बुटवल- बुटवलमा निर्माण गरिएको जीवराज आश्रित सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिने भएको छ। जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी साउन १८ गतेदेखि सङ्ग्रहालय खुला गरिने जानकारी गराएको हो।
सङ्ग्रहालयमा जीवराज आश्रित र उनको जीवनसँग जोडिएका विभिन्न सामग्रीहरु राखिएको प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले जानकारी दिए। प्रतिष्ठानले बुटवल उपमहानगरपालिका वडा नं. ७ श्रवणपथमा सङ्ग्रहालय स्थापना गरेको हो। सङ्ग्रहालयमा पर्यटकीय क्षेत्रहरुको जानकारी, भौतिक ज्ञानमा आधारित विभिन्न सामग्री, औजार तथा उपकरण राखिएको छ। यस्तै नेपाली समाजको प्रतिनिधित्व हुने गरी विभिन्न जातजाति र सम्पदाका भेषभूषा समावेश गरिएको छ।
सङ्ग्रहालय प्रवेशका लागि ५० र ज्येष्ठ नागरिक, विद्यार्थी र फरक क्षमता भएका नागरिकलाई २५ रूपैयाँ शुल्क लिने व्यवस्था गरिएको महासचिव कल्पना थापाले बताइन्। सङ्ग्रहालयलाई विस्तारै व्यवस्थित गर्दै लैजाने योजना रहेको थापाले बताइन्।
‘जीवराज आश्रितको जीवनशैलीको अनुकरण र कृतित्वको रक्षा गरौँ’ भन्ने मूल मान्यतासहित देवेन्द्र घिमिरेको नेतृत्वमा वि.सं. २०६६ माघ १९ गते जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको स्थापना भएको थियो। तत्कालीन नेकपा एमालेको सङ्गठन विभाग प्रमुख आश्रितको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय कार दुर्घटनामा निधन भएको थियो। नेपालको सामाजिक, सांस्कृतिक एवं राजनीतिक परिवर्तन र समृद्धिका लागि आश्रितले पु-याएको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठानको स्थापना गरिएको संस्थापक अध्यक्ष घिमिरेले बताए। रासस
प्रकाशित: १७ श्रावण २०७६ ०४:५७ शुक्रबार