३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

डुंगाघाटमा बन्न थाल्यो झोलुंगे पुल

खोटाङ – सदियौंदेखि डुंगा सञ्चालन भइरहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र उदयपुरको ताप्ली गाउँपालिकाको रूपटार जोड्न सुनकोसीमा झोलुंगे पुल निर्माण थालिएको छ। सरकारकै अनुदानमा उक्त झोलुंगे पुल निर्माण थालिएको हो। हालसम्म सो स्थानमा डुंगा सञ्चालनमा छ। दुई सय ८३ मिटर लामो उक्त पुल आगामी २०७७ फागुन २९ सम्म पूरा गर्नेगरी गत असोज १ गते सम्झौता गरिएको डिकुवा–रूपटार सस्पेन्सन डिभिजन कार्यालयका इन्जिनियर दिनविनोद खड्काले बताए।

लागत तीन करोड ७० लाख भए पनि निर्माण कम्पनी धुलिखेल/जगदम्बा/रुजन जेभीले दुई करोड ९५ लाखमा पुल निर्माणको ठेक्का पारेको हो। हाल झोलुंगे पुल निर्माणका ले–आउटको काम भइरहेको छ। पुल अभावमा हलेसी तुवाचुङ–२ डिकुवाका स्थानीय अहिले पनि डुंगाकै भरमा सुनकोसी वारपार गर्न बाध्य छन्। उदयपुरको कटारीलगायत बजारमा पुगेर नुनदेखि सुनसम्म ल्याउन डिकुवाका स्थानीयले जोखिम मोलेर डिकुवा–रूपटार (निबुवाटार) घाट प्रयोग गर्ने गरेको डिकुवाका वडा सदस्य घनश्याम राईले बताए। साबिकको डिकुवा–१ बाट घाट तरेपछि उदयपुरको रुपटार–यारी खोला–बेतेनी हुँदै कटारी पुग्न सकिन्छ। कटारी पुगेर आवश्यक सामग्री ल्याउन सबैभन्दा छोटो दूरी भएकाले डिकुवाका स्थानीयले जोखिम मोलेर डुंगायात्रा गर्दै आएको वडासदस्य राईले बताए।

डिकुवा–रूपटारघाटलाई यारी खोलामा खेती भएका डिकुवाका स्थानीयले बढी मात्रामा प्रयोग गर्ने गरेका छन्। डिकुवाको बाइटार, ओफ्लाङ, छ्वङपाङ, भुम्जु, डिकुवा, दाम्लीलगायतका स्थानीयले कटारीबाट चामल, नुनतेल, लत्ताकपडा, फलाम, मरमसलालगायत उपभोग्य वस्तु डुंगाबाटै तारेर घर ल्याउने गरेका छन्। मोटरबाइकसमेत डुंगामा हालेर तार्ने गरिएको छ। हिउँदमा डुंगाबाट वारपार भए पनि वर्षामा डुंगा ठप्प हुन्छ। डुंगा नचल्ने कतिपय ठाउँमा ट्युब प्रयोग गरेर नदी तर्ने गरिएको छ।

प्रकाशित: २ मंसिर २०७६ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App