२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

त्रिवि सुधार्न उपकुलपतिको १५ बुँदे योजना

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटाले त्रिवि सुधार गर्न १५ बुँदे सुधार अभियान योजना ल्याएका छन्। त्रिवि साधारणसभामा उनले १५ बुँदे सुधार प्रस्तुत गर्दै त्रिविलाई प्राज्ञिक केन्द्रका रूपमा विकास गर्ने बताए।

योजनामा त्रिविको भौतिक पूर्वाधारमा सुधार गर्नेदेखि लिएर त्रिविको सुशासनसम्मका विषय छन्। उपकुलपति बाँस्कोटाले ल्याएको सुधार योजनामा त्रिवि परिसरलाई पर्खालले घेर्ने, सबै आंगिक क्याम्पसका राम्रा कक्षाकोठा, भवनमा जाने सडक पक्की, सुन्दर बगैंचा, व्यवस्थित पुस्तकालय तथा कक्षाकोठा मल्टिमिडिया प्रयोग गरिएको हुनुपर्ने उल्लेख छ।

त्रिविलाई अनुसन्धान विश्वविद्यालयका रूपमा विकास गर्नेसमेत बाँस्कोटाको योजना छ। यसका लागि त्रिविमा रहेका अनुसन्धान केन्द्रलाई उचित बजेट व्यवस्था गर्ने र त्रिविका अनुसन्धान केन्द्रलाई सरकारको प्रबुद्ध समूह ‘थिंक ट्यांक’का रूपमा विकास गर्ने उनको लक्ष्य छ।

उनी त्रिविमा निश्चित शैक्षिक पात्रोको व्यवस्था गरी त्यसलाई पालना गर्ने अभियानमा छन्। अहिले त्रिविको शैक्षिक पात्रो अव्यवस्थित छ। न समयमा परीक्षा सञ्चालन हुन्छ न त परीक्षाफल प्रकाशन नै। त्रिवि सुधार अभियानमा शैक्षिक पात्रोलाई कार्यान्वयन गरी परीक्षा प्रणालीमा व्यापक सुधार र विकेन्द्रीकरण गर्ने, तीन महिनाभित्र नतिजा प्रकाशनका लागि व्यवस्था गर्ने, प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयको व्यवस्था गर्ने जस्ता योजनामा समेटिएका छन्।

यस्तै, अभियानअन्तर्गत केन्द्रमा तीन हजार विद्यार्थी अट्ने मेघा हल बनाएर एउटै परीक्षा केन्द्र बनाउने योजना रहेको छ। सिसिटीभी जडान गरेर बनाइने मेघा हलमा बनेपछि उपत्यकामा रहेको क्याम्पसमा रहने परीक्षा केन्द्र हट्नेछन्।
उपकुलपति बाँस्कोटाले बजारमुखी, स्वरोजगारमूलक तथा देशको आवश्यकता अनुसारको जनशक्ति निर्माणमा जोड दिने प्रतिवद्धता व्यक्त गरे। ‘राष्ट्रका लागि कुन विधामा कति उच्च दक्षतायुक्त जनशक्ति आवश्यक पर्छ। सोही अनुसार दक्ष जनशक्ति उत्पादन गरेर राज्यलाई दिनेछौं,’ उनले भने, ‘यसका लागि मागअनुसार कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।’

उनले अभियानअन्तर्गत प्राध्यापकको क्षमता अभिवृद्धि गरी पेशाप्रति उत्प्रेरणा जगाउने कार्यक्रमसमेत सञ्चालन गर्ने जानकारी दिए। प्राध्यापकलाई अनुसन्धानमा सहभागी गराई विदेशी विश्वविद्यालयका प्राध्यापकसँग अनुभव आदानप्रदान कार्यक्रम र प्राध्यापकको व्यावसायिक उन्नयनका लागि कार्यक्रमसमेत गर्ने उनको भनाइ बताए। आंगिक तथा सम्बन्धन प्राप्त कलेजको प्रभावकारी नियमन गर्ने, नवीकरण नगर्ने कलेजको सम्बन्धन खारेज गर्ने र न्यून विद्यार्थी भएका विषयलाई मर्जर गर्नेसमेत नीति ल्याउने योजना छ।

यसैगरी उनले राष्ट्रिय योजना आयोग र त्रिविबाट उत्पादित जनशक्ति खपत गर्न संघसंस्थाको समन्वय तथा सरकार र उपभोक्तासँग समन्वय गरी पाठ्यक्रम परिमार्जन गर्दै जाने योजना छ। उच्च शिक्षातर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, विद्यार्थीका लागि खेलकूदको व्यवस्था गर्ने, दस प्रतिशत छात्रवृत्ति कोटालाई कडाइका साथ लागू गर्ने, त्रिविको सम्पत्ति पहिचान गर्ने, नियमन गर्ने, संरक्षण गर्ने र संस्थागत हितमा अधिकतम् प्रयोग गर्ने सुधार योजनामा समेटिएका छन्।

सुशासनमा जोड
नवनियुक्त उपकुलपति बाँस्कोटाले त्रिविभित्रका विकृति विसंगतिलाई हटाउँदै सुशासन बनाउने प्रतिबद्धता व्यक्त गरे। त्रिवि सञ्चालनका क्रममा रहेका नीति निर्माण, निर्णय कार्यान्वयन, आर्थिक लगायतका सबै क्षेत्रको पारदर्शिता कायम गर्ने आफ्नो सुधार नीतिमा उल्लेख गरे।

यस्तै, शिक्षकको मूल्यांकन गर्न एक एकाइ स्थापना गर्ने, त्रिविमा लामो समयदेखिको बेरुजु फछ्र्योट गर्न विशेष कार्ययोजना बनाउने, त्रिविको अभिलेखीकरणलाई व्यवस्थित बनाउने, निवृत्त विद्वानको सल्लाहकार समूह बनाउने तथा त्रिवि ऐन, नियम एवं विनियमको समयसापेक्ष परिमार्जन तथा संशोधन गर्दै कानुनी रूपमा विश्वविद्यालयलाई सबल बनाउने कार्ययोजनामा समेटिएका छन्।
बजेट २३ अर्ब

त्रिविको शुक्रबार बसेको सभाले रजिष्ट्रार डिल्लीराम उप्रेतीले पेस गरेको आव २०७६÷७७ का लागि २३ अर्ब पाँच करोड ८८ लाख ६८ हजार रूपैयाँ बराबरको बजेट पारित गरेको छ। नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पूँजीगत खर्च गरी कुल ८ अर्ब ५१ करोड ४५ लाख तथा विकासतर्फ ६१ करोड ८५ लाख रकम विनियोजन गरिएको छ। जसमा पूँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरिएको छ।

विश्वविद्यालय अनुदान आयोगबाट कुल १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान प्राप्त हुने र बाँकी त्रिविको आन्तरिक आम्दानीबाट व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ। गत आव २०७५÷७६ मा नेपाल सरकारबाट ६ अर्ब ७२ करोड ३८ लाख ५४ हजार अनुदान प्राप्त भएको थियो भने आव २०७४÷७५ मा ६ अर्ब ६७ करोड ६५ लाख अनुदान प्राप्त भएको थियो। त्रिविको आव २०७४÷७५ को वास्तविक खर्च १२ अर्ब ४६ करोड ५ लाख ५८ हजार रहेको थियो।
त्रिविअन्तर्गत ६२ वटा आंगिक र १ हजार ५३ सम्बन्धन प्राप्त क्याम्पस छन्।

प्रकाशित: १५ मंसिर २०७६ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App