२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीमा एक महिने ‘मेडिकल मार्च’

सांकेतिक तस्बिर

सुर्खेत/जुम्ला- कोरोना संक्रमण रोक्नका लागि स्थानीय स्तरमा जनचेतना फैलाउन र कर्णालीका नागरिकहरूलाई चिकित्सकीय सेवा दिनका लागि एक महिने ‘मेडिकल मार्च’ अभियान सुरु भएको छ । कर्णालीका ७९ स्थानीय तहलाई पायक पर्ने गरेर तोकिएका २७ स्थानबाट सोमबारदेखि अभियानको सुरुवात गरिएको हो । अभियानमा चिकित्सकको नेतृत्वमा छ जनाको टोली संलग्न छ । कर्णाली प्रदेश सरकारले आइतबार हवाई र स्थलमार्गबाट चिकित्सकसहितको टोलीलाई सम्बन्धित स्थानमा पु¥याएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशन डाक्टर रिता भण्डारी जोशीले कर्णालीका नागरिकहरूलाई चिकित्सकीय सेवा उपलब्ध गराउन र कोरोनाबारे स्थानीयस्तरमा जनचेतना फैलाउनका लागि ‘मेडिकल मार्च’ नाम दिएर अभियानको सुरुवात गरिएको बताइन् । ‘चिकित्सकसहितको छ जना स्वास्थ्यकर्मीको टोली एक महिनासम्म तोकिएको स्थानमा रहेर कर्णालीका नागरिकहरूलाई घर–आँगनमै स्वास्थ्य सेवा दिनुका साथै कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ,’ निर्देशन जोशीले भनिन्, ‘एकै समयमा प्रदेशभरका सबै नागरिकहरूलाई चिकित्सकीय सेवा प्रवाह हुन लागेको यो पहिलो पटक हो ।’  

प्रदेश सरकारले तोकेको स्थानमा खटिएका चिकित्सक नेतृत्वको टिमले सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य सेवा कार्यालयसँग समन्वय गरेर काम गर्नेछ । यो टिमले शंकास्पद व्यक्तिहरूको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट कोरोना परीक्षण पनि गर्नेछ । चिकित्सकीय सेवाका लागि आवश्यक पर्ने औषधि र कोरोना परीक्षण किटको व्यवस्थापन सम्बन्धित स्थानीय तह र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमार्फत गरिनेछ ।

प्रदेश सरकारले हुम्लाका पाँच, कालिकोटका चार, डोल्पा, सल्यान र मुगुका तीन–तीन, सुर्खेत, दैलेख, रुकुम (पश्चिम) र जाजरकोटका दुई–दुई र जुम्लाको एक स्थानमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटाएको छ ।  

सामाजिक विकासमन्त्री दल रावलले साविकको कर्णालीका पाँच जिल्लाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट र बाँकी पाँच जिल्लाका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट चिकित्सकहरू खटाइएको जानकारी दिए । ‘विशेषज्ञ चिकित्सक हामीले जुम्ला र सुर्खेतबाट खटाएका छौं, उहाँहरूलाई सहयोग गर्न थप पाँच जना स्वास्थ्यकर्मी सम्बन्धित जिल्ला र स्थानीय तहबाट खटिनुहुन्छ,’ मन्त्री रावलले भने, ‘यहाँहरूले कोरोना परीक्षणका साथै सम्बन्धित क्षेत्रका नागरिकहरूलाई अन्य चिकित्सकीय सेवा पनि उपलब्ध गराउनुहुन्छ ।’

एकै दिन हजारको स्वाब

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एकै दिन हजार जनाको स्वाब संकलन गरेको छ । जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमा चिकित्सक खटाएर प्रतिष्ठानले स्वाब संकलन गरेको हो । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार ६० वटै वडाबाट १०–१० जनाको स्वाब संकलन गरिएको हो । यस्तै शंकास्पदका साथै भारत र खाडी मुलुकबाट आएकाहरू पनि स्वाब संकलन गरिएको छ ।  

प्रतिष्ठानले सबैको स्वाब परीक्षण गरेर एकै पटक रिपोर्ट सार्वजनिक गर्ने जनाएको छ । ‘प्रत्येक स्थानीय तहमा दुई जनाको चिकित्सकीय टोली खटाएर स्वाब संकलन गरेका हौं,’ रजिष्ट्रार काफ्लेले भने, ‘एकै दिनमा हजार जनाको स्वाब संकलन गर्न सफल भयौं ।’

प्रतिष्ठानमै पिसिआर मेसिन आएकोले स्वाब परीक्षणका लागि बाहिर जानुपर्दैन । संकलित स्वाबको परीक्षण रिपोर्टका आधारमा लकडाउनका विषयमा निर्णय लिइने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले १५ दिनभित्र १० हजार जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी थालेको छ । २७ ठाउँमा खटाइएका चिकित्सकसहितको स्वास्थ्यकर्मीहरूको टोलीले कर्णालीका प्रत्येक वडा १०–१० जना र भारतलगायतका बाहिरी देश र कोरोना प्रभावित जिल्लाहरूबाट आएका नागरिकहरूको स्वाब संकलन गर्ने र त्यसलाई कर्णालीमा रहेका तीन वटा पिसिआर मेसिनबाट परीक्षण गर्ने गरेर प्रदेश सरकारले कार्ययोजना सार्वजनिक गरेको छ ।

सामाजिक विकास मन्त्री दल रावलले २७ स्थानमा खटिएका चिकित्सकहरूको तीन दिनभित्र सम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मीलाई थ्रोट स्वाब संकलनका बारेमा प्रशिक्षण दिने बताए । ‘त्यसपछि थप तीन दिनमा नमुना संकलन गर्ने व्यक्तिको पहिचान गछौं,’ मन्त्री रावलले भने, ‘जेठ १२ गतेभित्र १० हजार जनाको परीक्षण रिपोर्ट एकै पटक सार्वजनिक गर्छौं ।’  

 

प्रकाशित: ३० वैशाख २०७७ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App