जिल्ला हुलाक कार्यालय ताप्लेजुङमा आउनेभन्दा दर्ता वा जाने चिट्ठीपत्र बढी हुने गरेको पाइएको छ।
जिल्ला हुलाक कार्यालय ताप्लेजुङका निमित्त प्रमुख नवराज गिरीका अनुसार आव २०८०/८१ मा यहाँबाट ३ हजार ९ सय ८८ थान रजिष्ट्री चिट्ठी दर्ता भई बाहिर गएको छ। सो अवधिमा २ हजार १ सय ९३ थान रजिष्ट्री चिट्ठी ताप्लेजुङमा आएका छन्।
यस्तै ८ सय ६७ थान पत्रपत्रिका बाहिर जानका लागि दर्ता हुँदा ३ सय ७५ थान यहाँका लागि आएको हुलाक कार्यालयले जनाएको छ। बुकपोष्टमा भने १ सय ४२ थान दर्ता वा यहाँबाट बाहिर जाँदा २ सय २६ थान आएका छन्।
गिरीका अनुसार ७ सय २१ थान साधारण चिट्ठी बाहिर जानका लागि हुलाकमा दर्ता हुँदा यहाँबाट बितरण हुनेगरी १७ थान सानो प्याकेटका सामग्री आएका छन्।
हुलाक कार्यालयले आव २०८०/८१ को अवधिमा झण्डै ६ लाख राजश्व असुली गरेको छ। निमित्त कार्यालय प्रमुख गिरीका अनुसार कूल ५ लाख ८९ हजार ३ सय ८९ रुपैयाँ २० पैसा राजश्व असुली भएको छ। ययमध्ये टिकट बिक्रीबाट ३ लाख ८९ हजार ८ सय ९५ रुपैयाँ,अनलाइन प्रकृयाबाट चिट्ठी पठाउँदा १ लाख २० हजार ८ सय ७५ रुपैयाँ राजश्व संकलन भएको छ।
अन्य विविध प्रकृयाको क्रममा १ लाख ५९ हजार ७ सय ९ रुपैयाँ २० पैसा राजश्व असुली भएको जिल्ला हुलाक कार्यालयले जनाएको छ। यसअघि जिल्ला हुलाक कार्यालयले हुलाक बचत बैंकबाट राम्रो आम्दानी गर्दै आएकोमा हुलाक बचत बैंक सेवा बन्द भएपछि हुलाक कार्यालयको बार्षिक आम्दानी पनि कम हुँदै गएको छ।
प्रकाशित: २९ श्रावण २०८१ १४:०४ मंगलबार