धनगढी – कञ्चनपुर बेलौरी नगरपालिका ६ रिचाहका उग्रसेन राना २२ वर्षकै उमेरमा हातहतियार खरखजाना र चोरी मुद्दामा जेल परे। उनी ४ बर्षको जेल सजाय कटाएर २०७१ सालमा रिहा भए। सजाय भुक्तान गरेपछि पनि उनमा सुधार आएन। उनी सञ्जाल नै बनाएर आपराधिक गतिविधिमा सक्रिय भए।
गत जेठ १३ गते धनगढीको व्यस्त बजारमा दिनदहाडै निर्मल कार्कीलाई गोली हानेर उनले साढे ९ लाख लुटे। चोरी, डकैतीमा जेल सजाय काटेका उनले आपराधिक कर्तुतको आकार बढाउँदै गोली हानेर लुट्ने ठूलो घटनासम्म पुगे। यसैगरी कञ्चनपुर कृष्णपुर नगरपालिका–६ बस्ने २७ वर्षीय कल्लुराना बलात्कार मुद्दामा ६ वर्ष जेल सजाय काटेर २०७४ माघमा छुटेका छन्। जेलबाट छुटेपछि उनी पनि आपराधिक सञ्जालमा जोडिन पुगे। धनगढीमा बैंकबाट पैसा झिकेर आइएमईमा लगिँदै गरेको साढे ९ लाख रुपैयाँ योजना बनाएर लुट्नमा उनी पनि संलग्न भए।
‘सजाय काटेर कारागारबाट बाहिरिएकाको व्यवहारमाथि राज्यको निगरानी हुनुपर्छ। उनीहरूलाई सिर्जनात्मक काममा लगाउने वातावरण बनाइनुपर्छ।
धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ३१ वर्षीय राजकुमार चौधरी हातहतियार खरखजाना मुद्दामा अढाई महिना जेल सजाय भुक्तान गरेर २०६५ मा छुटेपछि संगठित अपराधमा सक्रिय भए। उनले हातहतियार खरिददेखि भारतबाट चोरीका मोटरसाइकल र जिप ल्याएर बिक्री गर्नेलगायत विभिन्न अपराधमा संलग्न हुन थाले । केही प्रहरीको संरक्षणमै संगठित अपराध गरेको उनले बयान दिएका छन्। प्रहरीसँग मिलेर नै अपराध गरेको बयान उनले दिएको स्रोतले बताएको छ। प्रदेशको अस्थायी राजधानीमा सुरक्षाकर्मीलाई चुनौती दिँदै सबैलाई त्रसित बनाउने गरी दिनदहाडै गोली हानेर पैसा लुट्ने अपराधका मुख्य योजनाकार पनि यिनै राजकुमार हुन् । यी तीनजना प्रतिनिधिपात्र मात्र हुन्।
सजाय काटेपछि अपराधीको आचरणमा सुधार आउँछ भन्ने विश्वासका कारण कारागारलाई सुधारगृह मानिन्छ। तर, कारागारबाट सजाय भुक्तान गरेर बाहिरिएकामा सुधार आउनुको सट्टा थप ठूलो अपराध गर्ने प्रवृत्ति मौलाउँदै गएको जानकार बताउँछन् ।‘युवा उमेरमा अपराध गरेर कारागारमा सजाय काटेकाहरू सुध्रिने गरेका छैनन् । झन् ठूला अपराध गर्ने मानसिकताका साथ बाहिर आउने गरेको पाइएको छ,’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे भन्छन्,‘यृुवा पुस्ताका कैदीबन्दी जेलभित्र आपराधिक नेटवर्कको स्तरवृद्धि गरेर बाहिरिने गरेको पाइएको छ।’ कारागारमा बस्दा विभिन्न प्रवृत्तिका नयाँ अपराधीसँग भेट हुने र यसले अझ ठूलो सञ्जाल बनाउन मद्दत पुग्ने गरेको उनी बताउँछन्। ‘कारागारबाट छुटेकाहरू अपराधको सञ्जाल विस्तार गरेर सक्रिय हुने देशभरिको अवस्था हो,’ उनले भने। पाको उमेरका मान्छे जेल सजाय काटेपछि सुध्रने भए पनि युवा पुस्तामा सुधार नआएको पाइएको उनको भनाइ छ। अपराधमा संलग्न भइसकेका युवामा अन्य सीप र रोजगारका अन्य विकल्प नहुने हुँदा पनि उनीहरू अपराधकै बाटोमा लाग्ने उनी बताउँछन्। ‘कारागार सजायको व्यवस्था अपराधीको आचरणमा सुधार ल्याउने उद्देश्यले गरिएको हो,’ कानुन व्यवसायी प्रयागराज भट्ट भन्छन्, ‘कारागार सजाय काटेर बाहिरिनेहरू अझ संगठित अपराधमा संलग्न भइरहेका छन्, यस विषयमा राज्यको ध्यान गएको देखिँदैन।’ भवितव्य अथवा परिस्थितिजन्य अवस्थामा अपराध गरेकाहरू मात्र सुध्रने गरेको र पेसेवर अपराधी कारागारबाट बाहिरिनेबित्तिकै अपराधमै सक्रिय हुने गरेका छन्।
कारागारलाई सुधारगृह बनाइनुपर्ने
इन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशी कारागारमा निश्चित अवधि बसेपछि अपराधीलाई पश्चाताप होस् र त्यहाँबाट निस्केपछि अपराधमा लाग्नु हुँदैन भनेर अरूलाई पनि शिक्षा देओस् भन्ने विश्वभरिकै धारणा भएको उल्लेख गर्दै यहाँ कारागारबाट बाहिरिनेबित्तिकै अपराधमा सक्रिय हुने प्रवृत्ति चिन्ताजनक भएको बताउँछन्। अहिले धेरैजसो अभियोग लागेका व्यक्ति विगतमा पनि जेल सजाय पाएका वा अन्य अभियोग लागेका रहेको पाइएको उनको भनाइ छ।
राज्यले मनोपरामर्श दिनुका साथै प्रवचन, सीप, ज्ञानमार्फत सुधारात्मक कार्यक्रम ल्याउन नसकेकै कारण जेलबाट छुटेकाहरू अपराधमा सक्रिय हुने गरेको उनको भनाइ छ। कारागारमा कुनै सुधार नभएको उनी बताउँछन्। ‘यहाँ त मान्छे ल्याएर थुन्ने कारागारलाई सुधारगृह होइन्, यातनागृह बनाइएको छ,’ उनले भने। कारागारभित्र पनि अपराधीजस्तो व्यवहार गर्ने, कैदीबन्दीलाई सुधार गर्ने ज्ञानका कुरा सिकाउने कुनै कार्यक्रम लागू नभएकाले उनीहरूमा सुधार आउन नसकेको उनको भनाइ छ।
कारागार बसाइमा थप आक्रोशित र उत्तेजित हुने स्थिति रहेकाले त्यसपछि पनि अपराधमा लाग्ने गरेको पाइएको उनले बताए। ‘यो चिन्ताजनक हो। कानुनबमोजिम जेल भुक्तान भएका मान्छे पुनः अपराध गरेर कारागारमा आउँछन्। यस्तालाई कतिपटक जेल हाल्ने?,’ उनले भने, ‘राज्यले अध्ययन गरेर नीति बनाएर कारागार सुधारका कार्यक्रम ल्याउनुपर्छ।’ कुनै ज्ञान र सीप नपाउँदा समाजमा बस्ने वातावरण नहुँदा कारागार बस्न के ठूलो कुरा रहेछ भन्ने मनोवृत्तिका कारण उनीहरूलाई अपराधोन्मुख बनाउने जोशीको बुझाइ छ। प्रदेशसभा सदस्य लीलाधर भट्ट कारागारमा बस्ने मान्छेलाई उनीहरूको क्षमता र चाहनाअनुसार सीप दिने र कारागारबाट बाहिरिएपछि सम्मानपूर्ण जीवन बिताउन सक्ने खालका कार्यक्रम राज्यले ल्याउनुपर्ने बताउँछन्। ‘सजाय काटेर कारागारबाट बाहिरिएकाको व्यवहारमाथि राज्यको निगरानी हुनुपर्छ,’ भट्ट भन्छन्, ‘उनीहरूलाई सिर्जनात्मक काममा लगाउने वातावरण बनाइनुपर्छ।’
प्रकाशित: २५ जेष्ठ २०७५ ०२:१४ शुक्रबार