३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कर्मयोगी पहाडी समाजसेवा पुरस्कार परियारलाई

डा. विष्णु परियार (दायाँ) लाई पुरस्कार प्रदान गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की।

बद्री पहाडी समाजसेवा पुरस्कार–२०८० समाजसेवी डा. विष्णु परियारलाई प्रदान गरिएको छ। शनिबार आयोजित एक समारोहबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उक्त पुरस्कार प्रदान गरिन्।

परियारले नेपाल र नेपालीका लागि पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको नेपाल मानवअधिकार तथा शान्ति समाजले जनाएको छ। १ लाख १० हजार राशिको यो पुरस्कार गत फागुन ३० मै छनोट समितिको सिफारिसमा घोषणा गरिएको थियो।

नागरिक समाजका अगुवा कृष्ण पहाडीका बाबु बद्री पहाडीका नाममा उक्त पुरस्कार स्थापना गरिएको हो। मानवअधिकार र शान्तिको क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तिलाई पुरस्कार प्रदान गर्ने उद्देश्यले पहाडी परिवारले १० लाख रूपैयाँबाट पुरस्कार स्थापना गरेको थियो।

सन् १९७३ मा गोरखाको ताक्लुङमा जन्मेकी परियारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अधिकार र विकासको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकी छन्। २५ वर्षदेखि अमेरिकामा बस्दै आएकी उनले नेपालका सीमान्तकृत बालबालिकाको शिक्षाका लागि योगदान दिँदै आएकी छन्।

दलित महिला उत्थान केन्द्रमार्फत महिलाहरूको आर्थिक सशक्तीकरणका लागि पनि उनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। सो अवधिमा उनले दुई लाख बालबालिकाको शिक्षा र ५० हजार महिलाको आर्थिक सशक्तीकरणमा योगदान गरिसकेकी छन्।

गोरखाको विपन्न परिवारमा जन्मिएकी उनको शिक्षामा पहुँच थिएन। उनका अनुसार त्यतिबेला विद्यालयमा पनि जातीय विभेद थियो। यही क्रममा गोरखा पुगेको पिस्कोरले उनलाई उच्च शिक्षाका लागि काठमाडौं ल्याएर सहयोग गरेको थियो। काठमाडौंबाट अमेरिका पुगेर उनले अध्ययनसँगै सामाजिक क्षेत्रमा काम गर्न थालेकी थिइन्।

पुरस्कृत परियारले जन्मभूमिमा प्राप्त गरेको यो पुरस्कार आफ्नो जीवनमा सबैभन्दा विशेष सम्मान भएको बताइन्। ‘मेरो मातृभूमिमा भएको यो सम्मानलाई अहिलेसम्मकै ठुलो प्राप्ति ठानेकी छु,’ उनले भनिन्।

परियार बस्दै आएको मासाच्युटेस राज्यको शिक्षा विभागले कक्षा ७ को पाठ्यक्रममा उनको जीवनी समावेश गरेको छ। म्यानर कलेजले सन् २०१३ मा उनलाई मानार्थ ‘डक्टर अफ लेटर्स’ ले समेत सम्मान गरेको छ। 

प्रकाशित: ९ वैशाख २०८१ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App