५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सडक बालबालिका संरक्षणका निम्ति धेरै काम गर्न बाँकी छ: चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले कैलाली र कञ्चनपुरका बाल संगठनहरुको अनुगमन गरेकी छन्। जिल्ला भ्रमणमा रहेका मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएकी छन्।

मन्त्री चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुनामणि भट्टले ज्ञापन पत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले समस्या समाधानका लागि आफ्नो पक्षबाट हुने सबै कामका लागि आफू तत्पर रहेको बताइन्।

मन्त्री चौधरीले बालग्राममा बसेका बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएकी छन्। उनले भनिन्, ‘मैले हिजैदेखि यी विषय नियालिरहेकी छु। तपाईंहरू पूर्ण बालअधिकार सुनिश्चित गर्ने गरी लाग्नु होला तपाईंहरूलाई सरकारको साथ रहन्छ।’

बालकहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पनि मन्त्री चौधरीले निर्देशन दिइन्। उनले अहिले पनि सडक बालबालिकाका विषयमा गम्भीर हुनुपर्ने अवस्था रहेको बताइन्। 

नेपाल बाल सङ्गठनको सुदूरपश्चिममा धेरै संरचना रहेको तर ती संरचनाको संरक्षण हुन नसकेको विषयमा पनि आफूहरू गम्भीर रहेको उनको भनाइ छ।

‘प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले पनि यो विषयमा चासो राख्नुभएको छ। ती सबै संरचना र सम्पत्ति सरकारले संरक्षण गर्छ’, उनले भनिन्। ४० भन्दा धेरै जिल्लामा संरचना र सम्पत्ति रहेको भन्दै सबै संरक्षण गर्नुपर्ने अवस्था रहेको उनले सुनाइन्।

स्थापना कालदेखि नै अनाथ तथा असहाय बालबालिकालाई हेरचाह गर्दै आएको धनगढी बाल संरक्षण गृहमा २० जना बालक रहेका छन्। उनीहरू नजिकैको त्रिनगर विद्यालयमा अध्ययनरत छन्।

अझै पनि अभिभावकविहीन बालकको ठूलो संख्या सडकमा भौँतारिरहेको र शिक्षा र स्वास्थ्य पाउन सकस भइरहेको अवस्था छ। प्रदेशस्तरीय बालगृह स्थापनाका लागि १० करोड रुपैयाँ माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ।  

धनगढी उपमहानगरले सटर भत्काएको हुँदा आम्दानीको स्रोतसमेत बन्द भएको गुनासो ज्ञापनपत्रमा उल्लेख गरिएको छ। नियमित आयस्रोतका लागि तत्काल व्यावसायिक भवन निर्माण गर्ने र त्यसका लागि २ करोड माग गरिएको छ।

यसैगरी मन्त्री चौधरीले नेपाल बाल संगठन कञ्चनपुरको अनुगमन गरिन्। बाल संगठनको सम्पत्तिको संरक्षण गर्न निर्देशन दिँदै विभिन्न व्यक्तिले अतिक्रमण गरेका २ बिघा जग्गा फिर्ता लिएर राज्यको सम्पत्तिको संरक्षण गरेकोमा उनले धन्यवाद व्यक्त गरिन्।

नेपाल बाल संगठन कञ्चनपुरका सभापति रामबहादुर बुढाले मन्त्री चौधरीसमक्ष ज्ञापनपत्र बुझाउँदै बाल संगठनको विकास तथा बालबालिकाको संरक्षणका निम्ति धेरै काम गर्न बाँकी रहेको बताए।

प्रकाशित: १३ जेष्ठ २०८१ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App