१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

२० हजार कर्णालीवासी भारतबाट फर्कंदै

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमण एकजनामा पनि देखिएको छैन । भारत तथा नेपालका अन्य प्रदेशबाट कर्णालीमा मान्छे भित्रिने क्रम बढेपछि जोखिम भने बढेको छ । प्रदेशका सबै नाका सिल गरिए पनि प्रदेश सरकारका लागि नयाँ चुनौती भएको बताइएको छ । 

भारतबाट मान्छे आउने क्रम सुरु भएपछि जोखिम व्यवस्थापनबारे छलफल गर्न चुनौती बढेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले बताइन् । भारत सरकारले रेलसेवा सुरु गरेसँगै अन्य क्षेत्रका नेपालीझैं कर्णालीवासी पनि गाउँ आउन थालेकाले व्यवस्थापनका साथै कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भन्ने विषयमा चुनौती बढेको उनको भनाइ छ । शनिबारसम्म करिब पाँच सय कर्णालीवासी नेपालगन्जको पैडिया नाका हुँदै प्रवेश गरेको उनले बताइन् ।

भारतका विभिन्न स्थानमा करिब ७० हजार कर्णालीवासी रहेको प्रवक्ता केसीले बताइन् । तीमध्ये झन्डै २० हजार कोरोनाबाट बच्नका लागि घर फर्किन आतुर रहेको अनुमान गरिएको छ । ‘जनताले आफ्नो देश फर्किन खोज्नु स्वाभाविक भए पनि यसले कर्णालीमा नयाँखाले जोखिमको सम्भावना बढाएको छ,’उनले भनिन्, ‘यो जोखिमलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकारले ठोस योजना बनाएको छ ।’

भारतले रेलसेवा सुरु गरेपछि कर्णालीमा भित्रिने जोखिम र त्यसको व्यवस्थापनबारे प्रदेश सरकारले योजना बनाइरहेको बताएको छ । भारतलगायत अन्य ठाउँबाट प्रदेश सीमामा आएका नागरिकको आरडिटी गरिएको प्रमाणका आधारमा मात्र प्रवेश गर्न दिने निर्णय गरिएको मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए । आरडिटी नगरेकाको हकमा सामाजिक विकास मन्त्रालयले परीक्षण गराउने व्यवस्था मिलाउने निर्णय भएको उनले बताए । 

नाकासम्म आइपुगेका कर्णालीवासीको संख्या संकलन गरी सुरक्षित रूपमा भित्र्याउनका लागि तयारी गरिएको बताइएको छ । अवैध नाकाबाट प्रवेश गर्न नदिन सुरक्षा व्यवस्था कडा बनाइने र वैध नाकाबाट स्वास्थ्य जाँच गरेर मात्र भित्र्याउने निर्णय भएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

करिब तीन हजारको पीसीआर

प्रदेश सकारले वैशाख २२ देखि एक सातासम्म प्रदेशका सबै नाका सिल गरी विभिन्न २७ स्थानमा चिकित्सकसहित मेडिकल टोली खटाएको थियो । ग्रामीण क्षेत्रमा स्वाब संकलन कार्य पनि तीव्र पारिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शुक्रबारसम्म दुई हजार सात सय ६३ जनाको पिसिआर परीक्षण गरिएको छ । 

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले संकलन गरेका एक हजार दुई सय ८९ र सुर्खेतस्थित प्रदेश प्रयोगशालाले संकलन गरेका एक हजार चार सय ७४ स्वाबको परीक्षण गरिएको हो । प्रदेशभर करिब आठ हजारजनाको आरडिटी गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले जानकारी दिइन् । 

भारतबाट मान्छे आउने क्रम सुरु भएपछि कर्णालीमा चुनौती थपिएको उनको भनाइ छ । कर्णालीमा अहिलेसम्म भारतलगायत मुलुकबाट आएका व्यक्तिहरूको पिसिआर र आरडिटी गरिसकिएको छ । १० वटै जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार गत चैत १ यता कर्णालीमा भारतलगायत मुलुकबाट पाँच हजार सात सय ७६ जना भित्रिएका थिए । 

प्रकाशित: ३ जेष्ठ २०७७ २२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App