११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सडकमा बढ्दै अकाल मृत्यु

धनगढी - माघ १३ गते हुने निश्चय भएको आफ्नै विवाहको कार्ड बाँड्न हिँडेकी कञ्चनपुर भीमदत्त नगरपालिका– १६ गोबरियाकी २० वर्षीया रमिता भट्टलाई बिहीबार महेन्द्रनगरको चम्मन चोकमा टिपरले ठक्कर दियो। ठक्कर दिएसँगै टिपरको पछाडिको टायरले टाउको किच्दा उनको घटनास्थलमै मृत्यु भयो। उनको यो असामयिक निधनको घटनाले उनका आफन्तमात्र नभई भीमदत्त नगरपालिका नै शोकाकुल बनेको छ।

तिम्रा लागि रातो साडी ल्याइदिएको छु, पर्सि हाम्रो विवाह हो, कहाँ छ्यौ, छिटो आऊ भन्दै उनीसँग विवाहको तयारीमा रहेका कञ्चनपुरका प्रकास टेरले फेसबुकमा भावुक हुँदै स्टाटस लेखेका छन्, ‘मलाई बीचमा किन छोड्यौ, मैले यति लामो वाटो एक्लै कसरी हिँड्ने ?’

टिपर चालकको गल्तीका कारण भट्टको मृत्यु भएको भन्दै आक्रोसित स्थानीयले प्रदर्शन गर्दा बिहीबार साँझसम्म महेन्द्रनगर तनावग्रस्त रह्यो। गत सोमबार (माघ ६ गते) एकै दिन कैलालीमा दुई जनाको मृत्यु भयो। कैलारी गाउँपालिका– ८ मा बयलगाडाले ठक्कर दिँदा स्थानीय ६७ वर्षीय भगतराम कठरियाको मृत्यु भयो भने कैलालीको लम्कीचुहा– २ गणेशपुरमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा लम्कीचुहा–६ का ३१ वर्षीय रतन विकको मृत्यु भयो। आक्रोसित स्थानीयले पूर्व–पश्चिम राजमार्ग केही घण्टा अवरुद्ध गरे।

माघ १ गते भजनी–८ कि ६० वर्षीया कुन्ती चौधरी काम विशेषले घरबाहिर निस्केर सडकमा हिँडिरहेकी थिइन्। तीव्र गतीमा आएको मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भयो। माघमा एक साताको अवधिमा भएका यी प्रतिनिधिमूलक घटनामात्र हुन्। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बढ्दो दुर्घटना र ठक्करले सडक धेरै असुरक्षित बनेको छ।

सवारीसाधनमा यात्रा गर्ने मात्र नभई पैदल हिँड्ने यात्रुसमेत आफ्नै घर–आँगन र सडकमा असुरक्षित बनेका छन्। सवारीसाधनको ठक्करले निरन्तर अकाल मृत्यु हुनेको संख्या बढ्दो छ। बयलगाडा, मोटरसाइकल, इलेक्ट्रिक रिक्सा, माइक्रोबस, बस, ट्रक, टिपरलगायत सवारीसाधनको ठक्करबाट प्रत्येक महिना सडकमा हिँडिरहेका कसै न कसैको अकालमै मृत्यु हुनेगरेको छ। ‘सडक यति धेरै असुरक्षित भएका छन् कि घरबाट बाहिर बजार अथवा अन्यत्र कतै निस्केको मान्छे राम्रो अवस्थामा घर फर्कन्छ कि फर्किदैन भन्ने अवस्था भएको छ,’ स्थानीय दलबहादुर बोहराले भने, ‘आफ्नै घर आँगनअगाडि पनि हिँड्न डर लाग्ने अवस्था छ।’

मंसिर पहिलो साता कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा साँझ घरनजिक पैदल हिँडिरहेका देवराम टमटाको से१ज ७३९ नम्बरको जिपले ठक्कर दिँदा मृत्यु भयो। कात्तिक १४ गते साँझ कैलालीको बौनियाँमा तीव्र गतिमा रहेको बसले ठक्कर दिँदा दुई बालकको मृत्यु भयो। कैलालीको पूर्व–पश्चिम राजमार्गमा मात्र सवारीसाधनले पटकपटक ठक्कर दिएर कयौंको अकाल मृत्यु हुने गरेको छ भने आक्रोसित स्थानीयको विरोधले पटकपटक राजमार्ग अवरुद्ध हुने गरेको छ।

‘घरबाट बाहिर निस्कन पनि डराउनुपर्ने अवस्था भइसक्यो हावाजस्तै हुँइकिएर आउने गाडीले ठोकिदिन्छन्, मार्छन्, जान्छन्,’ मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका गौरीगंगा नगरपालिका–२ की लक्ष्मी विकले बताइन्। सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका अनुसार कैलाली र कञ्चनपुरमा पैदल हिँडिरहेका बेला सवारीसाधनले ठक्कर दिएर मृत्यु हुनेको संख्या बढ्दो रहेको छ। कात्तिकयता तीन महिनामा गाडीको ठक्करले र दुर्घटनामा परी ४६ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहन सिंह धामीले बताए।

कैलालीमा अत्तरियादेखि कर्णाली पुल चिसापानीसम्म एक दर्जनभन्दा बढी बजार र बस्ती छन्। यसैगरी अत्तरियादेखि महेन्द्रनगरसम्म पनि आधा दर्जनभन्दा बढी बजार र बस्ती छन्। ती बजार र बस्ती नजिकमा तीव्र गतिमा सवारीसाधन चलाउँदा बालबालिकादेखि वृद्धवृद्धासम्म दुर्घटनाको उच्च जोखिममा छन्।

बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा वन्यजन्तुको सुरक्षाका लागि प्रतिघण्टा ४० किलोमिटर गतिमा मात्र गाडी कुदाउन पाइने नियम भए पनि निकुन्जसहित सर्वसाधारणको चहलपहल हुने बस्ती तथा बजार क्षेत्रमा मनपरी ढंगले सवारीसाधन कुदाउँदा असुरक्षा बढेको स्थानीय बताउँछन्।

निकुञ्ज, बजार र बस्ती क्षेत्रमा तीव्र गतिमा सवारीसाधन चलाउने अवस्था नियन्त्रण गर्न विभिन्न प्रयास थालिएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ बताउँछन्। श्रेष्ठका अनुसार बजारमा पोस्टरिङ, चालकलाई सचेत गर्नेलगायत काम भरहेको छ। चालकले तीव्र गतिमा चलाउनु, बजार, बस्तीनजिक हिँड्ने पैदलयात्री तथा सर्वसाधारणले पनि सचेत नहुनुले दुर्घटना बढेको उनको भनाइ छ। बजार क्षेत्रमा जथाभावी पार्किङ गर्नाले पनि दुर्घटना हुने गरेको उनले बताए। बजार र बस्तीमा तीव्र गतिमा सवारीसाधन चलाउन नपाइने बाध्यकारी अवस्था बनाइनुपर्ने स्थानीय बताउँछन्। ‘बजार, बस्तीमा तीव्र गतिमा चलाउनेलाई दण्ड दिने प्रावधान गरिनुपर्छ,’ स्थानीय किशोर जोशीले भने।

सुदूरपश्चिममा सवारीसाधन दुर्घटनामा ज्यान गुमाउने संख्या चिन्ताजनक ढंगले बढ्दै गइरहेको छ। प्रदेश ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा सवारी दुर्घटनामा एक सय २१ जनाको मृत्यु भएकोमा २०७३/०७४ मा एक सय ३२ र २०७४/०७५ मा एक सय ६६ जनाको मृत्यु भएको छ। यसैगरी वर्ष २०७५/०७६ मा दुई सय २३ जना र चालु आर्थिक वर्षमा अहिलेसम्म ७२ जनाको मृत्यु भइसकेको छ।

सडक धेरै असुरक्षित र घरबाहिर निस्कन नै नसकिने अवस्था भएकाले राज्यका निकायले विशेष ध्यान दिनुपर्ने इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीले बताए। ट्राफिक प्रहरीले ठाउँठाउँमा उभिएर जाँच गर्ने गरे पनि सडकलाई सुरक्षित बनाउन प्रभावकारी रूपमा पहल गर्न नसकेको उनको भनाइ छ।

प्रकाशित: १२ माघ २०७६ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App