२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बालेनलाई तीन दिनभित्र हाजिर हुन ताकेता

सडक डिभिजन काठमाडौले शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई ‘केही बुझ्नुपरेको छ’ भन्दै तीन दिनभित्र डिभिजनको कार्यालयमा हाजिर हुन म्याद दिएको छ। तीन दिनभित्र कार्यालयमा हाजिरी हुन नआए कानुनबमोजिम थप कारबाही गर्ने चेतावनीसमेत डिभिजनले दिएको छ।

डिभिजनका प्रमुख नारायणदत्त भण्डारीले हस्ताक्षर गरेको चिठी शुक्रबार नै महानगरलाई बुझाइएको डिभिजन स्रोतको भनाइ छ। ‘मेयरलाई कार्यालयमै हाजिरी हुन बोलाउनुको मतलब महानगरका मेयरलाई कारबाहीको प्रक्रिया अघि बढाइएका रूपमा बुझ्न सकिन्छ,’ सडक डिभिजनका एक उच्च कर्मचारीले भने।

सडक डिभिजन काठमाडौंका प्रमुख भण्डारीले डिभिजनको अनुमतिबिना फुटपाथ बढाउने नामम न्युरोडको सडक भत्काइएको विषयमा डिभिजनको कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएको बताए।

यस विषयमा कानुनी प्रक्रिया बुझ्न भण्डारीले डिभिजनका नायब सुब्बा तीर्थराज जोशीलाई शुक्रबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएका थिए। जोशीले सरकारी वकिल कार्यालयका कर्मचारीहरूसँग सरसल्लाह गरेका थिए। त्यसपछि भण्डारीले बालेनलाई चौथो चिठी लेखेका हुन्।

तेस्रो पटक चिठी लेख्दा पनि बालेनले औपचारिक रूपमा कुनै जवाफ नदिएको र भत्काइएको सडक पुनः स्थापना नगरेकाले चौथो पटक चिठी लेख्नुपरेको डिभिजन कार्यालयका कर्मचारीहरूको भनाइ छ। अब भने कानुनी प्रक्रियामै जाने मानसिकतमा आफूहरू भएको एक कर्मचारीले बताए।

सडक डिभिजन स्रोतका अनुसार महानगरका दुई कर्मचारीहरू सुनिल लम्साल र सुरोज शाक्य बिहीबार सडक डिभिजन काठमाडौंको कार्यालयमा आई डिभिजन प्रमुख भण्डारीसँग छलफल गरेका थिए।

स्रोतका अनुसार उनीहरूले न्युरोडमा सडक भत्काइएको विषयमा कारबाहीको प्रक्रिया अघि नबढाउन भण्डारीलाई आग्रह गरेका थिए। ‘सडक डिभिजनसँग हाम्रो हाम्रो आपत्ति होइन। हाम्रो आपत्ति माथिसँग हो। त्यसैले तपाईंहरूले कारबाही नगर्नुहोस्। हामी मिलेर जानुपर्छ भन्ने उहाँहरूको भनाइ थियो,’ डिभिजनका एक कर्मचारीले बताए।

डिभिजनको सहमतिविना काठमाडौं महानगरपालिकाले न्युरोडस्थित जुद्ध सालिक–इन्द्रचोक सडकखण्डमा सडक खन्ने तथा भत्काउने गरेको र भत्काइएको सडकलाई अहिलेसम्म जस्ताको त्यस्तै राखेको भन्दै बालेनसँग सडक डिभिजन कार्यालय तथा सडक विभागका कर्मचारीहरू आक्रोशित भएका छन्।

गत बुधबार सडक डिभिजनले बालेनलाई तेस्रो पटक चिठी लेखेर न्युरोडमा भत्काइएको सडक दुई दिनभित्र पुनः स्थापना गर्न चेतावनी दिएको थियो। महानगरले दुई दिनभित्र भत्काइएको सडक नबनाएपछि डिभिजनले चौथो चिठी पठाएको हो।

यसअघि पनि डिभिजनले यस्तै व्यहोरोका चिठी तीन पटक बालेनलाई पठाइसकेको छ। पहिलो, दोस्रो र तेस्रो चिठीलाई बेवास्ता गरेपछि डिभिजनले चौथो पटक चिठी पठाएको हो।

यसअघि सडक डिभिजनले जेठ ३ गते महानगरलाई पहिलो पटक चिठी पठाएर काठमाडौंको न्युरोड सडक डिभिजन कार्यालय काठमाडौंको कार्य क्षेत्रभित्र पर्ने भएकाले डिभिजनको सहमतिबिना उक्त क्षेत्रमा कुनै पनि काम नगर्न/नगराउन अनुरोध गरेको थियो।

यसैगरी डिभिजनले २०८१ जेठ १३ गने दोस्रो पटक चिठी पठाएर भत्काएको सडकलाई पुनः स्थापना गर्न आग्रह गएिको थियो।डिभिजनले भत्काइएको पुनःस्थापना नगरे सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाउन बाध्य हुने चेतावनी दिएको छ।

सार्वजनिक सडक ऐन, २०३१ मा सार्वजनिक सडक बिगार्ने, अवरोध गर्ने तथा भत्काउनेलाई जरिवाना तथा कैद सजाय गर्ने व्यवस्था गरिएको छ। केही दिन अघि काठमाडौं महानगरपालिका मेयर शाहले एकएक ट्रक फोहोर र धुला सडक विभाग र सडक डिभिजनको कार्यालय अगाडि फाले पछि महानगर र सडक विभागवीच विवाद सुरु हुदै आएको छ।

बालेन र वडाअध्यक्षबीच चर्काचर्की

महानगरको बोर्ड बैठकमा शुक्रबार मेयर शाह र महानगरका २२ नम्बर वडा अध्यक्ष चिनीकाजी महर्जनबीच चर्काचर्की नै भएको छ। २२ नम्बर वडामा न्युरोड क्षेत्र पर्छ। बोर्ड बैठकमा न्युरोडको सडक भत्काएको विषयमा महर्जनले शाहसँग आपत्ति जनाएका थिए भने बालेनले त्यसको प्रतिवाद गरेका थिए।

चिनीकाजी महर्जन, अध्यक्ष २२ वडा

न्युरोडमा फुटपाथ बढाउने नाममा मोटर गुड्ने बाटो साँघुरो बनाउन नहुने महर्जनले अडान राखेका थिए भने न्युरोडको फुटपाथ बढाउनु पर्ने तर्क बालेनको थियो। ‘न्युरोडको सडकलाई साँधुरो पार्ने हो भने न्युरोडभित्र सामान ढुवानी गर्न ट्रक, दमकल छिर्नसमेत गाह्रो हुन्छ।

यसबाट व्यापार, व्यवासायमा अवरोध हुन्छ,’ महर्जनले भने, ‘१९९० को भूकम्पपछि बनाइएको न्युरोडको पेटी र सडक पुरातात्विक महत्वको क्षेत्र पनि हो। त्यसैले यसको मौलिकता जोगाउनु महानगरको काम पनि हो।’

फुटपाथ बढाउने नाममा सडकलाई साँघुरो बनाउनुभन्दा अहिले भइरहेको पेटी र सडकलाई राम्रोसँग व्यवस्थापन गर्नु नै महानगरका लागि उपयुक्त काम हुने महर्जनको भनाइ छ।

प्रकाशित: १९ जेष्ठ २०८१ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App