४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन जना कोरोना संक्रमित भारतबाट आएका

यस्तो छ संक्रमितको ट्राभल हिस्ट्री

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन जना कोरोना संक्रमित भारतबाट आएका खुलेको छ । रोजगारी खोज्दै भारतका विभिन्न स्थानमा पुगेको अवस्थामा लकडाउन भएपछि गाउँ फर्किएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका २१/२१ वर्षका दुई युवा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४५ वर्षीय एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको ट्राभल हिस्ट्री अध्ययन सुरु गरिएको छ ।  

कामका सिलसिलामा भारतको कानपुर पुगेका बाहुनीडाँडाका दुई युवा गत जेठ ११ गते गाउँ आइपुगेका हुन्। तर, उनीहरूलाई घर पुग्न अगावै जयराम नाकाबाट मालिकादेबी माविको क्वारेन्टिनमा लगेर राखिएको थियो । वैशाख ३१ गते नेपाल भित्रिएपछि बुटवलमा ९ दिन क्वारेन्टिनमा बसेका दुई युवाको आरडिटि रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरू सुनसरी जाने गाडीमार्फत सिराहाको मिरचैया ओर्लिएको खुलेको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले बताए । मिरचैयाबाट उदयपुरको कटारीसम्म हिँडेर आएका उनीहरू त्यहाँबाट बेतेनीसम्म टेम्पोमा यात्रा गरेको खुलेको छ । बेतेनीबाट भने पैदल हिँडेर गाउँ आइपुगेको स्वास्थ्य सह–संयोजक घिमिरेले बताए ।  

यस्तै, दुर्छिमका एक पुरुष भारतबाटै जेठ १६ गते गाउँ आइपुगेका हुन् । उनलाई पनि घर पुग्न अगावै स्वास्थ्यचौकी दुर्छिमको क्वारेन्टिनमा राखिएको थियो । सुनौली नाकामा २८ दिन क्वारेन्टिनमा बसेका उनी सिन्धुलीबाट इँटा बोक्ने गाडीमार्फत गाउँ आइपुगेका थिए । उनीसँगै रावाबेँसी गाउँपालिकाका खार्पाका एक जना र ऐसेलुखर्क गाउँपालिका बाकाचोलका एक व्यक्ती आएको खुलेको नगरपालिकाका मेयर इवन राईले बताए । 

उनीहरूले यात्रा गरेको मिति र स्थान बारे थाहा भए पनि यात्राकाक्रममा को, कहाँका व्यक्तीसँग भेटघाट गरे भन्ने खुलेको छैन । उनीहरूबाट थप संक्रमण फैलिएको आँकलन गरिएको छ । क्वारेन्टिनमा राखिएकै अवस्थामा उनीहरूको जेठ १७ गते स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि बिराटनगर पठाइएको थियो । भारतबाट आएपछि उनीहरू सामाजिक सम्पर्कमा पुग्न नपाएका कारण अन्यलाई जोखिम नभएको मेयर राईले बताए । 

भातबाट आउने नागरिकलाई जयराममा राख्ने तयारी 

भारतबाट आउने नागरिकबाट कोरोना संक्रमण भित्रिने त्रास बढेपछि हलेसी तुवाचुङ नगरपालिकाले भारतबाट आउने स्थानीयलाई जयरामघाटमा राख्ने निर्णय गरेको छ । तीन जना संक्रमित फेला परे लगत्तै बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले भारतबाट आउने व्यक्तिलाई जिल्ला प्रवेश गर्ने नाकाका रुपमा रहेको जयरामघाटस्थित क्रिस्चियन धर्मावलम्बीको मण्डलीमा राख्ने निर्णय गरेको हो । नेपाल–भारत सिमामा दर्जनौं नगरबासी नागरिक आएर उद्धारका लागि खबर गरिरहेको मेयर राईले बताए ।  

यस्तै, स्वास्थ्यचौकी महादेवस्थानलाई क्वारेन्टिन बनाउने निर्णय गरिएको छ । तीन कोरोना संक्रमित फेला परेपछि सम्भावित अन्य समस्या समाधानको पुर्वतयारी स्वरुप स्वास्थ्य चौकीलाई खाली गरेर क्वारेन्टिनका रुपमा प्रयोग गर्ने निर्णय गरिएको हो । स्वास्थ्यचौकीको ओपिडि सेवालाई पञ्चकर्म सेवामा सार्ने र प्रशुती सेवालाई स्वास्थ्यचौकी दुर्छिममा सारेर सेवा प्रवाह गर्ने निर्णय गरिएको मेयर राईले बताए । थप तीन संक्रमित भेटिएसँगै नगरपालिकाकाले अत्यावश्यक बाहेकका काम रोकेको जनाएको छ ।

प्रकाशित: २३ जेष्ठ २०७७ १७:३९ शुक्रबार

क्वारेन्टिन कोरोना संक्रमित