४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

महोत्तरीमा एकजना महिलाको मृत्यु, हत्या गरिएको माइतपक्षको आरोप

महोत्तरीमा एकजना महिलाको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय रहेकी छन्।

गत वैशाख १९ मा विवाह भएको रिनाको दाइजोको निहुमा हत्या गरिएको माइत पक्षले आरोप लगाएका छन्।

माइतपक्षले दाइजोको निहुमा रिनाका श्रीमान रोहनकुमार राउतसहित ससुरा पक्षले मङ्गलवार राति १ बजे हत्या गरेको आरोप लगाएका हुन्।

घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो। प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको महोत्तरी प्रहरीले बताएको छ।

प्रहरीका अनुसार पति रोहनले राति खाना खाएर सँगै सुतेको भन्दै रिना अचानक बिरामी भएपछि प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएका छन्।

यता माइत पक्षले आफूहरू पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले छोरीको हत्या भएको दाबी गरेको छ। रिना मङ्गलवार मात्रै माइतबाट ससुराली फर्किएकी थिइन्।

मृतक रिनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको गत वैशाख १९ गते सामाजिक परम्परा अनुसार रोहनसँग भएको थियो। जसमा माइती पक्षले लत्ता, कपडा, भाडा बर्तन, फर्निचर, सुन, चाँदीका गहना तथा नगद गरी जम्मा १५ लाख खर्च गरेको बुबा नवल रायले बताए।

विवाहको केही दिन दाम्पत्य जीवन राम्रै चलेपनि पछिल्लो समय थप दाइजो माइतबाट ल्याउन भनी छोरीलाई श्रीमान रोहनसहित घरपरिवारले निरन्तर झैझगडा, कुटपिट तथा यातना दिने गरेको बुबा नवलको भनाइ छ।

प्रकाशित: ६ भाद्र २०८१ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App