६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अनुमति एकातिर काम अर्कैतिरः विभिन्न बहानामा धर्म प्रचार गर्दै विदेशी नागरिक

गोरखा - कोरियन नागरिक एनवान सुक छ वर्षदेखि गोरखाको गण्डकी गाउँपालिकास्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन्। चितवनमा काम गर्ने गरी नेपाल आएका सुक गोरखाको गण्डकी गाउँपालिका ७ बालुवटारमा घर बनाएर बसेका छन्।

उनको नेपाली नाम हिरालाल गुरुङ हो। ३० भन्दा बढी घरधुरीलाई धर्म परिर्वतन गराएको आरोप उनलाई छ। लामो समयदेखि किन र कसरी त्यहाँ बसिरहेका छन् भन्ने कसैले चासो दिएन। चार जना जापनिज नागरिक ८ बर्षदेखि जापान आउजाउ गर्ने र गोरखामा बसेर क्रिस्चियन धर्म प्रचार गर्दै आएका थिए।

उनीहरु नेपाली राम्रोसँग बोल्ने, नेपाली नम्बर प्लेटको मोटरसाइक चलाएर धर्म प्रचार गर्दै हिड्ने गरे पनि उनीहरु के काम गरेर बसिरहेका छन् भनेर प्रशासनले लामो समय सम्म चासो गरेन। सिनो सिकारा, सिनो कन्को, मिसा तोमिनागा, सोरी तोमिनागा दुई महिला÷दुई पुरुष पोखरामा क्याम्पस पढ्न भनेर नेपाल आएका रहेछन्। तर उनीहरुको बसाई गोरखा केन्द्रित थियो। सँधै चर्चमा जाने मानिस जम्मा पार्ने, बालवालिकालाई खानेकुरा, खेलौना किनिदिने, घर÷घरमा धर्म संम्बन्धि पर्चा पम्पलेट बाँड्ने उनीहरुको दैनिक काम थियो।

‘बिदेशी आएपछि हामी किन, के प्रयोजनका लागि कसरी आएको छ भने सोधखोज गर्दैनौँ’ गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ‘पाहुनाका रुपमा सम्मान गर्ने हाम्रो परिपाटी छ, तर सबै एउटै खाले उद्देश्यले नआएको हुन सक्छ।’ अहिले जिल्ला प्रशासन कार्यालय गोरखाले बिदेशी नागरिक कुन प्रयोजनका लागि यहाँ आएका र के गरिरहेका छन् भने खोजतलास गर्न थालेपछि भिजा अनुमति एउटा आउने र काम अर्कै गर्ने भेटिएको हो।

अहिले सम्म १७ जना बिदेशी फरक प्रयोजनको काम गरेर बसेको तथ्य खुलेपछि प्रशासनले उनीहरुलाई जिल्लाबाटै निकाला गरेको छ। ‘हामीले खोजी गरिरहेका छौँ, भेटिएजती सबैलाई एक हप्ता भित्र छाड्न भनेका छौँ, एक दुई जना बाँकी होलान् धेरैले छाडिसके’ प्रजिअ पौडेलले भने।

ताईवानी नागरिक हेसिङचेङ मिङ ५ वर्षदेखि गोरखा नगरपालिका ५ स्थित नेपाल मगर संघको भवन भाडामा लिएर बस्दै आएका थिए। बालवालिकालाई जम्मा पारेर चिनियाँ भाषा सिकाउँदै आएका उनीसँगै हुङतिङ उओ, पर्यटक भिसामा आएर उनीसँगै सहयोगीको रुपमा थिए। पर्यटक बनेर आएका ति बिदेशी शिक्षकको भेषमा संकास्पद गतिविधिमा संलग्न रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

अन्यत्रै काम गर्ने र घुम्ने प्रयोजनमा आएका आठ जना चिनियाँ नागरिकलाई गोरखाको आरुघाट गाउँपालिका ३ सोतीबाट पक्राउ गरी अध्यागमन बिभाग बुझाइएयो। नौलो नेपाल हाईड्रो पावर कम्पनी अन्र्तगत अपरबुढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका उनीहरुसँग त्यहाँ काम गर्ने अनुमति नै थिएन। लुकिचोरी काम गरिरहेका उनीहरु त्यहाँबाट लखेटिए। ट्याङ गुवाङलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ चिनियाँ नागरिक थिए।

दुई जना जर्मनी नागरिक एक महिनादेखि गोरखाको आँपपिपल अस्पतालमा बस्दै आएका छन्। उनीहरु त्यहाँ कसरी उपचार हुन्छ भन्ने बुझ्न, अध्ययन गर्न बसेको अस्पतालले जनाएको छ। डोमिनिक भेलिन्टीन ट्रोस्ट र फोल्र डेक यसरी बस्दै आएका हुन्। उनीहरु उपचार पद्धती बुझ्ने भनेर बसेका छन्। यहाँ अहिले मात्र होइन पटक–पटक बिदेशीहरु आएर बस्ने गर्छन्।

बिदेशी नागरिक किन बसिरहेका छन् भन्ने बारे यकिन नभएपछि धर्म प्रचार मूख्य ऐजेण्डा रहेको निश्कर्ष प्रशासनका कर्मचारीहरुको छ। ‘अधिकाशं धर्म प्रचार लगायतको शंंकास्पद गतिविधिमा संलग्न रहेको भेटिएपछि हामीले जिल्ला प्रशासन कार्यालयमा कागजात सहित बोलाएर जिल्ला छाड्न भनेका हौँ’ प्रजिअ पौडेलले भने।

भिजामा उल्लेख भएको भन्दा फरक प्रयोजनका लागि बिदेशी बसेको भेटिएपछि जिल्ला प्रशासन कार्यालयले खोजी तिब्र बनाएको छ। जुन प्रयोजनका लागि नेपाल भित्रिएको हो। सोही काम वा ठाउँमा रहनुपर्ने भएकाले अवैध रुपमा बसेकाहरुले जिल्ला छाड्न थालेका छन्।

सम्बन्ति समाचारः टुरिस्ट भिसामा आएकाहरु घर भाडामा लिएर धर्म प्रचारमा

प्रकाशित: २९ फाल्गुन २०७६ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App