१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बीपी प्रतिष्ठानमा आपूर्ति टेण्डरमा चलखेल

बिपी प्रतिष्ठान सुधारको माग गर्दै धरानबासीले केही समयअघि निकालेको -याली। तस्बिर : नागरिक

धरान - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथितीबारे छानबिन चलिरहेको बेला छपाइ सामान आपूर्तिको टेण्डरमा व्यापक अनियमितता भएको खुलेको छ। प्रतिष्ठानका पदाधिकारीहरुले मिलेमतोमा कम रकम कबोल गरेको ठेक्का अस्वीकृत गर्दै बढी रकमको ठेक्का स्वीकृत गरेको खुलेको छ।

आर्थिक चलखेलमा बढी रकम कबोल गरेको ठेक्का स्वीकृत गरेर भ्रष्टचार गरेको भन्दै उक्त विषयमा अख्तियारमा उजुरीसमेत परेको छ । प्रतिष्ठानले सार्वजनिक खरिद नियमन कार्यालयमार्फत छपाइजन्य सामानको इ–ठेक्का आह्वान गरेको थियो । त्यसमा बोलपत्र दातामध्ये सबैभन्दा कम मूल्यको चितवनस्थित युनिभर्सल सप्लायर्सले १ करोड ४८ लाख ९५ हजार कबोल गरेको थियो । तर, ठेक्का भने करिब साढे ३ लाख बढी कबोल गर्ने फर्म अप्पुश्री इन्टरप्राइजेज अफसेट प्रेसको स्वीकृत भएको छ । अप्पुश्रीले १ करोड ५२ लाख ३८ हजार रुपैयाँ कबोल गरेको थियो।

मिलेमतोमा नै टेण्डर आह्वान गर्दा आफू निकटका कम्पनी मात्र छनोछ हुने सर्त राखिएको देखिन्छ। रजिष्ट्रारले आफ्नै भाइलाई टेण्डर दिलाउन दुई दिन अघिको मितिमा काटिएको पत्र घटस्थापनाका इमेलबाट प्रेषित गरिएको थियो।

अप्पुश्रीको सञ्चालक गोपाल श्रेष्ठ र प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ नातेदार हुन् । छापाइजन्य सामान सामान्य प्रशासनअन्तर्गत रजिस्ट्रार श्रेष्ठको मातहतमा पर्छ । प्रतिष्ठानको छपाइजन्य सामानको आपूर्ति अप्पुश्रीले नै गर्दै आएको छ । युनिभर्सलका प्रतिनिधि सन्दीप सुवेदीले असोज अन्तिम साता इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिएका हुन् । उनले उजुरीमा रजिष्ट्रार श्रेष्ठको भाइको फर्मलाई ठेक्का स्वीकृत गराउन रजिष्ट्रारसँगै डेपुटी रजिष्ट्रार एवं मूल्यांकन समितिका संयोजक अमित श्रीवास्तवलगायत उच्च पदाधिकारीको मिलेमतो भएको दाबी गरेका छन्।

अख्तियारले भने यो विषयमा उजुरी र अनुसन्धान प्रक्रियाबारे केही प्रतिक्रिया जनाएको छैन । ‘उजुरी र अनुसन्धानबारे बोल्न मिल्दैन, सूचना अधिकारीसँग बुझ्नु होला,’ अनुसन्धान अधिकृत भरत ढुंगानाले भने । तर सूचना अधिकृत बिदामा भएको रहेको जनाइएको छ।

प्रतिष्ठानका पदाधिकारीहरु भने युनिभर्सलले कम रकम कबोल गरेको भए पनि माग बमोजिमको आवश्यक डकुमेन्ट प्राप्त नभएकाले दोस्रो कम रकम कबोल गरेको फर्म अप्पुश्रीको ठेक्का स्वीकृत गर्नुपरेको बताउँछन् । यो ठेक्काको विषयमा मूल्यांकन समितिले समेत निर्णय गर्न नसकेर उपकुपति डा. राजकुमार रौनियारलाई फाइल पठाएको थियो । ‘टेण्डर गर्दा माग भएअनुसार कम रकम कबोल गर्ने फर्मको कागजपत्र थिएन, अप्पुश्रीको सबै कागजात पुगेको छ तर दोस्रो कम रकम कबोल भएको छ,’ मूल्यांकन समितिका एक सदस्यले भने, ‘हामीले यो सबै कुरा दर्शाएर तपाईहरु नै निर्णय गर्नुस् भनेर उपकुलपतिलाई पठाइदियौं । त्यहाँबाट के भयो थाह भएन।’

उपकुलपति रौनियारले सम्बन्धित सामान्य प्रशासन प्रमुख एवं रजिष्ट्ररसँग राय लिएर अप्पुश्रीको ठेक्का स्वीकृत गरिएको बताए । ‘रजिष्ट्रारसँग राय मागे, कागजात नभएकालाई दिन मिल्दैन भनेपछि अर्को कम रकम कबोलको स्वीकृत भएको छ तर सम्झौता भएको छैन,’ उपकुलपति रौनियारले भने । रजिष्ट्रार श्रेष्ठले पनि युनिभर्सलको ३ वटा कागजात नभएकाले दोस्रो कम रकम कबोल गर्ने अप्पुश्रीको ठेक्का स्वीकृत भएको बताए।

मूल्यांकन समितिका एक सदस्यका अनुसार युनिभर्सलसँग जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्र, इनकम स्टेटमेन्ट र ब्यालेन्स सिट थिएन । टेण्डर आह्वान गरिँदा नै यी कागजात खरिद समितिले मागेको ती सदस्य बताउँछन् । उजुरीकर्ता एवं युनिभर्सलका प्रतिनिधि सुवेदी भने मिलेमतोमा नै टेण्डर आह्वान गर्दा अप्पुश्रीलाई फाइदा हुने गरी सर्तहरु राखिएको दाबी गर्छन् । ‘रजिष्ट्रारको भाइलाई नै दिलाउन प्रशासनमा दर्ता भएको हुनुपर्ने भनिएको रहेछ । अप्पुश्री प्रशासनमा पनि दर्ता रहेछ । अरु कतैतिर यस्तो मागिँदैन,’ उनले भने, ‘हामीले चितवन जिल्ला प्रशासनबाट गैरनाफामूलक संस्थामात्र दर्ता हुनुपर्ने, नाफामूलक संस्था दर्ता हुनु नपर्ने भन्ने पत्र पनि ल्यायौं तर पनि भएन । कर चुक्ताको प्रमाणपत्र हालेपछि कारोबार सबै देखिन्छ । त्यो सबै हालेको थियौं।’

बद्नियतकै कारण अप्पुश्रीको बोलपत्र स्वीकृत गर्ने आसयको जानकारी अदालतको कामकारबाही बन्द हुने घटस्थापनाको दिन इमेलबाट पाएको पनि उनले खुलाए । ‘अदालतबाट स्टे अर्डर ल्याउँछ भनेर नै घटस्थापनाको दिन इमेल गरेको हो । पत्र भने २ दिन अघिको काटिएको छ,’ उनले भने।

प्रकाशित: ८ कार्तिक २०७५ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App