४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

विशु पर्व मनाउन घर फर्कने नेपालीकाे लर्को

विशु पर्व अर्थात् नयाँ साल मनाउन कैलालीको त्रिनगर भन्सार नाकाबाट एक सातामा चार हजारभन्दा बढी नेपाली घर फर्किरहेका छन्। सुदूरपश्चिमवासीले मनाउँदै गरेको विशु पर्व मनाउन रोजगारीका लागि भारत गएका चार हजार पाँच सय २८ जना नेपाली घर  फर्किएको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ।

हेल्प डेस्कका अनुसार उनीहरु भारतका केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न सहरबाट  फर्किएका हुन्। चाडपर्व नजिकिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको देखिएको छ।

भारतको सुरतमा रोजगार गर्दै आएका कैलालीको ओलानीका राम टमटाले विशु पर्व अर्थात् नयाँ साल मनाउन घर  फर्किएको बताए। ‘विशु मनाउन घरपरिवार प्रतीक्षामा रहेका हुन्छन्। हिउँदेबाली पनि भित्र्याउनु पर्‍यो। त्यही भएर घर फर्किएँ’, उनले भने।  

खेतीपाती भित्र्याउने समय भएको र विशु पर्व पनि आइरहेकाले आफू भारतको बैंङलोरबाट आएको डोटीको दीपायलका राम जोशीले बताए। यसरी छिमेकी मुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन्।  

खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्रयाउने समयमा घर आउने यहाँको चलन छ। खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन्।  

सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहरमा जाने गर्दछन्।

विनाभिसा आवतजावत गर्न र सहजै रोजगारी प्राप्त हुने गरेका कारणले पनि नेपालीको प्रमुख रोजगारीको गन्तव्य स्थान छिमेकी राष्ट्र भारत बन्न पुगेको हो।

विशु पर्व अर्थात् नयाँ वर्षका दिन तीतेपातीले नुहाएर पूजाआजा गरी गतानि डुब्का, बटुक, माडालगायतका स्थानीय खानाका पकवान खाने प्रचलन रहिआएको छ। -रासस

प्रकाशित: ३० चैत्र २०८० १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App