१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

काजुको व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै किसान

मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन्। पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरुको संख्या बढ्दो छ। काजुदेखि ड्रागन, अंगुर काजु, एभोकाडो, किभीको खेती फस्टाइरहेको छ।

खेतीका लागि कृषकको आकर्षण पनि बढ्दो र बजारको माग पनि उच्च छ। आजभोली मोरङको पथरी शनिश्चरेऔ३ का भुवनेश्वर पोख्रेलको दिनचर्या फेरिएको छ। पूर्वशिक्षक पोख्रेल बिहान बेलुका आफ्नो बारीमा काजुको बिरुवा स्याहार गरिरहेका हुन्छन्। उमेरले ७५ वर्षे पुगे पनि उनको जोश भने युवाको जस्तैैँ छ।

करिव ३ वर्षअघि तीर्थयात्राका लागि भारतको चारधाम जाँदा ऋषीकेशबाट ल्याएको काजुको बिरुवाले पोख्रेललाई व्यवसायी बनाएको छ। तीन वर्षपछि नै तिनै बिरुवाले उत्पादन दिन थाल्यो। अहिले करिव ३ कठ्ठा जग्गामा पोख्रेलले काजुका बिरुवा लगाएका छन्। पोख्रेलको बारीमा अहिले काजुदेखि ड्रागन, अंगुर सम्मका बिरुवा छन्। पोख्रेलले रोपेको काजुले उत्पादन दिन थालिसकेको छ।

काजु फल्न थालेपछि खुसी भएका पोख्रेलले काजुका बिरुवा समेत उत्पादन गर्न थालेका छन्। पहिलो वर्ष ५ केजी उत्पादन भएको काजुलाई पुनः रोपेर पोख्रेलले विरुवा उत्पादन गरे। तिनै बिरुवावाट अहिले उत्पादन सुरु हुन थालेको छ। नेपालमा पनि काजुको व्यावसायीक खेती सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन्।

छोटो समयमा राम्रो आम्दानी हुने भएकाले व्यावसायिक रुपमा काजुको खेती गराउन बिरुवा उत्पादन गरी विक्रीवितरण थालेको उनको भनाइ छ। सामुन्द्रिक सतहवाट १ हजार ६ सय मिटर सम्मको उचाइमा हुने काजुको खेती गर्न सकिन्छ।

काजुको विरुवा १० फुटभन्दा अग्लो हुन्छ। हाल बार्षिक ५ सयभन्दा बढी बिरुवा उत्पादन गर्दै आएका पोख्रेलले स्थानीय क्षेत्रमा ७५ रुपयाँको दरले बिक्री वितरण गर्दै आएका छन्। नर्सरीवाटै झापा, मोरङ्ग र सुनसरीसम्म बिरुवा बिक्री भएपछि पोख्रेलको मुहारमा खुसी छाएको छ। बिरुवाको माग पहाडी जिल्ला तेह्रथुमसम्म हुन थालेको छ।

बिरुवा उत्पादन थालेको पहिलो वर्ष नै उर्लाबारी नगरपालिका कृषि शाखाले १ सय ५० जति बिरुवा किसानलाई बाँडेर फल उत्पादन हुन थालेको छ। उब्जनी नदिने रुख्खो जमिनमा अन्य काठका बिरुवाको स्थानमा काजुको विरुवा लगाए मनग्य आम्दानी हुने देखिन्छ। वरपिपलको जस्तै ठूलो झाङ्गिने भएकाले ५० केजिसम्म फल्ने पोख्रेलले आशा लिएका छन्। पोख्रेलको नर्सरीमा एउटा बोटबाट वार्षिक १५ देखि २० केजीसम्म काजु फल्न थालेको छ। ‘व्यावसायीक रुपमा काजुको खेती गर्ने हो भने जागिर खानु र विदेश जानु नपर्ने पोख्रेल बताए।

यस्तै,पथरी शनिश्चरे नगरमा नयाँनयाँ कृषि खेती सुरु भएको कृषि शाखा प्रमुख सविना राई बताउँछिन्। नगरमा काजु, अंगुर र ड्रागन खेती सुरु भएको र यसबाट कृषकले राम्रो आम्दानी भएको उनको भनाई छ। नगरले कृषकलाई प्रोसाहान गर्न एक वडा एक उत्पादन कार्यक्रमसँगै कृषको मागमा आधारीत कार्यक्रम ल्याएको राईले बताए।

नेपालमा भारत र भियतनामबाट काजु आयात हुने गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको थियो। बजारमा पाइने भारतीय काजुभन्दा नेपालमा आफैँले उत्पादन गरेको ठूलो रकम बाहिरीनबाट रोकिन्छ।

भारतमा मात्रै व्यावसायीक रुपमा उत्पादन हुदै आएको काजुका बारेमा नेपालमा अध्यायन भए आम्दानी र रोजगारी बढ्ने देखिन्छ। काजु स्वास्थ्यवद्र्धक, पोषिलो र तागतिलो हुने भएकाले यसको बजारमा राम्रो माग रहेको छ। काजु प्रतिकेजी १ हजार ६ सय देखि २ हजारसम्म बिक्री हुने गरेको छ। यसको बाहिरी फल पनि वाइन बनाउन केजिको ११ सयका दरले बिक्री हुने गरेको छ। 

प्रकाशित: ३० असार २०८१ १२:५२ आइतबार

#farmer #cashew-nuts