२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

८० हजार हेक्टर वनक्षेत्रमा आगजनी

धनगढी - कैलालीको चुरेक्षेत्रमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। कैलालीको चुरेसँगै तराईको वनक्षेत्रमा पनि डढेलो फैलिएको छ। कैलालीमा चुरे र तराईमा गरेर करिब ८० हजार हेक्टर वनक्षेत्र डढेलोले प्रभावित भएको जिल्ला वन कार्यालय कैलालीका सहायक वन अधिकृत भीम ढकालले बताए। ‘कैलालीको जम्मा वनक्षेत्रमध्ये ४० प्रतिशत डढेलोले प्रभावित भएको छ’, उनले भने, ‘धेरै ठाउँमा सबै जलेपछि आगो आफैं निभेको छ।’

तराईका केही ठाउँमा र चुरेमा अझै पनि डढेलो लागीरहेको उनले जानकारी दिए। कैलालीमा २ लाख ५ हजार ९ सय हेक्टर वनक्षेत्र छ। यसमध्ये ४० प्रतिशत अर्थात् ८० हजार हेक्टरभन्दा बढीमा डढेलो लागेको उनको भनाइ छ। ‘डढेलोले घाँस, मसिना बोटबिरुवा नष्ट गरेको छ’, उनले भने, ‘वन्यजन्तुको वासस्थान नष्ट गरेको छ। आहारा पनि नष्ट भएको छ। केही ठाउँमा खानेपानीको पनि समस्या भएको छ’, ढकालले भने, ‘डढेलोले वन्यजन्तुलाई संकट परेको छ।’ चुरे र तराईमा समेत डढेलो फैलिँदा आकाशमा धुवाँ भरिएको छ। चुरेक्षेत्रमा रहेका मोहन्याल गाउँपालिका, चुरे गाउँपालिका, गोदावरीका ४ र ५ नम्वर वडामा पर्ने जंगलमा डढेलो फैलिएको छ। धेरै ठाउँमा डढेलोले सबै जलेपछि आगो आफैं निभेको छ। ‘जंगलमा खरानीले सबैतिर कालोमात्र देखिएको छ’, गोदावरी–४ की कल्पना शाहीले भनिन्।

एक सातापहिले लागेको आगो कैलालीको चुरे र तराईको वनक्षेत्रमा फैलिएको हो। अत्यधिक तापक्रम, सुक्खापन र हावाहुरीले गर्दा डढेलो फैलिएको र नियन्त्रण गर्न नसकेको स्थानीयले बताएका छन्।

यसैगरी तराई क्षेत्रका धनगढी–७ मनेहरा, फूलबारी, उर्मा क्षेत्र, मसुरिया, चौमला, उदासीपुरमा डढेलो फैलिएको सहायक वन अधिकृत ढकालले बताए। भारतको दुदुवा नेसनल पार्कसँग जोडिएको अन्तर्राष्ट्रिय जैविक मार्ग वसन्ता क्षेत्रमा पनि डढेलो लागेको उनले जानकारी दिए। एक सातापहिले लागेको आगो कैलालीको चुरे र तराईको वनक्षेत्रमा फैलिएको हो। अत्यधिक तापक्रम, सुक्खापन र हावाहुरीले गर्दा डढेलो फैलिएको र नियन्त्रण गर्न नसकेको स्थानीयले बताएका छन्। ‘यो वर्ष वनजंगल पूरै सखाप ग¥यो’, स्थानिय तुलसी भट्टराईले भने, ‘धेरै वर्ष यता यति ठूलो आगलागी भएको हो। अहिलेको डढेलोले ठूलो क्षति पु¥याएको छ। चुरेमा रहेका करिब ८० सामुदायिक वनमध्ये ६० भन्दा बढीमा डढेलो लागेको छ। कैलाली जिल्ला वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले सुरक्षानिकाय, वनका कर्मचारी र स्थानीय उपभोक्ता समूह आगो नियन्त्रणमा जुटिरहेको बताए। ‘उपकरण प्रयोग गरेर आगो नियन्त्रण गरिरहेका छौं। धेरै ठाउँमा नियन्त्रण गरिएको छ’, उनले भने, ‘तराईका केही भाग र चुरेका केही भागमा अझै पनि डढेलो नियन्त्रण हुन बाँकी छ।’

प्रकाशित: २ जेष्ठ २०७६ ०३:०२ बिहीबार

चुरे डढेलो वन जिल्ला_वन_कार्यालय