११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

डिआइजीको दरबन्दी कटौती, प्रहरीमा असन्तुष्टि

काठमाडौं - सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी कटौती गरेको छ। नेपाल प्रहरी संगठनमा प्राविधिकबाहेक २६ डिआइजीको दरबन्दी रहेकोमा सरकारले त्यसलाई घटाएर १४ कायम गरेको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट बिहीबार दिउँसो नेपाल प्रहरीमा डिआइजीको दरबन्दी १४ रहेको पत्र पुगेको हो। दरबन्दी कटौतीसँगै नेपाल प्रहरीभित्र असन्तुष्टिसमेत बढेको छ। हाल ७५ हजारको संख्यामा रहेको प्रहरी संगठनभित्र प्रहरी महानिरीक्षक एक, प्रशासनिक एआइजी तीन, प्राविधिक एआइजी एक र प्राविधिकसहित २६ डिआइजीको दरबन्दी रहेको थियो। निजामती प्रशासनको सचिवसरह आइजिपी, एआइजी, सहसचिवसरह डिआइजी भए पनि सरकारले नेपाल प्रहरीको उच्च तहको दरबन्दी यसरी कटौती गरिएपछि प्रहरी सेवाप्रतिको आकर्षण नै घट्ने प्रहरी अधिकारीहरूको भनाइ छ। 

यसअघि गृहमन्त्रालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञावालीसँग प्रहरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) प्रस्ताव मागेको थियो। तर मन्त्रिपरिषद् बैठकले सो प्रस्तावबिनै दरबन्दी कटौती गरिदिएको छ। डिआइजीको दरबन्दी कटौती भएसँगै माथिल्लो तहको दरबन्दी विवाद देखिएको छ। प्रहरी महानिरीक्षक नियुक्तिका बेला देखिने दरबन्दी विवाद यसपल्ट डिआइजी बढुवाको बेला देखिएको हो। गृहमन्त्रालयले डिआइजीको १० दरबन्दी कटौती गर्ने जनाएपछि प्रहरी मन्त्रालय र प्रहरी संगठनबीच विवाद देखिएको थियो। अहिले नेपाल प्रहरीका प्राविधिकसहित ३४ डिआइजीको दरबन्दी रहेको छ। गृहमन्त्रालयले प्राविधिकबाहेक २५ वटा दरबन्दीमध्ये १० घटाएर १५ मात्रै कायम गर्न खोजेको छ।

एउटै तहबाट कोही आइजिपी हुने र कोही एसएसपीबाटै घर जाने अवस्था आए संगठनको चक्रमै अप्ठेरो पर्छ, त्यसको असर फिल्डमा पर्छ ।

अहिले डिआइजी घटाउँदा धेरै प्रहरीको वृत्ति–विकासमा असर पर्ने भएकाले त्यसलाई नघटाउन प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले आग्रह गरे पनि उनले अडान भने लिन सकेनन्। ‘हाल प्रहरी निरीक्षकको भर्ना हुँदा एक सय ५० भन्दा बढी लिइन्छ यदि यही अवस्था रहे एउटै ब्याचबाट डिएसपीदेखि आइजिपीसम्मका हुन्छन्, यसले प्रहरी संगठनलाई झन् भद्रगोल बनाउँछ,’ एक प्रहरी अधिकारीले भने। संगठनमा कुनै पनि दरबन्दी थप्न तथा घटाउन ओ एन्ड एम सर्वेक्षण गर्नुपर्ने प्रहरी नियमावलीमा प्रावधान छ । यसरी दरबन्दी घटाउँदा त्यस्तो कुनै सर्वेक्षण नै भएको छैन । ‘प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच डिआइजी दरबन्दी कटौतीबारे पहिलेदेखि नै विवाद भइरहेको थियो। प्रहरी नेतृत्वले राम्रोसँग बुझाउन नसक्दा यो अवस्था आएको हो,’ प्रहरी प्रधानकार्यालयका एक उच्च अधिकारीले भने। 

उनका अनुसार यसको असर तल्लो तहमा समेत पर्नेछ। अहिलेको विवाद मिलाउन कतिपय दरबन्दी केही महिनापछि लागू हुने गरी कार्यान्वयन गर्नेबारे समेत छलफल चलिरहेको छ। डिआइजीको दरबन्दी तय नहुँदा प्रहरीमा बढुवा रोकिएको छ । हाल चारमात्र डिआइजी छन् । सातमध्ये ६ प्रदेश निमित्तका भरमा चलेका छन्। बिहीबार गृहमन्त्रालयलाई प्राप्त भएको पत्रअनुसार अब १० जना एसएसपीहरू मात्रै बढुवा हुनेछन्। बढुवाको मुखमा रहेकाहरू एसएसपीबाटै अवकाश पाउने अवस्थासमेत आउने सम्भावना छ। सरकारको यो निर्णयले राजीनामा बढ्ने र भर्नामा आकर्षण घट्ने प्रहरी अधिकारीको चिन्ता छ। प्रहरी निरीक्षकमा भर्ना भएकाहरूमध्ये कोही आइजिपी कोही एआइजी, कोही डिआइजी र कोही एसएसपीबाट घर जानुपर्ने अवस्था आउँछ, जसले गर्दा एउटै ब्याचीलाई संगठन प्रमुखले काम लगाउँदा त्यसको कार्यान्वयन तह फितलो हुनेछ। ‘एउटै तहबाट कोही आइजिपी हुने कोही एसएसपीबाटै घर जाने अवस्था आए संगठनको चक्रमै अप्ठेरो पर्छ, त्यसको असर फिल्डमा पर्छ,’ एक प्रहरी अधिकारीले भने। 

उनका अनुसार सरकारले अहिले हतार गर्न नहुने थियो। यसबाट संकटको बेलामा परिचालन गर्नुपर्ने प्रहरीको मनोबल खस्काउने काम भएको छ। तल्लो दर्जालाई समेत मनोबल उकास्ने काम गर्नुपर्ने बेलामा कमान्डरहरूको मनोबलसमेत खस्काउने काम भएको पूर्व प्रहरी अधिकारीहरूको दाबी छ। डिआइजी हुनका लागि नेपाल प्रहरीमा ९८औं ब्याचका र वैकल्पिक एसएसपीहरू दौडधुपमा रहेका बेला मन्त्रालयले कटौती गर्ने जनाएपछि अहिले उनीहरू तनावमा छन्। ९८औं ब्याचमध्येबाट आइजिपीका वैकल्पिकबाट पनि आइजिपीको दाबेदार भइसक्दा पनि एसएसपीमै रहेकाहरू डिआइजीसमेत हुन नपाउँदा स्वाभाविक रूपमा तनावमा परेका हुन्। ९८औं ब्याच र वैकल्पिक ब्याचमा ९७ जना अधिकृत छन्। हाल एआइजी शैलेश थापाको टोली २०४९ वैशाख १९ गते भर्ना भएका थिए।

वैकल्पिक ब्याचबाट डिआइजी भइसकेका विश्वराज पोखरेल यसअघि नै डिआइजी भइसकेका छन्। २०७४ साउन १९ गतेको बढुवामा पोखरेलपछि प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की घनश्याम अर्याल र पुरुषोत्तम कँडेल, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, दिवेश लोहनी, वसन्तकुमार लामा, रविन्द्र धानुक, सहकुल थापा बढुवाको प्रतिस्पर्धामा रहेका छन्। दिलीप चौधरी, गणेश ऐर, देवबहादुर बोहोरा, राजेशलाल कर्ण, अरुणकुमार बिसी, रामकृपाल शाह पनि प्रतिस्पर्धी हुन्।

प्रकाशित: २८ चैत्र २०७६ ०९:२९ शुक्रबार

डिआइजी दरबन्दी सरकार