२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मृत सुत्केरीको शिशुमा छैन कोरोना, गाउँमा कन्ट्र्याक्ट ट्रेसिङ तीव्र

कोरोना संक्रमणका कारण नेपालमा पहिलोपटक ज्यान गुमाउने सुत्केरीका शिशुसहित पाँचैजना आफन्तको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा उनीहरूको थ्रोट स्वाब परीक्षण गरिएको थियो । 

अस्पतालले मृतकको १३ दिने शिशु, उनका पति, आमा, भाइ र बहिनीमा कोरोना नरहेको पुष्टिसहित जानकारी गराएको सिन्धुपाल्चोकका प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार अस्पतालले उनीहरूलाई सोमबार साँझ डिस्जार्चसमेत गरिसकेको छ । ‘उनीहरूलाई दुई साता सुरक्षित क्वारेन्टिनमा राख्छौं,’प्रजिअ ढकालले नागरिकसँग भने । १४ दिन क्वारेन्टिनमा राख्ने सर्तमा अस्पतालले मृतकका आफन्तलाई डिस्जार्च गरेको थियो ।

खोकीका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संंस्था हुँदै बिहीबार धुलिखेल अस्पतालमा उपचारका लागि पुगेकी बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको त्यसैदिन मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाकै कारण उनको मृत्यु भएको पुष्टि गरेको थियो । मृत्यु हुँदा ती महिला १० दिनकी सुत्केरी थिइन् । शिशुसहित मृतकका पाँच आफन्त उनीसँगै धुलिखेल अस्पताल पुगेका थिए । सुत्केरीको मृत्युको कारण कोरोना भएको पुष्टि भएपछि अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा आफन्तको स्वाब परीक्षण गरिएको थियो ।

गाउँमा कन्ट्र्याक्ट ट्रेसिङ तीव्र

कोरोनाकै कारण महिलाको मृत्यु भएको पुष्टि भएपछि संक्रमण फैलन नदिन उनको घरगाउँमा कन्ट्र्याक्ट ट्रेसिङ र स्वाब नमुना संकलनलाई तीव्रता दिइएको छ । महिलाको घर रहेको बाह्रबिसे नगरपालिका–९ र माइती रहेको बलेफी गाउँपालिका–७ र ८ शुक्रबारदेखि सिल गरिएको छ । आइतबारदेखिदेखि त्यहाँ स्वास्थ्य कार्यालय, धुलिखेल अस्पताल र विश्व स्वास्थ्य संगठनको समूह र वाग्मती प्रदेश सरकारको विज्ञ चिकित्सकसहितको टोलीले काम गरिरहेको छ । 

मृतकको घर रहेको राम्चे गाउँका एक सय दुईजनाको स्वाब संकलन भइसकेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । आइतबार ५६ र सोमबार ४६ स्थानीयको स्वाब संकलन गरिएको थियो । उनका अनुसार कन्ट्र्याक्ट ट्रेसिङ पनि भइरहेको छ । कोरोना संक्रमण भए÷नभएको पुष्टि गर्न अझ धेरैको स्वाब संकलन हुन सक्ने उनले बताए । मृतक महिलाको टोलमा मात्र १७ परिवारको बसोबास छ ।

आइतबार संकलित स्वाब परीक्षणका लागि राष्ट्रिय जनप्रयोगशाला पठाइएको छ । रिपोर्ट भने आइसकेको छैन । सोमबार संकलित स्वाब पनि साँझ नै परीक्षणका लागि पठाइएको छ । मंगलबारदेखि संकलित स्वाबको रिपोर्ट आउन थाल्ने प्रजिअ ढकालले बताए । उनका अनुसार मृतकको माइती गाउँ बलेफी–७ र ८ मा भने स्वाब संकलन गरिएको छैन । ओहोरदोहोर नपाइएकाले स्वाब संकलन नगरिएको हो । ‘संकलित स्वाबको रिपोर्टका आधारमा मृतकको माइती गाउँमा स्वाब संकलन गर्ने÷नगर्नेबारे निर्णय हुन्छ ।’ मृतकको सम्पर्कमा रहेका सुनकोसी गाउँपालिकाका चार जनाको मात्र स्वाब संकलन गर्न बाँकी छ ।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । त्यहाँबाट उपलब्ध हुने सबैखाले स्वास्थ्य सेवा तीन दिनदेखि ठप्प छ । मृतक महिला धुलिखेल अस्पताल पुग्नुअघि स्वास्थ्य जाँचका लागि केन्द्रमा आइपुगेकी थिइन् । केन्द्रले नै कोरोना आशंका गर्दै महिलालाई धुलिखेल रेफर गरेको थियो । वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलाल पनि सिल गरिएको गाउँमा खटिइरहेका छन् ।

प्रकाशित: ५ जेष्ठ २०७७ १९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App