१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पैसा लोभले मरेको संख्या बढाइयो

सिस्नेघारी (कैलाली) - घोडाघोडी नगरपालिकाका गौशालामा मरेका गाईको संख्या गैरसरकारी संस्थाले बढाइचढाई सार्वजनिक गरेको खुलासा भएको छ। दुई हजारको संख्यामा गाई मरेको भन्दै गैरसरकारी संस्थाले प्रचारप्रसार गरेका थिए।

‘तीनवटै गौशालामा गरी ७० भन्दा बढी गाई मरेका छैनन्,’ घोडाघोडी नगरपालिका–१० का धीरेन्द्र कठायतले भने, ‘बजेट तान्न केही एनजिओले ठूलो संख्यामा गाई मरेको अफवाह फैलाएका हुन्।’ गाउँका केही समूहले छाडा चौपाया पाल्न नगरपालिकासँग बजेट मागेका थिए। तर नगरपालिका आफैं व्यवस्थापनमा जुटेपछि ती समूह असन्तुष्ट बनेका थिए। असन्तुष्ट समूहले समेत विभिन्न संस्थासँग मिलेर मरेका गाईको संख्या थप्दै अफवाह फैलाएको वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर बुढाले बताए। उनले भने, ‘पशुका क्षेत्रमा काम गर्ने केही एनजिओले बजेट ल्याउन मरेका गाईको संख्या बढाएका हुन्।’ आफ्नो स्वार्थका लागि सक्रिय समूह र संस्थाद्वारा सञ्चारमाध्यमलाई पनि गुमराहमा पार्ने काम गरिएको वडाध्यक्ष बुढाले बताए। ‘सञ्चारमाध्यममा समाचार लेखाएपछि बजेट आउने भएकाले समूह र संस्थाले यस्तो गरेका हुन्,’ उनले भने, ‘ती समूह र संस्थाबाट नमरेका गाईको संख्या बढाउँदै अफवाह फैलाउने काम भयो।’

स्नेहाज केयर संस्थाका कर्मचारीले केही पत्रकारलाई ठूलो संख्यामा गाई मरेको खबर गरेका थिए। सोही संस्थाका कर्मचारीले २२ सय गाई मरेको गलत विवरण लेखेर विभिन्न सञ्चार माध्यमलाई इमेल पठाएका थिए। उनीहरुले बजेट तान्न गलत समाचार लेखाएको स्थानीयले बताएका छन्। स्नेहाज केयरका कार्यकारी निर्देशक कपिल काफ्लेले सुरुका दिनमा गौशालामा राखिएका र अहिले बाँकी रहेकाको संख्या हेर्दा २२ सय गाई हताहत भएको आफूले भनेको बताए। संख्या बढाउनुमा संस्थाको कुनै स्वार्थ नभएको र पवित्र भावनाले गाईको सेवा गर्न लागेको उनले दाबी गरे। ‘एक पत्रिकामा समाचार छापिएको दिन मात्रै हाम्रो टोली धनगढी आएको हो,’ उनले भने, ‘११ दिनदेखि उपचारसँगै गाईलाई आहारा दिँदै आएका छौं।’ अहिले आएर हेर्दा केही गाई भागेर गएकाले मरेको संख्या यकिन भन्न सकिने अवस्था नरहेको उनले बताए। ‘गौशालाको तीन किलोमिटर वरपर ६०/७० अस्थिपञ्जर छन्,’ काफ्लेले भने, ‘गाई हताहतीको संख्या भने धेरै छ तर संख्यामा हामी जान चाहन्नौं।’

छाडा गाई भएकाले नियन्त्रण गर्नै मुस्किल पर्ने गरेको हेरालु भोजबहादुर चौधरीले बताए। उनले भने, ‘ठूलो संख्यामा जंगलमा चर्न गएका गाई यताउतिबाट भागेर गाउँ फर्कने गरेका छन्।’ फेरि गाउँबाट छोपेर गौशाला पु¥याउन नपाउँदै पुनः हराउने गरेको उनले बताए। ‘केही गाई सुखड बजारवरपर फर्के, केही रामशिखरझातर्फ त केही मोहन्याल गाउँपालिकातर्फ गए,’ उनले भने, ‘समूहबाट भागेका गाईलाई फर्काउन नसक्दा गौशालामा गाई घटेका हुन्।’ चिसो र खोरेतका कारण तीनवटै गौशालामा गरी ७० गाई मरेको उनले बताए। ‘अहिलेसम्म ७० भन्दा बढी गाई मरेका छैनन्’, उनले जोड दिए। अर्का हेरालु खुसीराम चौधरीले ठूलो संख्यामा रहेका चौपायाको आनीबानी बुझ्न नसक्दा केही गाई लुकेर भागेकाले संख्या घटेको बताए।

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले बढीमा ७० गाई मात्रै मरेको भए पनि प्रायोजित ढंगले धेरै गाई मरेको हल्ला फैलाइएको बताए। उनले भने, ‘खै केको स्वार्थका लागि हो, यस्तो हल्ला फैलाइएको।’ आफूहरु नियमित गाई हेरालुको सम्पर्कमा रहेको बताउँदै उनले भने, ‘हल्ला फैलाइएजस्तो गाई मरेका छैनन्।’ गौशाला राखिएको वडा नम्बर ४ का वडाध्यक्ष भीम बोगटीले पनि गौशालाबाट दिनहुँ गाई भागेर बजार झर्ने गरेको बताए। उनले भने, ‘जम्माजम्मी ६०–७० भन्दा बढी गाई मरेकै छैनन्।’

घोडाघोडी नगरपालिकाको पशु सेवा शाखाकी पशु सेवा प्राविधिक छत्रा न्युरेले खुला आकाशमुनि गौशाला रहेकाले चिसो सहन नसकेर गाई बजार झरेको बताइन्। उनले भनिन्, ‘हल्ला फैलाइएजस्तो धेरै गाई मरेका छैनन्।’ गोठमा बसेका गाई एक्कासि जंगलको खुला आकाशमुनि राखिँदा चिसो सहन नसकेर चर्न गएका बेला भागेर पुनः गाउँमै फर्कने गरेको उनले बताइन्। गौशालामा केही समय अघि खोरेत रोगले सताएपछि उपचारका लागि औषधि लगिएको तर मर्ने गाईको संख्या हल्ला गरिएजस्तो नभएको उनले बताइन्। नगरपालिकाले वडा नम्बर ८ लठुवा गाउँको सिस्नेघारी, वडा नम्बर ४ को च्युरेपानी र वडा नम्बर ९ को कालिभावरमा रहेका तीनवटा गौशालामा गरी दुई हजारको संख्यामा गाई राखेको थियो। गाईको हेरचाहका लागि १९ जना हेरालुलाई मासिक १२ हजार रुपैयाँ दिनेगरी नगरपालिकाले खटाएको थियो। नगरपालिकाका अनुसार सिस्नेघारी गौशालामा एक हजार, च्युरेपानीमा चार सय र कालिभावर गौशालामा ६ सय गाई राखिएको थियो।

प्रकाशित: २८ माघ २०७५ ०१:१५ सोमबार

घोडाघोडी_नगरपालिका गौशाला गैरसरकारी_संस्था गाई