२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सद्भावको सहरबाट सबैलाई ‘इद मुबारक’

नेपालगन्जमा बिहीबार सँगै बसेर इद मनाउँदै मुस्लिम र गैरमुस्लिम समुदाय। तस्बिर: अर्जुन/नागरिक

नेपालगन्जका मजिद अलि सेख हरेक वर्ष इद मनाउन घरमा आफ्ना साथीभाइ र शुभेच्छुकलाई निम्तो दिन्छन्। उनको निम्तो मान्न हिन्दु समुदायका व्यक्तिहरू पनि उपस्थित हुन्छन्। दसैं, तिहारजस्ता चार्डपर्वमा उनी पनि हिन्दु समुदायका घरमा पुगेर टीका लगाउँछन् र आशीर्वाद थाप्छन्।

‘इदमा हामी पानीसमेत नखाएर एक महिनासम्म व्रत बस्यौं। इदलाई हामी मुस्लिम मात्र नभएर हिन्दु समुदायका दाजुभाइसमेत मिलेर धुमधामसँग मनाइरहेका छौं,’ उनले भने, ‘इद मनाउन मेरो घरमा साथीभाइ जम्मा हुँदा खुसी लाग्छ।’

सबै धार्मिक समुदाय मिलेर इद मनाउँदा झनै रमाइलो लाग्ने सेख बताउँछन्। नेपालगन्जका हरित अभियन्ता हेमन्तराज काफ्ले हरेक वर्ष इद मनाउँछन्। हिन्दु समुदायको भए पनि आफूलाई मुस्लिम समुदायको चाडप्रति सम्मान र निकै गर्व महसुस हुने उनी बताउँछन्। ‘नेपालगन्ज सद्भावको सहर हो। इदमा मलाई थुप्रै मुस्लिम समुदायका साथीहरूले बोलाउनुहुन्छ,’ उनले भने।

उनले अगाडि भने, ‘विगतका वर्षमा झैं यस वर्ष पनि अलि सेखजीले बोलाउनुभयो। अरू थुप्रै साथीले पनि निम्तो गर्नुभएको छ। इदमा उहाँहरू मिठो–मसिनो खानेकुरा खुवाउनुहुन्छ। नेपालगन्जमा हिन्दु–मुस्लिमबीच भाइचारा र आत्मीयता झल्केको महसुस हुन्छ।’

जसरी उनी मुस्लिम समुदायको घरमा पुगेर इद मनाउँछन्, त्यसरी नै दसैं, तिहारजस्ता चाडमा पनि मुस्लिम समुदायका साथीहरूलाई घरमा बोलाउँछन्।

नेपालगन्जमा पछिल्लो समयमा हिन्दु र मुस्लिमले एकअर्काको पर्व मनाउने परम्परा स्थापित नै भइसकेको छ। हिन्दु, मुस्लिम, सिख, इसाई, बौद्धलगायत धर्ममा आस्था राख्ने समुदायबीच धार्मिक सहिष्णुता बढ्दै गएको छ।

विशेषगरी हिन्दु र मुस्लिम समुदायमा अझ बढी धार्मिक सहिष्णुता झल्किन्छ। समय–समयमा केही उच्छृंखल तत्त्वबाट धार्मिक द्वन्द्व फैलाउने प्रयास भए पनि उनीहरू असफल हुने गरेको यहाँका अगुवाहरू बताउँछन्।

लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिर इदको शुभकामना आदानप्रदान गर्न बिहीबार बिहानैदेखि इदगाह तथा मुस्लिम समुदायका घर–टोलमा व्यस्त भए। ‘इदको मुबारक (शुभकामना) दिन म धेरै व्यस्त छु।

यो पर्व धार्मिक सहिष्णुताको नमुना पनि हो। म यो क्षेत्रको विधायक र मन्त्री पनि भएकाले सबैलाई भेटेर शुभकामना दिएको छु,’ मन्त्री अहिरले भने। मुस्लिम समुदायले मनाउने इद र हिन्दु समुदायका दसैं, तिहारजस्ता चाडले धार्मिक सहिष्णुता झल्काउने लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्ले बताउँछिन्।

हरेक वर्ष आफूले मुस्लिम समुदायका घरमा पुगेर इद मनाउने गरेको र दसैं, तिहारमा आफूले पनि घरमा बोलाएर मुस्लिम समुदायका दाजुभाइ, दिदीबहिनीलाई मिठो–मसिनो खुवाउने गरेको उनले सुनाइन्।

नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोबी यहाँको धार्मिक सद्भावलाई कसैले पनि बिगार्न नसक्ने ठोकुवा गर्छन्। ‘केही कुतत्त्व हाम्रो सद्भावलाई बिगार्न खोज्छन् तर हामीबीचको सद्भाव बिग्रिँदैन,’ उनले भने।

नेकपा एकीकृत समाजवादीकी नेत्री करिश्मा योगीलाई पनि हरेक वर्ष इद पर्वमा मुस्लिम समुदायका व्यक्तिहरूको निम्तो आउँछ। उनी निम्तो मान्न मुस्लिम समुदायको घरमा हरेक वर्ष पुग्छिन्।

‘हिन्दु धर्मावलम्बीको दसैं, तिहारजस्तै मुस्लिम धर्माबलम्बीको महान् चाड इद हो। हामीलाई जसरी उहाँहरूले आफ्नो पर्वमा बोलाउनुहुन्छ, एकदमै सम्मानपूर्वक उहाँहरूको कार्यक्रममा सहभागी हुन्छौं,’ उनले भनिन्।

जसपाका युवा नेता एवं भूमि आयोग बाँकेका निवर्तमान अध्यक्ष श्रवणकुमार यादव नेपालगन्जमा एक धर्मले अर्को धर्मलाई सम्मान र सहिष्णुता राख्ने परम्परा बसिसकेको तर्क गर्छन्।

‘हामी एउटै ठाउँमा बसेका छौं। धर्म मात्र फरक हो। हाम्रो चाडपर्वमा हामीले उहाँहरू (मुस्लिम) लाई निमन्त्रणा गर्छाै। उहाँहरूले पनि आफ्नो चाडपर्वमा हामीलाई निम्तो दिनुहुन्छ। मिलेर चाडपर्व मनाउँदा अझ बढी रमाइलो हुन्छ,’ उनले भने।

नेपाल समाजवादी पार्टी (नेसपा) को महाधिवेशन आयोजक समिति सदस्य हिक्मत विक नेपालगन्ज सहरको विशेषता नै विविधतामा एकता रहेको बताउँछन्।

‘मुस्लिम समुदायको सबैभन्दा ठुलो चार्ड हो इद। यस्ता चाडपर्वमा शुभकामना साटासाट गर्ने, भेटघाट गर्ने र रमाइलो गर्ने परम्परा स्थापित भइसकेको छ,’ उनले भने।

इदका अवसरमा नेपालगन्जस्थित बिपी चोकमा रहेको इदगाहमा पुगेर बिहीबार ठुलो संख्याका मुस्लिम समुदायले नमाज पढे। त्यसक्रममा मुस्लिम र गैरमुस्लिम समुदायले आपसमा अंकमाल गरेर शुभकामना साटासाट गरेका थिए। 

प्रकाशित: ३० चैत्र २०८० ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App