१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हो मैले इन्धन बचाउने उपकरण बनाए

काठमाडौं– महाभुकम्प र त्यसपछि भएको नाकाबन्दी, सायदै कोही नेपालीले विर्सन सक्छ। सारा नेपालीलाई लागेको भुकम्पको घाउ आलै भएका बेला भारतले नेपालमा नाकाबन्दी लगायो। यी दुबै ठूला घटनाले धेरै नेपालीलाई निरुत्साहित गरे र अनगिन्ती समस्याहरुको थुप्रो पनि लगाए।

समस्यै समस्या निम्त्याएको नाकाबन्दीबाट सबै हरेस खाइरहेका थिए। भारतको अघोषित नाकाबन्दीको समयमा मुख्यत नेपालीले पेट्रोलियम पदार्थ र ग्याँसको चरम अभाव व्यहोरे। त्यही अभावले वुटवलका शिशिर जिसीलाई नयाँ खोजको लागि उत्प्रेरणा दियो। उनी भारतको बेङलुरुमा इन्जिनियरिङ गर्दै थिए। भुकम्पको समय उनी नेपाल आए। आपत विपतमा परेकालाई सहयोग पनि गरे। तर पेट्रोलियम पदार्थको अभावले उनलाई तनाव दिइरहेको थियो। धेरै जटिलता र समस्याले शिशिरमा एउटा सपनाको जन्म भयो।

पेट्रोल र डिजेलको आयातमा रोक लगाई गरेको नाकाबन्दीले सारा नेपालीलाई दुख दिइरहेको समयमा शिशिरको दिमागमा भने सवारी साधनको इन्धन बचाउ कसरी गर्ने भन्ने भुत चढ्यो। त्यही समस्याले उनलाई सवारी साधानको पेट्रोल डिजल बचाउने एक उपकरण बनाउन प्रेरणा दियो। उनी निरन्तर आफ्नो अनुसन्धानमा खटिए। र उनले बताए 'सक्स' अर्थात (शिशिर्स हाइड्रोजन अक्शिजन डिभायस)। यो उपकरण सवारी साधनमा लगाएपछि सवारी साधनले थोरै इन्धन खर्च गर्ने उनको दावी छ। यो उपकरणले ४० प्रतिशत पानी र ६० प्रतिशत पेट्रोल अथवा डिजेलले गाडी चल्न सक्ने उनको दावी छ। गुडिरहेका सवारी साधनमा लगाइएका इन्जिनले सय प्रतिशत पेट्रोल तथा डिजेलको प्रयोग गरिरहेको हुन्छ तर उनले बनाएको उपकरण इन्जिनमा जडान गरेपछि भने ६० प्रतिशत मात्र इन्धन प्रयोग हुन्छ र ४० प्रतिशत बचत हुन्छ। उनले यो उपकरणलाई आफ्नो गाडिमा समेत प्रयोग गरिरहेका छन्।

सक्स जस्तो उपकरण बनाएर कलिलो उमेरमै युवा वैज्ञानिक बन्न सफल भएका शिशिर जिसी पेशाले मेकानिकल इन्जिनियर हुन्। रुपन्देहीको बुटवलमा जन्मेका जिसी भर्खरै २६ वर्षका भए। १९९० दशकका प्रख्यात वैज्ञानिक स्टेन्लीले पानीले पनि गाडी चल्न सक्ने सम्भावना देखाका थिए। त्यही सम्भावनालाई अनुशरण गर्दै आफुले यस प्रकारको उपकरण बनाएको बताएका छन्। उपकरण निर्माणका लागि आफु उनैबाट प्रेरित भएको इन्जिनियर शिशिर भन्छन्। वैज्ञानिक स्टेन्लीकै सिद्धान्तबाट प्रभावित भएर विभिन्न खोज गर्दै जादाँ आफुले यस्तो उपकरण बनाउन सफल भएको उनी बताउँछन्।

शिशिरको तीन वर्षको कडा मेहेनत र परिश्रमको नतिजा हो सक्स। उनले यो उपकरण आफ्नै गाडीमा लगाएर परीक्षण  गरिरहेका छन्। जुन उद्देश्यले उपकरणको निर्माण गरेका थिए त्यहीं नै पाएको हुँदा दङ्ग पनि छन् शिशिर। प्रयोग गरेको एक महिना बितीसक्दा समेत उपकरणमा कुनै समय नआएको उनले बताए।

सक्सले कसरी काम गर्छ

उपकरणले पानीबाट हाइड्रोजन र अक्शिजन छुट्टाएर इलेक्ट्रोलाइसिस प्रक्रियाबाट हाइड्रोजनलाई इन्जिनमा पठाउने गर्छ। जसले गर्दा गाडीमा राखिएको इन्धन बचाउने काम गर्छ। किनभने हाइड्रोजन आफैमा एउटा इन्धन हो, यो पेट्रोल र डिजेलभन्दा तीन गुना ज्वलनसिल पदार्थ हो। त्यसैले रकेट तथा अन्तरिक्षयान उडाउदा यही हाइड्रोजनको प्रयोग हुन्छ। सामान्यतया ४ देखि ७५ प्रतिशत ज्वलनसिल हुने हाइड्रोजनलाई कम मात्रामा अर्थात् १ प्रतिशत गाडीमा प्रयोग गरेर गुडाउन सकिने शिशिर भन्छन्। यसले गाडीको इन्धन मात्र बचाउने काम गर्दैन् यसबाट गाडी सुरक्षित र भरपर्दो हुने पनि उनको दावी छ।

के केमा प्रयोग गर्न सकिन्छ

यो उपकरणलाई जेनेरेटर, बस, ट्रक, जिप, कार, मोटरसाइकल, स्कुटर लगाएतका सवारी साधनमा प्रयोग गर्न सकिन्छ। यसको प्रयोगले गाडीको इन्जिनमा जमेर बसेको कार्बनडिपोजिट्सहरुलाई निकाल्ने र इन्जिनको आयु समेत बढाउने दावी शिशिर गर्छन्। यसलाई सवारी साधनमा जोडेर प्रयोग गर्न सकिनछ।

उपकरणको निर्माण गरेपछि उनले पेटेन्ड पनि दर्ता गरे। पेटेन्ड दर्ता गर्दा सबैले साथ दिएको र आफ्नो आविस्कार देखेर अग्रजहरु पनि खुशी भएको उनले सुनाए। सक्स बनाएपछि प्रदेश पाँच सरकारले उनलाई सम्मान समेत गरेको छ।

नयाँ आविस्कार भएकाले बजारमा आइसकेको भने छैन। सकेसम्म कम मूल्यमा विक्री गर्ने शिशिरको भनाइ छ। यसको फाइदा भनेको पहिलो त यसले गाडीको माइलेज बढाउँछ, दोस्रो गाडीको पिकअप तथा पावर बढ्छ। तेस्रो भनेको इन्जिनमा जम्मा भएर बस्ने कार्बनहरु निकालिदिन्छ। चौथो मानिसको पैसा र समय बच्ने तथा इन्जिनबाट आउने तरङ्ग र आवाजलाई कम गर्ने उनले बताए।

शिशिरले प्रदेश नं. ५ बुटवलका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीबाट २०७६ युवा वैज्ञानिक पुरस्कार पनि पाइसकेका छन्। यस्तै,बुटवलको लायन्स क्लवबाट पनि उपकरण आविस्कार गरेवापत सम्मान पनि पाइसकेका छन्।   

आगामी दिनमा सय प्रतिशत पानीबाटै गाडी गुडाउन मिल्ने उपकरणको आविस्कार गर्ने योजना शिशिरको छ। आफ्नो यो सफलताको श्रेय पूर्व विज्ञान, प्रविधि तथा वातावारणमन्त्री गणेश शाहलाई दिन्छन्।

  

प्रकाशित: २४ भाद्र २०७६ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App