१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

किसानलाई भेडा वितरण

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी-७ का १८  किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताए।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सात लाख, लाभग्राहीबाट चार लाख २० हजार र कनकासुन्दरीको दुई लाख ८० हजार रूपैयाँको लागतमा भेडा खरिद गरिएको थियो।

गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई थुमा खरिद गरेर  किसानलाई वितरण गरिएको हो। उक्त समूहका २७ सदस्यमध्ये पहिलो पटकमा १८ किसानलाई भेडा वितरण गरिएको हो।

जिल्ला अन्य स्थानीय तहभन्दा कनकासुन्दरीमा भेडापालनको उपयुक्त ठाउँ समेत हो। पालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यसअघिका वर्षहरूमा पनि अन्य वडामा पनि भेडा वितरण गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ।

जुम्लामा ८४ हजार भेडा

पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा रहेको छ।

यसैगरी बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले बताए। जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र छ।

कार्यालयबाट भेडापालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिंदै आएको कार्यालयले जनाएको छ।

पछिल्लो समयमा जुम्लाका स्थानीय भेडापालनमा आकर्षित हुन थालेका छन्। बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडापालनमा आकर्षित भएको पातारासीका मुनबहादुर ऐडीले बताए। -रासस

प्रकाशित: २१ जेष्ठ २०८१ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App