२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोटेश्वरको सवारी चाप हटाउन पहल

काठमाडाैं- कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ। 

पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो। त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको छ। 

रु १२ करोडको लागतमा उक्त दोभानदेखि बालकुमारीसम्मको सडक निर्माणलाई द्रुतगतिमा निर्माण कार्य अघि बढाइएको छ। कोटेश्वरको सवारी चापलाई नै मुक्त बनाउन मनोहरामा बेलिब्रिज निर्माणको कार्यसमेत शुरु गरिएको छ। बेलिब्रिज तथा करिडोर निर्माण सम्पन्न भएपश्चात् कोटेश्वर जडीबुटीमा सवारीको चापबाट उपत्यकावासीले मुक्ति पाउने विश्वास लिएको छ। 

सडक डिभिजन कार्यालय भक्तपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले आगामी दुई महीनाभित्र दोभानदेखि बालकुमारीसम्म कच्ची सडक निर्माण गरिसक्ने र कोटेश्वर जडीबुटीको चाप खुकुलो गर्न जस्तोसुकै विकल्प प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

करिडोर निरीक्षणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले प्रशासनिक ढिलासुस्ती तथा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले मनोहरा नदीमा ढल हाल्ने काममा ढिलाइ भएको बताए। त्यस्तै उनले आगामी दिनमा त्यसप्रकारका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताए। 

डिभिजन कार्यालय भक्तपुरका डिभिजन इञ्जिनियर बेदबहादुर भुजेलले भक्तपुर र ललितपुर जोड्ने मनोहरा–हनुमन्ते नदीको दोभानमा रहेको पुल निर्माणका लागि टेण्डरको प्रक्रिया अघि बढाई कार्य अघि बढाइएको जानकारी गराए। 

मनोरम समाजका अध्यक्ष विश्वबन्धु बास्तोलाले सडक सञ्चालन गर्न अवरोध गर्ने घाटालाई अन्यत्र प्रतिस्थापन गरी यातायात सञ्चालन गर्न सहज वातावरण सिर्जना गराउने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रकाशित: ११ कार्तिक २०७५ १५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App