२३ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ: नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक संघर्ष गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंको नयाँ बानेश्वरमा नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले गाउँ–गाउँका गरिब जनता सहकारी ठगबाट पीडित रहेकाले जनस्तरमै सडक सङ्घर्षको अपरिहार्यता रहेको औँल्याए।

राज्यको दोहन गर्दै जनतालाई ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन कांग्रेसको भूमिका थप सशक्त हुनुपर्ने महर बताउँछन्। ‘सरकार सहकारी पीडित जनताको पक्षमा देखिएन। आफ्नै क्याबिनेटका सहकारी ठग मन्त्री र अन्य सहकारी ठगीका दोषीलाई संरक्षण गर्ने नाइके जस्तो देखियो’, उनले भने, ‘यस्तो अवस्थामा पीडितलाई न्याय दिन कांग्रेसले सदनसँगै जनताको माझमा रहेर सडक संघर्ष गर्नुपर्छ। ७७ वटै जिल्लामा सङ्घर्षका कार्यक्रम अगाडि बढाउनु पर्छ।’

सहकारी ठगी जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको र ठगिएका जनता गाउँ–गाउँमा रहेकाले कांग्रेसको आन्दोलन पनि सडक हुँदै सदनसम्म केन्द्रित हुनुपर्ने महरको धारण छ।

यस्तै नेता महरले सहकारी ठगीको अभियोग खेपिरहेका कुनै एक मन्त्रीका कारण संसद्लाई अनिर्णयको बन्दी बनाउनु आपत्तिको विषय भएको बताएका छन्। सहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सिङ्गो सरकार लाग्नु र संसद्लाई अनिर्णयको बन्दी बनाउनु लज्जाको विषय भएको महरको भनाइ छ।

लोकतन्त्रमा लुटतन्त्र र ठगतन्त्र नचल्ने भएकाले लामिछानेलाई तत्काल राजीनामा दिएर मार्ग प्रशस्त महरको चेतावनी छ।

संसदमा लामिछानेलाई बोल्न नदिने विषय पनि उत्तम नभएको महरको धारणा छ। ‘कुनै लघुताभाष नभएका गैर जिम्मेवार गृहमन्त्रीका कुरा पनि सुनौँ। जताततै ठग्न पल्किएका गृहमन्त्रीले सदनमा जति प्रस्टीकरण दिए पनि जनता पत्याउने अवस्थामा छैनन्। उनले जनतामाथि घात गर्दै पूर्ण विश्वास गुमाइसके,’ महरले भने।

यसका साथै सहकारी ठगीमा अभियोजन पत्र दर्ता भइसकेर किटान भएका गृहमन्त्री लामिछाने, जिवी राईलगायत देशभरका सङ्कटग्रस्त सहकारीको छानबिन गर्न सरकारले तत्काल छानबिन समिति बनाएर अनुसन्धान अगाडि बढाउनुपर्ने महरले माग गरेका छन्। सहकारी ठगकै कारण मान्छे मर्ने अवस्था पुगिसकेको प्रसङ्ग उल्लेख गर्दै नेता महरले भने, ‘सहकारी गठहरूकै कारण मुलुकको अर्थतन्त्र तहस नहसको अवस्थामा पुगेको छ। जनताको कराडौं रुपैयाँ डुबेको छ। जनता मर्न बाध्य छन्। यस्तो अवस्था सिर्जना गर्नेहरूको संरक्षणमा सरकार नै किन लागेको होला ? भनेर अचम्म लागिरहेको छ।’

महरले सरकार मात्र नभएर सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छानबिन समिति बनाउन बाधा खडा गरिरहेको आरोप लगाएका छन्। ‘सहकारी ठगीको निष्पक्ष छानबिन भयो भने एमालेलगायत गठबन्धनमा संलग्न दलका धेरै नेताहरू अनुसन्धानको दायरामा आउन सक्ने भएकाले एमाले अध्यक्ष ओलीलगायत छानबिन समिति बनाउन बाधा खडा गरिरहनु भएको छ,’ उनले भने।

संसदीय व्यवस्थाको पक्षपाती दल कांग्रेस भएकाले संसदीय कामकारबाहीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर बन्नु पर्ने महरको धारण छ। ‘सदनमा जुनसुकै मन्त्रीले पनि बोल्न पाउनुपर्छ। विश्व राजनीतिमा यो संसदीय व्यवस्थाको सुन्दर पक्ष पनि हो। संसदको ठूलो दल कांग्रेस भएकाले हाम्रो भावनालाई लत्त्याएर अगाडि बढ्ने सभामुखको चलखेल पनि कपटपूर्ण देखिन्छ। सभामुख तथष्ट हुनुपर्छ’, उनले भने। राजनीतिक बेइमानी गरेर सदनलाई अगाडि बढाउन खोजे त्यो कांग्रेसका लागि स्वीकार्य नहुने महरको चेतावनी छ।

प्रकाशित: ३० वैशाख २०८१ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App