३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चुनढुङ्गा खानी बन्द गर्न स्थानीयको माग

कटारी ८ सिरिसेस्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानी। तस्विरः महेश्वर

उदयपुरको कटारीमा सञ्चालित विभिन्न ब्राण्डका सिमेन्ट उद्योगका चुनढुङ्गा खानीहरु बन्द गर्न स्थानीयले माग गरेका छन्। कटारी नगरपालिका ८ नं. वडावासीले अत्याधिक प्रदुषण बढेको, चुनढुङ्गा ओसारपसार गर्ने टिफरले बर्सेनि सडक क्षति गर्ने गर्दा धुलो र हिलोको सामना गर्नुपरेको भन्दै खानीहरु बन्द गर्न माग गरेका हुन्।

कटारी ८ को सिरिसेका विभिन्न ३/४ ठाउँमा सञ्चालित सौर्य र मारुती सिमेन्टका खानीका कारण प्रदुषणले हैरान हुनुपरेको स्थानीयको गुनासो छ।

वर्षौँदेखि सञ्चालन हुँदै आएका ती खानीका कारण घरभित्र चुलाचौका र ओछ्यानसम्म धुलोधुँवा पसेर प्रदुषण हुने, बालीनाली धुलोले छोपेर फल्नै नदिने तथा पानी, लुगा र खानेकुरा सबै प्रदुषित गर्ने गरेको गुनासो उनीहरुको छ।

त्यसैगरी सडक नाला बर्सेनि भत्काएर हिँडडुल गर्न अप्ठेरो हने तथा  मर्मत गर्न राज्यलाई वर्षेनी करोडौँ खर्च हुने भन्दै खानी बन्द गर्नुपर्ने स्थानीयको माग छ।

खानी सञ्चालन गर्नुपूर्व निश्चित शर्तहरु राखेर माग सम्बोधन गर्ने भन्दै नगरपालिका र प्रशासनसँग पटकपटक गरेको सम्झौता उद्योगले उल्लङ्घन गर्दा यस्तो सास्ती बेहोर्नुपरेको उनीहरुको भनाइ छ। सम्झौता पुरा नगर्ने उद्योगलाई चुनढुङ्गा दिन नहुने भन्दै खानी बन्द स्थानीयको मागपछि केहीदिनयता ढुवानी कार्य रोकिएको छ।

उद्योगले प्रतिबद्धता जनाए अनुसार बस्तीको उचित व्यवस्थापन, जमिनको उचित मूल्याङ्कन गरी मुअब्जा वितरण, वातावरणीय प्रभाव मूल्याङ्कंन (आईईई) कार्यान्वयन, आईएलओ १६९ कार्यान्वयनलगायत सम्झौता कार्यान्वयन उद्योगले गर्नुपर्नेमा आफ्नै प्रतिबद्धता पुरा नगरेपछि यस्तो अवस्था सिर्जना भएको स्थानीय बताउँछन्।

उद्योगले प्रतिबद्धता पुरा गर्नुपर्ने माग राख्दै खानीबाट ढुवानी बन्द गरेपछि केहिदिनयता सौर्य सिमेन्टको चुनढुङ्गा खानीबाट ढुवानी गर्ने कार्य अवरुद्ध भएको छ। ढुवानी अवरुद्ध भएसँगै टिफरमा कार्यरत मजदुरहरु भने कामविहीन हुन पुगेका छन्।

मजदुर आन्दोलित  

चुनढुङ्गा ढुवानी बन्दले टिफर आउजाउ रोकिएर रोजीरोटी खोसिएको भन्दै मजदुर संगठन भने आन्दोलिन भएको छ। आफूरुलाई कामविहीन बनाइएको भन्दै नेपाल स्वतन्त्र यातायात मजदुर संगठन कटारी नगरले बन्द हडतालविरुद्ध आइतबार दिउसो प्रदर्शन गर्दै सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको छ।

कटारी नगरभित्र कार्यरत टिफर व्यवसायमा आवद्ध मजदुरहरुको समूहले कटारी बजारबाट निकालेको र्‍याली नगर परिक्रमा गरी इलाका प्रशासन कार्यालय, इलाका प्रहरी  कार्यालय र कटारी नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।

मजदुरहरुले आफुहरुको काम सुनिश्चित हुनुपर्ने माग ज्ञापन पत्रमार्फत् गरेका छन्। चुनढुङ्गा ढुवानी रोकिदा मजदुर र उनीहरुमा आश्रित परिवार प्रभावित भएको भन्दै सम्बन्धित निकायले तत्काल समाधान खोज्न ज्ञापनपत्रमा ध्यानाकर्षण गराइएको संगठनका पूर्व अध्यक्ष दिपक माझीले बताए।

माझीका अनुसार उद्योग र नगरपालिका तथा स्थानीयबीच भएको सम्झौता कार्यान्वयन गरेर होस् या अन्य उपाय अवलम्बन गरेर चाँडो मजदुरलाई काम दिलाउन माग गरिएको  छ। विभिन्न समयमा हुने पटकपटकका यस्ता वन्द हड्तालले मजदुरको पेटमा लात्ती हान्ने गरेको भन्दै सम्बन्धित निकायले स्थानीयको माग पुरा गरेर वन्द हड्ताल तत्काल खोल्नुपर्ने मजदुर संगठनका अध्यक्ष मानबहादुर राईले बताए।

बन्द हड्ताल तत्काल हटाएर मजदुरलाई नियमित काम गर्ने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ। त्यही माग पुरा गराउने उदेश्यले आफुहरुले शान्तिपूर्ण प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएको उनले बताए। मजदुरलाई कामविहीन बनाउन कुनै स्वार्थ समूहलाई खेल्ने मौका नदिनका लागि समस्याको दीर्घकालीन समाधान खोज्न मजदुरहरुको आग्रह छ।

उता वातावरणीय प्रभावले स्थानीयलाई चर्को प्रदुषणको मार्का परेको र यता मजदुरहरु भोको पेट बस्नुपर्ने अवस्था अन्त्य गर्न सरोकारवालापक्षबीच तत्काल सहमति खोज्नुपर्ने पनि मजदुरहरुको दबाब छ। तर, यसबारे छलफल गर्ने प्रयास भईरहे पनि हुन सकेको छैन। कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले स्थानीय र उद्योगपक्षलाई राखेर समाधान खोज्ने प्रयास भईरहेको बताएका छन्। 

प्रकाशित: २० चैत्र २०८० ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App