२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सरकारको हेलचक्र्याइँले पदयात्रा जोखिमपूर्ण

खेतको आलीमा भेटिएको चन्दननाथ मन्दिरको मुख्य मूर्ति। तस्बिर : नागरिक

पोखरा – २०७१ असोज अन्तिम साता अन्नपूर्ण फेरोको पदमार्ग क्षेत्रमा आएको हिमआँधीमा परी स्वदेशी र विदेशी गरी ४२ जनाले ज्यान गुमाए र कैयौं घाइते भए। ‘हुदहुद’ नामको त्यो हिमआँधीपछि पर्यटन क्षेत्रमा एउटा आवाज सशक्त रूपमा उठ्यो– पदयात्रा क्षेत्रमा अग्रिम सूचना दिने प्रणालीको मात्र अभाव छैन, मौसमबारे जानकारी दिलाउने निकाय पनि कमजोर छ।

६ वर्षअघिको त्यो समस्या तत्काल सल्टाउन कुनै निकायले तदारुकता देखाएन। हुदहुदको त्यो विनाशकारी घटनापछि समस्या उजागर गर्नमा त चासो देखाइयो तर समाधानका लागि कोही तत्पर भएनन्। अन्नपूर्ण फेरो मात्र नभई नेपालका सबैजसो साहसिक पदयात्रा हुने क्षेत्रमा यस्ता समस्या रहेको भन्दै बारम्बार छलफल गरिए पनि हालत उही छ। अग्रिम सूचना दिन ‘साइरन’ जडान र सञ्चार सम्पर्क गराउन आवश्यक प्रविधि विस्तारका लागि भनेर पर्याप्त छलफल चलाए पनि कुनै काम हुन सकेन।

त्यतिबेलाको समस्याबारे कसैले चासो नदिँदाको परिणाम हो– गत शुक्रबार अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपात र क्षति। हिमपहिरोमा परेका चार कोरियाली र तीन नेपाली गरी सात पदयात्री अझै सम्पर्कविहीन छन्। अधिक हिमपात भएको र हिउँ पर्न नरोकिएकाले तत्काल उनीहरूलाई फेला पार्न कठिनाइ रहेको पदयात्रा व्यावसायीले बताएका छन्।

प्राकृतिक रूपमा उत्पन्न यस्ता घटनाका कारकबारे जानकार हुँदाहुँदै समस्या समाधानका चासो नदिइएकोबारे पर्यटन व्यावसायी भन्छन्, ‘सरकारले पदयात्रा क्षेत्रमा भरपर्दो सूचना दिने संयन्त्र विस्तारमा बेवास्ता ग-यो। अलर्ट सिस्टम राख्न कतैबाट पहल भएन।’ विपद्को अग्रिम सूचना दिने साइरनजस्ता प्रविधि जडानमा चासो दिइएन। हिमाली क्षेत्रको मौसमबारे अग्रिम रूपमा उपलब्ध गराउन सरकार चुक्दा यस्ता समस्या दोहोरिइरहेका छन्।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएनस अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल सरकारले पदयात्रा क्षेत्रमा भरपर्दाे सूचना दिने संयन्त्र राख्न पुरै बेवास्ता गर्दा यस्ता समस्या आउने गरेको बताउँछन्। ‘नेपालका साहसिक पदमार्गको भौगोलिक क्षेत्र जोखिमपूर्ण छ भन्ने सरकारलाई थाहा छ,’ भुजेलले भने, ‘तर ती क्षेत्रमा आवश्यक सूचना दिने संयन्त्र राख्न चासो नै दिएन। समस्या पहिचान हुँदाहुँदै पनि सम्बन्धित निकायले कहिल्यै पहल गरेनन्। अरू त परै जाओस्, पदयात्रा क्षेत्रमा मोबाइल सेवासमेत सहज छैन।’

उपयुक्त मौसमी विवरणबारे पनि अग्रिम रूपमा जानकारी नपाउने गरेको उनले बताए। ‘मौसमी विवरणमा पहिलेभन्दा केही छिटो जानकारी त आउने गरेको छ। तर पदयात्रामा गइसकेका पर्यटकलाई फिर्ता बोलाउन सक्ने अवस्था रहन्न,’ उनले भने, ‘गन्तव्यमा पुगिसकेको अवस्थामा पनि समस्या आउने गरेको छ। गन्तव्यमा पुगेर फर्किने बेलामा पनि जोखिममा पर्ने गरेका छन्। अन्नपूर्ण क्षेत्रमा गत शुक्रबार गन्तव्यमा पुगेर फर्किंदै गर्दा पर्यटक अप्ठेरोमा पर्यटक परेका हुन्।’

टानका विपद् व्यवस्थापन टोलीका संयोजक दीपक अधिकारी मौसमी विवरण जानकारी पाए पनि विपद् आउँदा अग्रिम जानकारी दिनेगरी ‘साइरन’ राख्न नसक्दा यस्ता समस्या आउने गरेको बताउँछन्। ‘कहिलेकाहीं त मौसमी विवरण सर्कुलर गराउँदागराउँदै पनि समस्या आइपर्छ,’ उनले भने, ‘किनकि नेपालको पदयात्रा क्षेत्र नै जोखिमपूर्ण छ। पछिल्लो समय त जलवायु परिवर्तनले गर्दा यस्ता जोखिम अझै बढ्ने खतरा छ।’ चर्चित पदयात्रा क्षेत्रमा जाने पदयात्रीका लागि आवश्यक सूचना दिने संयन्त्र, अप्ठेरो आइपर्दा अग्रिम जानकारी दिने सूचना प्रणाली विस्तार गर्न जरुरी रहेको उनले बताए।

‘नेपालका सबैजसो पदमार्ग अनकन्टार पहाड क्षेत्रमा चल्छन्। पछिल्लो समय अधिक हिमपातसँगै पानी पर्न थालेकाले पनि अब झनै सचेत हुनु जरुरी छ,’ उनले भने, ‘मौसमी विवरण थाहा पाएर मात्र पनि समस्या समाधान हुँदैन। किनकि अधिकांश पदमार्ग अनकन्टार क्षेत्र हुँदै आउजाउ गर्नुपर्दा मोबाइलबाट समेत सम्पर्क गर्न सकिन्न। अधिक हिमपात हुँदा त पदमार्ग क्षेत्र पुरै सञ्चार सम्पर्कबाट विच्छेद हुने गरेको छ।’ हिमपातपछि अवरुद्ध अन्नपूर्ण आधारशिविर क्षेत्रको पदमार्गमा अझै सञ्चार सहज नभएको उनले बताए।

पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा मौसम पूर्वानुमानबारे जानकार भए पनि कुन तहसम्मको हिमपात हुन्छ भन्ने अनुमान गर्न नसक्दाको अप्ठेरो अहिले अन्नपूर्ण क्षेत्रले भोगेको बताउँछन्। ‘मौमसी विवरणबारे अग्रिम जानकारी पाए पनि यति धेरै हिमपातको अनुमान गर्न नसक्दा यस्तो क्षति भएको हो,’ सापकोटा भन्छन्, ‘मौसमी विवरण दिए पनि कुन तहसम्मको हिमपात भन्ने अनुमान गर्न नसकिने हुँदा अप्ठेरो परेको हो।’ मौसमी विवरण थाहा पाएपछि जोकोही सचेत पनि हुनुपर्ने उनले बताए। कहिलेकाहीँ व्यावसायी र पर्यटक दुवै निकायले मौसमी विवरण बेवास्ता गर्दा यस्तो क्षति हुने गरेको सापकोटाले बताए।

सापकोटाका अनुसार अहिले पनि अन्नपूर्ण क्षेत्रका कपितय भागमा स्याटेलाइट फोनबाट मात्र सम्पर्क हुन्छ। पदमार्गका सबै ठाउँमा सहज मोबाइल फोन सेवा छैन। ‘बिग्रँदो मौसमी विवरण थाहा पाएपछि पदयात्रामा रहेका पर्यटकलाई रोक्न पनि सकिन्छ। जोखिमपूर्ण अवस्थामा पर्यटकलाई पठाउनै हुन्न,’ उनले भने, ‘मौसमी विवरण हेरेर सरकारी निकायले पनि पदमार्गमा केही समयका लागि रोक लगाउन सक्छ। मौसम बिग्रँदो छ भन्ने थाहा पाएपछि पदमार्गमा प्रहरी राखेर भए पनि पदयात्रामा रोक्न सकिन्छ। त्यस्तो रोक्ने प्रावधान नहुँदा पनि क्षति हुने गरेको छ।’ हिमाली क्षेत्रको पदयात्रामा जाँदा सकेसम्म एक्लै नहिँड्ने, समूहमा मात्र आउजाउ गर्ने, समस्याको संकेत पाउनासाथ पदयात्रा रोक्ने, पदयात्रा क्षेत्रबारे जानकारी दिने उपकरण बोक्ने गर्दा पनि यस्ता समस्या कम हुने सापकोटाको भनाइ छ।

भूगर्भविद् श्रीकमल द्विवेदी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढ्दै गएकाले सम्भावित हिमपहिरो आउने क्षेत्रमा अग्रिम सूचना दिनेगरी ‘अलर्ट’ सिस्टम राख्नुपर्ने बताउँछन्। मौसमी विवरण पनि क्षेत्र तोकेर दिन सकियो भने अझै प्रभावकारी हुने उनले बताए। ‘पदयात्रा क्षेत्रमा हेलचेक्रयाइँ र मान्छेको जीवनसँग खेलवाड गर्न पाइन्न,’ उनले भने, ‘त्यसैले पर्यटनबाट उठेको राजस्वलाई अलर्ट सिस्टममा खर्चनुपर्छ। भगवान् भरोसामा मात्र गरेर पर्यटन क्षेत्र चलाएर हुन्न।’ ठाउँठाउँमा अलर्ट सिस्टम राख्ने र मौसम बिग्रँदा पदयात्रामा जानै नपाउनेगरी स्थलमार्ग नै रोक्नुपर्ने पनि उनले बताए।

मौसमी हेलचेक्रयाइँ : मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान महाशाखाले पुस २९ गते बुलेटिन जारी गर्दै पश्चिमी वायुको प्रभावका कारण हिमपातको सम्भावना रहेको बताएको थियो। हिमाली क्षेत्रमा हिमपात र अन्यत्र वर्षा हुने भनेर महाशाखाले अग्रिम रूपमा विवरण जारी गर्दागर्दै पनि पदयात्रा सञ्चालन गर्दा क्षति भोग्नुपरेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए। ‘हिमपहिरो आउनुअगावै हामीले हिमाली क्षेत्रमा हिउँ पर्ने भएकाले सचेत हुनुपर्ने भनेर जानाकारी दिएका थियौ,’ पौडेलले भने, ‘तर पदयात्रा व्यवयासायीले त्यसको बेवास्ता गर्दा यो अवस्था आएको हो।’

महाशाखाले हिमाली क्षेत्रमा हिमपातको सम्भावना भनेर बुलेटिनमार्फत जानकारी दिए पनि पदयात्रा व्यावसायीले बेवास्ता गर्ने गरेको उनले बताए। ‘हामीले त हिमाली क्षेत्रमा व्यापक हिमपात हुन्छ भनेर भनिसकेका थियौं। पदयात्रा गराउँदा सचेत हुनसमेत भनेका हाैँ,’ पौडेलले भने, ‘तर हाम्रो त्यो सूचनाको पुरै बेवास्ता गरियो।’ आन्तरिक उडान गर्ने हवाई कम्पनीले महाशाखाको मौसमी विवरण लिएर सचेतना अपनाउने गरे पनि हिमाली क्षेत्रको पदयात्रा सञ्चालन गर्ने व्यवसायीले बेवास्ता गर्ने गरेको उनले बताए। ‘हामीले हिमपातको भोल्युम मात्र बताउन सक्ने हो। हिमपात हुन्छ, सचेत हुनु भनेकै थियौं,’ उनले भने, ‘चार/पाँच दिनको मौसमी विवरण हेर्नुपर्छ। अनि मात्र गन्तव्य तय गर्नुपर्छ।’

प्रकाशित: ७ माघ २०७६ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App