२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

धारिलो हतियार प्रहारबाट बाँकेमा दुई युवा घाइते

आक्रमणबाट घाइते भएका सन्दिप विष्ट र सुलभ मल्ल। तस्बिर: नागरिक

बाँकेको राप्ती सोनारीमा दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ।

शनिवार बेलुकी करिब साढे ७ बजेतिर राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा मुख छोपेर आएका व्यक्तिले धारिलो हतियार प्रहार गरेका हुन्।

धारिलो हतियार प्रहारबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ गाउँपालिका वडा नम्बर ७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) तुलबहादुर कार्कीले जानकारी दिए।

घटनामा दुबै जना गम्भीर घाइते भएको र उनीहरूको भारतको लखनउमा उपचार भइरहेको उनले बताए। घाइतेमध्ये बिष्टको दुबै हातको कुममा र मल्लको बायाँ कोखामा गहिरो चोट रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्ती सोनारी–२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहित ४ जनालाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए। घाइते हुने दुबै जना नेपाली कांग्रेस निकट तरुण दलमा आबद्ध रहेको बताइएको छ। घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेका अनुसार करिब १०÷१५ जनाको संख्यामा आक्रमण गर्न आएका थिए। घाइतेले केही आक्रमणकारीको पहिचान गरेको आधारमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

घटनाको नेपाल तरुण दल बाँकेले भर्त्सना गरेको छ। तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह र सचिव बिनोद रिजालले विज्ञप्ति जारी गर्दै घटनापछि जिल्लाको शान्ति सुरक्षामा खलल भएको र प्रहरीको सक्रियतामा समेत प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका छन्। घटनामा संलग्नलाई चाँडो भन्दा चाँडो कारबाही गर्नुपर्ने, अन्यथा तरुण दल आन्दोलनमा जान बाध्य हुने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ। 

प्रकाशित: २ भाद्र २०८१ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App