६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाँकेका अबैध नाकाबाट साढे चार सय भित्रिए (अपडेट)

बाँकेको नरैनापुरस्थित नेपाल–भारत सीमानाकाबाट प्रवेश भएर आएका नेपाली नागरिक । तस्बिर : नागरिक

नेपालगन्ज- बाँकेको विभिन्न अबैध नाकाबाट ४ सय ४७ जना नेपाली नागरिक प्रवेश भएका छन् । सबैभन्दा बढी जिल्लाको राप्तीपारी नरैनापुरका नाकाबाट भित्रिएका छन् । उक्त नाकाबाट ३ सय ७३ जना प्रवेश भएका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले सिमाबाट प्रवेश भएर आएका ३ सय ७३ जनालाई ८ वटा क्वारेन्टाइनमा राखिएको बताए । ‘केहीदिन अघि सीमापारी आएर बसेका थिए, उनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखेका छौं,’ अध्यक्ष शाहले भने ।  

उनका अनुसार सीमा प्रवेश गरेका सबै नरैनापुरबासी हुन् । भारतको मुम्बई लगायत ठाउँमा उनीहरु रोजगारी गर्न पुगेका थिए । एकैपटक ठुलो संख्यामा भारतबाट फर्केर आएपछि क्वारेन्टाइनमा ब्यवस्थापन गर्न समस्या भइरहेको अध्यक्ष शाहले गुनासो गरे । ‘अहिलेसम्म प्रवेश भएका ब्यक्तिलाई क्वारेन्टाइनमा ब्यवस्थापन गरेर राखेका छौं, सीमापारी अझै कति संख्यामा छन्, थाहा छैन, अब संख्या बढेपछि त ब्यवस्थापन गर्न बडो गाह्रो हुने स्थिती छ,’ उनले नागरिकसँग टेलिफोनमा भने ‘संघ र प्रदेश सरकारको सहयोग हामीलाई चाहिएको छ ।’  

गाउँपालिकाले विभिन्न वडामा रहेका सामुदायिक विद्यालय र मदरसामा क्वारेन्टाइन स्थापना गरेको छ । स्थानीय जयकिसान माध्यामिक बिद्यालय, दीपेन्द्र प्राथमिक बिद्यालय, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, आदर्श माध्यामिक विद्यालय, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय लगायतमा स्थापना गरिएको हो । क्वारेन्टाइनमा राखिएका ब्यक्तिको पिसिआर विधिमार्फत स्वाब संकलन पनि गरिएको अध्यक्ष शाहले बताए ।  

भारतीय सीमासँगै जोडिएको डुडुवा गाउँपालिका अन्तर्गतका नाकाबाट पनि ७० जना प्रवेश गरेका छन् । उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । ‘डुडुवाको अबैध नाकाबाट दुई दिनको अवधिमा ७० जना प्रवेश भएर आएका छन्, उनीहरुलाई क्वारेन्टाइनमा लगेर राखेका छौं,’ उनले भने । अध्यक्ष चौधरीका अनुसार डुडुवा गाउँपालिकामा रहेको माध्यामिक विद्यालय बनकट्टी, आधारभुत विद्यालय साहपुरुवा र हिरमिनियाको विद्यालयमा राखिएको हो ।  

रोजगारीका लागि भारत पुगेका उनीहरु नेपालगन्ज नाकाबाट प्रवेश हुन नपाएपछि डुडुवाको नाकाबाट छिरेको अध्यक्ष चौधरीले बताए । ‘यिनीहरु सबै भारतमा काम गर्न पुगेका थिए, कोरोना भाइरसको महामारीका कारण लकडाउन भएपछि दुःख पाएर अहिले फर्केका हुन्,’ उनले भने । खजुरा गाउँपालिका अन्तर्गत वडा नम्बर १ राधापुरको अबैध नाकाबाट चार जना ब्यक्ति प्रवेश भएका छन् । अबैध नाकाबाट प्रवेश भएर आएका खजुरा गाउँपालिका वडा नम्बर ६ र ८ का दुई÷दुई जना ब्यक्तिलाई गाउँपालिकाले होम क्वारेन्टाइनमै बसाएको छ ।  

गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले नाकाबाट प्रवेश भएर आएका चार जनालाई स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा बसाएको बताए । ‘प्रवेश भएर आएका चार जना ब्यक्ति अहिले होम क्वारेन्टाइनमा बसेका छन्, उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन्,’ अध्यक्ष कक्षपतिले भने ‘उनीहरुको भोली(शुक्रबार) पिसिआर परिक्षण गर्ने हो ।’ जिल्लाकोे जानकी गाउँपालिकासँग जोडिएको नेपाल–भारत सीमा नाकामा पनि केही नेपाली नागरिक आएर बसेको स्थानीयले बताएका छन् । जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवले सीमानाकामा आएर बसेका नेपाली नागरिकको तथ्यांक संकलन गर्न लागिएको बताए । ‘अहिले कति संख्यामा नेपाली नागरिक आएर नाकामा बसेका छन्, त्यसको तथ्यांक मागेको छु,’ यादवले भने । तथ्यांक लिइसकेपछि उनीहरुको उचित ब्यवस्थापन गरिने बताए ।  

भारतमा कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले डेढ महिना भन्दा बढी समयदेखि नेपालगन्जस्थित नेपाल–भारत सीमानाकाबाट आवत जावतमा रोक लगाउँदै आएको छ । रोजगारीका लागि भारतमा पुगेका नेपाली नागरिक त्यहाँ बस्न समस्या भएपछि घर फर्किरहेका छन् । नेपालगन्ज नाका बन्द भएपछि उनीहरु बिभिन्न अबैध नाकाबाट प्रवेश हुन थालेका हुन् । बाँकेमा ६५ किलोमिटर नेपाल–भारत खुल्ला सीमानाका रहेको छ ।  

 

 

 

प्रकाशित: १ जेष्ठ २०७७ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App