२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

स्कुलबसले दिए सेवा

बनेपा – यातायात क्षेत्रमा सिण्डिकेट लागू गर्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यलगायतका पदाधिकारीहरु माघको तेस्रो साता चितवनको सौराहामा शपथ खाँदै थिए।

त्यसै समय पारेर कर्माचार्य नै संस्थापक अध्यक्ष रहेको हिमाल–तराई यातायात सेवा समितिका पदाधिकारी (हालका)हरु भने धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाका सिण्डिकेटवालाहरुसँगको पेलानमा परिरहेका थिए। किनकी हिमाल–तराईले बिपी राजमार्गको नेपालथोकदेखि गोंगबुसम्म रुट परमिट पाएलगत्तै सुरु गरेको सेवालाई पुराना व्यवसायीहरुले रुचाएका थिएनन्।

बनेपा र धुलिखेलका पुराना व्यवसायीहरुले धेरै पटक अवरोध गरे। तर, हार खाएपछि भक्तपुरको समितिलाई गुहारे। भक्तपुरको समितिले हिमाल–तराईका बा४ख ८०२५, बा४ख ७८५८, बा४ख ८४४२, बा३ख ८१५३ नम्बरका बसलाई सूर्यविनायकबाट नियन्त्रणमा लिएर कार्यालयअगाडि कब्जामा राख्यो। अन्ततः लामो प्रयासपछि नेपालथोकदेखि काठमाडौंसम्म हिमाल–तराईको सेवा सुचारु भयो।

तर, बनेपा र धुलिखेलको सडकमा हालिमुहाली र रुटबापत लाखौं रकम असुल्दै आएका काभ्रे बस समितिका पदाधिकारीहरुलाई यत्तिकैमा चित्त बुझेन। समितिको कार्यालयमा टाँगिएको पूर्व अध्यक्ष रहेका आत्माराम थापा(हाल हिमाल–तराईका अध्यक्ष)को फोटो झिकेर मिल्काए, अनि फोटोमा लात्ताले हान्दै सन्तोष लिए।

काभ्रे मिनिबस सेवा समितिकै सञ्चालक सदस्यले पनौती–च्याम्राङवेंशीसम्म नयाँ बस थप्न चाहे। तर, समितिकै पदाधिकारीले आफूसँग बस किनेमा मात्रै हाल्न दिने अड्डी कसे। ती सञ्चालक लाचारीसहित चूप लाग्न बाध्य भए।

धुलिखेल–बनेपा हुँदै चक्रपथ परिक्रमाका लागि नयाँ बस्हरु थप्नका लागि काभ्रे बस र काभ्रे मिनिबस दुबै समितिलाई पुराना व्यवसायीहरुले धेरै पहिले सुझाव दिएका थिए। मुलुकका धेरै क्षेत्रमा प्रतिस्पर्धी यातायात कम्पनीहरु भित्रिइरहेको अवस्थामासमेत दुबै समितिले भक्तपुरको समितिलाई नचिढ््याउने भनेर चूप बसिरहे।

सिण्डिकेटमा खप्पीस यी समितिहरुले यात्रुलाई सास्ती दिइरहेको  अवस्थामा चैतको पहिलो दिन मयुर यातायात प्रालिले चक्रपथ परिक्रमा गरी बनेपासम्मको सेवा दिन थाल्यो। काभ्रे बस र काभ्रे मिनिबस समितिका पदाधिकारीहरुले दैनिक अवरोध गरिरहे। मयुरको सेवामा अवरोध पु-याउन चालिएका हरेक प्रयासहरु निरन्तर असफल भएपछि व्यवसायीहरुले यातायात व्यवस्था विभागलाई नै चुनौती दिँदै मयुरको रुट परमिट खारेज गर्नका लागि ठीक एक महिना अघि(चैत २१ मा) कोटेश्वर पूर्वका सबै यातायात सेवा पूर्ण रुपमा बन्द गरे।

विभागले सोही दिन कोटेश्वर पूर्वका बस व्यवसायीको हड्तालपछि इच्छुक कम्पनीहरुलाई यीनै रुट परिमटका लागि आह्वान ग-यो र नयाँ कार्यविधिसमेत जारी ग-यो। त्यसपछि वर्षौंसम्म व्यवसायीहरुको मनोमानीबाट आजित भएका यहाँका यात्रुले साझा, मयुर, अन्नपूर्ण, सिटी मेट्रोजस्ता बसहरुबाट धेरैथरिका सुविधासहितको सेवा लिने अवसर पाइरहे।

फेरि ठ्याक्कै एक महिनापछि शुक्रबार समितिहरुले हड्ताल गरेर यात्रुलाई सास्ती दिने नियत राखे। यही क्रममा सिण्डिकेटको विरोध गर्दै आएको मयुर यातायातले अरनिको, हेलम्बु र हिमाल–तराईले कब्जामा लिएका २ वटा रुट र गन्तव्यसम्म सेवा दिन पुग्यो। अरनिको र हेलम्बुले कब्जा जमाएका पाँचखालको जिरो किलो र हिमाल–तराईले कब्जा गरेको नमोबुद्धको भकुण्डेवेंशीसम्म मयुरले पहिलो पटक शुक्रबारबाटै सेवा दिन थाल्यो। उता, कोटश्वरपूर्वको समितिमा नरहेको भक्तपुर, ब्रह्मायणीकै एउटा समितिले बनेपामा पहिलो पटक मिनिबस ल्यायो।

‘हामीले भुइँमा खसेको टिप्छौं भन्ने क्रममा खल्तीको खसेको पत्तै पाउन सकेनौं। बनेपासम्म एउटै मयुर आएकोमा त्यसदिनबाट धुलिखेल र पनौतीसम्म जुनसुकै बस आउने अवसर पाए। झन शुक्रबारदेखि तीन वटा समितिको गन्तव्यमा मयुरले सेवा दियो। अब अरुलाई पनि आउने बाटो खुल्यो। यहाँका व्यवसायीले त कुरा बुझेनन्, हाम्रो महासंघले समयानुकुल निर्णय लिन नसकेकै हो’, एक व्यवसायीले गुनासो गरे।

हुन पनि महासंघको आह्वानमा काभ्रेका हेलम्बु, काभ्रे मिनिबस र काभ्रे बस समितिले आफ्ना बसहरु पेट्रोल पम्प, ग्यारेज, ड्राइभिङ सेन्टर, सार्वजिनक चौरमा थन्क्याएर सरकारलाई नै चुनौती दिन थाले। काभ्रे प्रशासनले पनि शुक्रबार बिहानैदेखि कम्पनीका र निजी स्कूलका बसहरुलाई सुरक्षासहित सडकमा ल्याएर यात्रुलाई सेवा दिन थालेको छ।

‘हामीहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय प्रशासनको अनुरोधमा स्कूल बसलाई यात्रु बोक्न पठाएका हौं। विद्यार्थी लिएर र पु-याउने समयबाहेक दिनभरि नै हाम्रा बसले यात्रुहरुलाई सेवा दिइरहेका छन्’, बनेपास्थित बेलर इन्टरनेसनल एकेडेमीका प्रबन्ध निर्देशक पवन थापाले भने।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार शुक्रबार विहानै पनौतीको सामुदायिक बोर्डिङ स्कूलले सेवा सुरु गरेलगत्तै बेलर, काभ्रे स्कूल, विद्यासागर, विकटेश्वर, सेन्टलम अल्बम स्कूल, काञ्जिरोवा,  त्रिगुण एकेडेमी र शान्ति निकेतन(सरकारी स्कूल)ले समेत कुशादेबी–पनौती, पनौती–खोपासी, बनेपा–धुलिखेल, बनेपा–कोटेश्वर, धुलिखेल–रत्नपार्कजस्ता रुटहरुमा यात्रुलाई सेवा दिएका छन्।

प्रशासनले काभ्रे प्याब्सनसँग २० वटा बस माग गरेको थियो। यी बसमा दुई जनाका दरले प्रहरी खटाइएको छ। यस्तै, रबिन्द्र पुरी फाउण्डेशनबाट सञ्चालित नेपाल भोकेसनल एकडेमीको मिनिबसले पनौती–भक्तपुर–पनौतीमा सेवा दिइरहेको एकडेमीका प्रिन्सिपल मृगेन्द्र प्रधानले जानकारी दिए।

‘समितिहरुले बस नचलाए पनि कम्पनीका बसहरु तथा स्कूलका बसहरु सञ्चालन भइदिँदा  यात्रुहरुलाई सहज भएको छ। यसले पनि समितिले निहुँ खोजी रहेमा सरकारले वैकल्पिक व्यवस्था गरेर भएपनि यात्रुलाई सेवा दिने रहेछ भन्ने मेसेज गएको छ’, काभ्रेका एसपी सहकुल थापाले भने।

प्रकाशित: २२ वैशाख २०७५ ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App