक परिवारको आर्थिक अवस्था समेत कमजोर देखिएकाले यस्तो बेलामा सरकार र सांसदहरुले साथ दिनुपर्ने उनको भनाई छ ।  

रुकुम पश्चिममा तुलनात्मक रुपमा अन्तरजातीय विवाह भएकाले विभेद नरहेको दावी त्यहाँका जनप्रतिनिधिहरुको छ ।  अन्तरजातीय प्रेमबाट मात्रै घटना नभएको चौरजहारी नगरपालिका नगरपमुख बिशाल शर्मा बताउछन् । उनले घटना रहस्यमय भएकाले आफूहरुले जनप्रतिनिधिको हैसियतबाट अनुसन्धानमा सघाउने काम गरिएको बताए । वडाअध्यक्ष सहित सोतीगाउँका प्राय सबै घरका व्यक्तिहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेकाले दोषीले सजाय पाउने बताए ।  

प्रकाशित: ३० जेष्ठ २०७७ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App