२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोरोनाविरुद्धको कोषमा १७ लाख ४२ हजार जम्मा

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा १७ लाखभन्दा बढि रकम संकलन भएको छ । विश्वभर नै आतंक सिर्जना गरिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा शुभेच्छुकदाताबाट १७ लाख ४२ हजार ७४० रुपैयाँ रकम जम्मा भएको हो ।  

गाउँपालिकाका ४९ जना गाउँसभा सदस्यबाट प्राप्त भएको ५ लाख ७६ हजार, गाउँपालिकामा कार्यरत सबै कर्मचारीबाट प्राप्त ९९ हजार ८६९, गाउँपालिकाका सबै ४९ विद्यालयका शिक्षक, वाल विकास केन्द्रका शिक्षक तथा कर्मचारीबाट प्राप्त २ लाख ४१ हजार ५९१ रकम कोषमा जम्मा गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । यस्तै, गाउँपालिकाको विपद व्यवस्थापन कोषमा युवा नेता राजन बञ्जराबाट ५ हजार १ सय र स्थानीय व्यवसायी नारायणप्रसाद फुयाँलबाट ७ हजार ५ सय प्राप्त भएको छ । मौज्दात ३ लाख १२ हजार ६७९ रुपैयाँ रहेको विपद व्यवस्थापन कोषमा आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोषबाट ५ लाख जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।  

महामारीका विरुद्ध सहयोग गरेर हातेमालो गर्न इच्छुक शुभेच्छुक दाताले प्रदान गरेको सहयोग रकम कोषमा अद्यावधिक गर्दै जाने गाउँपालिकाले जनाएको छ । विपदको समयमा विपद व्यवस्थापन कोषको नाममा खोलिएको खाता नम्बर २०६००३०७०२०००६ मा रकम जम्मा गरेर महामारीबाट प्रत्यक्ष पिडितलाई सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।  

२९ लाख ४८ हजार बजेट रकमान्तर

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कार्यक्रम गर्न खोटेहाङ गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमको २९ लाख ४८ हजार रुपैयाँ बजेट रकमान्तर गरेको छ । कोरोनाविरुद्धको गतिविधि सञ्चालनका लागि कर्मचारी र पदाधिकारी तालिम तथा अभिमुखीकरण शिर्षकको ३ लाख, अवलोकन भ्रमण कार्यक्रमको ५ लाख, न्यायीक समितिको पुर्नताजगी तालिमको ८ लाख, सुरक्षित आप्रवासन परियोजना (सामी)को साझेदारी कार्यक्रमको ६ लाख ४८ हजार र अध्यक्ष कप भलिबल प्रतियोगीता तथा वार्षिकोत्सवको ७ लाख बजेट विपद व्यवस्थापन कोषमा रकमान्तर गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । 

प्रकाशित: ७ जेष्ठ २०७७ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App