८ वैशाख २०८१ शनिबार
समाज

'टुरिस्ट भिसा'मा आएकाहरु घर भाडामा लिएर धर्म प्रचारमा

गोरखा- जापानबाट नेपाल पढ्न आएको बाहनामा विद्यार्थी र पर्यटक बनेर धर्म प्रचारमा लामो समयदेखि केही व्यक्ति बस्दै आएको तथ्य खुलेको छ। पोखराको शिवसक्ति क्याम्पसमा शिक्षा संकाय अध्ययन गर्ने विद्यार्थीको रुपमा आएका दुई जना जापानी नागरिक लामो समयदेखि गोरख बसेर धर्म प्रचार गरिरहेका छन्। दुई जना भने पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न रहेको खुलेको छ।

उनीहरु पढ्न आएको, पोखरामा क्याम्पस भर्ना गरेको बताए पनि सधै गोरखा सदरमुकाम र यहाँका चर्चहरुमा भेटिन्छन्। आठ वर्षअघिदेखि जापान आउजाउ गर्ने, विद्यार्थीको भेषमा क्रिस्चियन धर्म प्रचारमा उनीहरु लाग्दै आएका छन्। कागजातमा पोखरामा पढ्ने देखिए पनि उनीहरुले गोरखा सदरमुकाममा घर भाडामा लिएर लामो समयदेखि बसिरहेका स्थानीय बताउँछन्।

जापानी नागरिक सिनो सिकारा, सिनो कन्को, मिसा तोमिनागा, सोरी तोमिनागा गोरखा बस्दै आएका छन्। सिनो कन्कोको डिपेन्डेन्ट भिसामा सिकारा बस्दै आएका छन्। उनको काम पनिसँगै धर्म प्रचार गर्ने हो। उनीहरु गोरखा नगरपालिका ७ मा रहेको योहोब्वाको साक्षी (चर्च) मा बाईवल पढ्ने, भाषण गर्ने, स्थानीयलाई जम्मा पारेर धर्मको बारेमा प्रचार गर्ने गर्छन्। उनीहरु क्रिस्चियन धर्मको प्रचार, किताब बाँड्दै घरघरमा हिड्छन्।

मिसा तोमिनागा पर्यटक भिसामा गोरखा आएर धर्म प्रचार गरिरहेका छन्। उनले गोरखा नगरपालिका ७ सतिपिपलमा एक स्थानीयको घर भाडामा लिएर बस्दै आएका छन्। पर्यटक भिसाका व्यक्ति लामो समयसम्म घर भाडामा लिएर धर्म प्रचार गरेको स्विकार्छन्। सोरी तोमिनागा पनि पर्यटक भिसामा आएका छन्। हरेक वर्ष छदेखि सात महिना नेपाल र बाँकी समय जापान जाने गर्छन्। वर्षौँदेखि यो क्रम निरन्तर चलिरहेको छ।

उनीहरुले क्रिस्चियन धर्मसँग आवद्ध व्यक्तिहरुसँग हिचमिच बढाउँछन्। आर्थिक अवस्था कमजोर भएकाहरुको परिवारमा बिभिन्न सहयोग गर्ने बाहनामा धर्म परिवर्तन गराउन बाध्य पारेको आरोप पनि उनीहरुलाई लाग्ने गरेको छ। मोटरसाइकल लिएर चर्चमा धाउने, पास्टरकहाँ आउजाउ गर्ने क्रियाकलापमा यो समूह सक्रिय छ। टुरिस्ट भिसामा आएकाहरु घुम्न जाँदैनन् भने पढ्न आएकाहरु कलेज नै जाँदैनन्। कागजात मिलाउन मात्रै उनीहरु क्याम्पस भर्ना भएको देखिन्छ भने पर्यटक भिसा लम्ब्याउन केही महिनाको अन्तरालमा जापान–नेपाल आउजाउ गर्छन्।

गोरखाको गण्डकी गाउँपालिकामा कोरियाली नागरिक अनवन सुक छ वर्ष यता नेपाल बस्दै आएका छन्। चर्च बनाउने, भवन सहयोग गर्ने बाहनामा बाईवल पढाउने, लत्ताकपडा, बालबालिकालाई खेलौना दिने गर्दै उनले धर्म प्रचार गरिरहेका छन्। स्थानीयलाई धर्म परिवर्तन गर्न बाध्य गराउँदै आएका उनले गण्डकी गाउँपालिका ७ को सुकुम्बासी टोलमा जग्गा भाडामा लिएर घर बनाएर बसेका छन्। उनले घरमा आएकाहरुलाई क्रिस्चियन धर्मको प्रचार र परिवर्तन गराउने गरेको तथ्य खुलेको छ। उनले चर्च पनि बनाइरहेको स्थानीय बताउँछन्।

गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शंकास्पद व्यवाहार देखिएका विदेशी नागरिकलाई प्रशासनले निगरानी राखेको बताए। ‘चार जना जापानी नागरिकहरुको गतिविधिमा शंका लागेर एक हप्ताभित्र जिल्ला छाड्न भनेका छौँ’ उनले भने ‘भिसामा नेपाल बस्न पाउँछन्, कागजात ‘भ्यालिड’ देखिएको छ, तर गतिविधि र प्रयोजन शंकास्पद छ’ उनले भने।

गोरखामा अहिले दुई सय भन्दा बढि चर्च छ। दलित, सिमान्तकृत समुदायको बाहुल्यता रहेको ठाउँमा चर्च धेरै निर्माण हुने गरेको छ। धर्म प्रचारकहरुले कमजोर समुदायका मानिसलाई लोभ लालच देखाएर धर्म बदल्न लगाउने गरेको पाईन्छ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App