६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विदेशबाट फर्किनेलाई होटलको क्वारेन्टिन, पोखरामा पाँच हजार कोठा व्यवस्थापन गरिँदै

पोखरा लेकसाइडका होटल। विदेशबाट फर्केका नेपालीलाई यहाँका होटलमा क्वारेन्टिनमा राख्ने तयारी भएको छ। फाइल तस्बिर

कोरोना भाईरस संक्रमणको चपेटामा परेर विभिन्न मुलुकबाट उद्धार गरि ल्याइएका नेपाली नागरिकलाई क्वारेन्टिनमा राख्नका लागि पोखराका होटलसँग पाँच हजार कोठा माग गरिएको छ। सरकारले पोखरा महानगरपालिकालाई होटलमा पाँच हजार कोठा व्यवस्थापन गर्न जिम्मा दिएको हो।  

पश्चिमाञ्चल होटल संघ र पोखरा महानगरपालिकामार्फत अहिले होटल व्यवस्थापनको थालनी भईसकेको छ। संघका अध्यक्ष विकल तुलाचनका अनुसार पहिलो चरणमा पाँच हजार कोठा व्यवस्थापन गर्ने तयारी भईरहेको बताए। ‘पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाले हामीसँग पाँच हजार कोठा माग गरिएको छ। हामीले पनि त्यही अनुसार सदस्य होटललाई जानकारी दिएका छौ,’ तुलाचनले भने, ‘होटलको समस्या हुँदैन। व्यवस्थापन कसरी गर्ने भन्ने मात्र हो।’  

अहिले पोखराका धेरै होटल बन्द छन्। पाहुना नभएपनि केही होटलले सिमित कर्मचारी राखेर व्यवस्थापन गरिरहेका छन्। त्यसैले कर्मचारी अभावमा सबै होटलले सेवा दिन सक्ने अवस्था पनि छैन। तर, विदेशबाट फर्किएका ती नेपालीलाई क्वारेन्टिनमा राख्दा खाना र बासको व्यवस्थापन गर्नेगरि होटललाई आव्हान गरेको तुलाचनले बताए। ‘विदेशबाट फर्किदा नै स्वास्थ्य परीक्षण गराएर आएका हुन्छन्। काठमाडौंमा पनि आरडिटी परीक्षण गर्ने भनिएको छ,’ उनले भने, ‘तर यात्राको क्रममा कसैलाई संक्रमण हुन सक्छ। त्यसैले उनीहरुलाई दुई साता क्वारेन्टिनमा बस्न लगाउने तयारी अनुसार व्यवस्थापन गर्न थालिएको हो।’  

होटललाई क्वारेन्टिन बनाउँदा सकेसम्म ठुला आकारका पूर्वाधारलाई प्रयोग गर्न लगाउने तयारी भएको पनि उनले बताए। ‘छरिएका भन्दा एकैठाउँमा रहेका धेरै होटलमा विदेशबाट फर्केका ती नेपालीलाई राख्न सकिन्छ। त्यसले गर्दा समुदायमा संक्रमण फैलिन पाउँदैन,’ उनले भने, ‘चारैतिर छरिन नदिने गरि सिमित क्षेत्रभित्रका होटलमा व्यवस्थापन गर्न सकेमा समुदाय सुरक्षित हुन्छ।’ विदेशबाट फर्केका नेपालीलाई त्यसरी क्वारेन्टिनमा राख्दा व्यावसायीलाई पनि केही राहत हुने उनले बताए।  

क्वारेन्टिनको रुपमा होटलमा बसेका ती नेपाली नागरिकले १४ दिन अवधिको बसाई र खानपिनका खर्च आफैले बेहोर्नुपर्नेछ। लामो समय बस्नुपर्ने र अनावश्यक खर्च हुने भएकोले सकेसम्म सस्तो मूल्यका होटल व्यवस्थापन गर्ने पनि उनले बताए। ‘कोठाको एकदिनको मूल्य न्यूनतम १५ सय रुपैयाँ भन्दा माथि पर्नेछ। त्यसरी फर्किनेमा अधिकांश मजदुरी गर्न गएका युवाहरु हुने भएकोले पनि उनीहरुलाई सस्तोमा बसाउने पहल भईरहेको छ,’ उनले भने, ‘ठुला आकारका होटलमा बसाएर बढी खर्च गराए मात्र हुँदैन। १४ दिनसम्म बस्दा उनीहरुको खर्च अधिक हुन्छ। यो खर्च अनावश्यक पनि हो।’  विदेशबाट फर्केका नागरिक भन्दैमा अनावश्यक बढी खर्च गराउन जरुरी नभएको भन्दै सकेसम्म मझौला आकारका होटललाई क्वारेन्टिन बनाउन चाहेको अध्यक्ष तुलाचनले बताए। ‘न्यूनतम १५ सय र बढीमा २५ सय रुपैयाँसम्मको कोठा खोज्ने हो,’ उनले भने। होटलमा बसेका ती नागरिकलाई बिहान नास्ता, खाना, दिउँसो नास्ता र बेलुकी खाना होटलले नै खुवाउनुपर्ने पनि उनले बताए।  

विदेशबाट फर्केका नागरिकलाई क्वारेन्टिनको रुपमा राख्नका लागि इच्छुक होटललाई महानगरमा सुचिकृत हुन आव्हान गरेको पनि अध्यक्ष तुलाचनले बताए। ‘हामीले एकचरणको सुझाव महानगरलाई दिएका छौ। महानगरले पनि क्वारेन्टिन बनाउन इच्छुक होटललाई सुचीकृत हुन आव्हान गर्नेछ,’ उनले भने, ‘त्यही अनुसार विदेशबाट आएका नागरिकलाई होटलमा राखिनेछ।’  

महानगरका मेयर मानबहादुर जिसीले पनि विदेशबाट फर्केका नेपाली नागरिकलाई राख्नका लागि आफैले पैसा तिर्नेगरि होटललाई क्वारेन्टिन बनाउने तयारी भईरहेको बताए। ‘विदेशबाट फर्केका नेपालीलाई राख्नका लागि पाँचहजार कोठा व्यवस्थापन गर्न महानगरलाई सरकारले आग्रह गरेको छ। पोखराले पाँचहजार व्यक्तिलाई ‘सेटल’ गर्ने जिम्मा पाएको छ,’ मेयर जिसीले भने, ‘गण्डकी प्रदेशकै मान्छे आउने हुन्। उनीहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्ने हो।’  

क्वारेन्टिन बनाउन चाहेका होटललाई सुचीकृत हुनका लागि तीन दिन अघि नै महानगरले सूचना जारी गरिसकेको मेयर जिसीले बताए। ‘हामीले तीनदिन अघि सूचना जारी गरेर इच्छुक होटललाई सूचीकृत हुन भनेका छौ,’ उनले भने। मेयर जिसीका अनुसार कम्तिमा १५ कोठा भएको होटललाई सूचीकृत हुन आव्हान गरिएको छ। ‘केही होटल सूचीकृत हुन आईसकेका छन्। अहिले नै नेपालीहरु फर्किसकेका छैनन,’ उनले भने। विदेशबाट फर्केका ती नेपाली नागरिक बसेको होटललाई डिस इन्फेक्सन गर्न, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापन सहित विशेष मापदण्ड तय हुने उनले बताए। उनका अनुसार एक कोठमा बढीमा दुईजना बस्ने गरि व्यवस्थापन गर्न थालिएको छ। कतिपयले समूहमा आएर एकैठाउँ बस्न चाहेको बताएमा पनि त्यही अनुसार व्यवस्थापन हुने उनले बताए।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले महानगरपालिका र होटल व्यावसायी मिलेर मापदण्ड पुरा गरेका होटलमा ती पाहुना राख्न सकिनेबारे छलफल गरेको बताए। पराजुलीका अनुसार क्वारेन्टिन बन्नका लागि होटलमा कम्पाउन्ड हुनु अनिवार्य गरिएको छ। त्यस्तै कम्तिमा १५ कोठा हुनुपर्ने, संचालक पनि सुरक्षित हुनुपर्ने, आन्तरिक सुरक्षाले बलियो हुनुपर्ने, भान्साको व्यवस्था, स्वास्थ्य र सुरक्षाको व्यवस्था हुन अनिवार्य गरिएको छ। ‘समाजमा पनि संक्रमण फैलिनु भएन। सकेसम्म एकै ठाउँमा धेरै अट्न सक्ने क्षमता भएमा पनि राम्रो हुन्छ। समाजलाई पनि असर पर्नुभएन,’ पराजुलीले भने, ‘सबैतिर सुरक्षा मापदण्ड तय हुनुपर्छ। स्वास्थ्य र सुरक्षा महत्वपूर्ण हुन्छ। स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्नेछ।’

 

प्रकाशित: १९ जेष्ठ २०७७ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App