१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

महाशिवरात्रिमा भिआइपी दर्शन हटाइयो

पशुपति क्षेत्र विकास कोषले शुक्रबार पर्ने महाशिवरात्रिका लागि सबै तयारी पूरा गरिसकेको जनाएको छ। महाशिवरात्रिमा पशुपति क्षेत्रभित्र हरेक वर्ष सात लाखको हाराहारीमा दर्शनार्थी आउने गरेका छन्।

सर्वसाधारण दर्शनार्थीको सहजतालाई ध्यानमा राखी यसपटक ‘भिआइपी’ दर्शन हटाइएको कोषका सदस्यसचिव राजु खत्रीले बताए। भिआइपीलाई दर्शनको व्यवस्था मिलाउँदा सामान्य दर्शनार्थीलाई अप्ठ्यारो पार्ने गुनासो आएपछि विगतका अनुभवको अधारमा यसपटक सो व्यवस्था हटाएको उनले बताए।

‘पूर्वको तिलगंगा मार्गबाट पशुपतिनाथको दर्शन गर्न सक्ने व्यवस्था कोषले गरेको छ,’ खत्रीले भने, ‘यसपटक पूर्व, दक्षिण, भुवनेश्वर मार्ग र उमाकुण्ड मार्ग गरी चारै दिशाबाट दर्शन गर्न आउने भक्तजनलाई केन्द्रित गरी व्यवस्थापन गरिएको छ। १० मिनेटभित्र दर्शन गराउने कोषको लक्ष्य हो।’

यस वर्ष कोषले पहिलोपटक बागमती नदीमा पानी भर्ने व्यवस्था गरेको छ। मन्दिरमा आउने भक्तजनहरू बर्सेनि बागमतीमा नुहाएर मात्र पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्ने गरेको कारण यसपटक बागमती सभ्यताले १८ करोड ५० क्युसेट पानी भर्ने व्यवस्था गरिदिएको र साँझ ७ बजेदेखि पानी भरिने उनले बताए।

यसैगरी, विभिन्न देशबाट त्यसमा पनि भारतबाट सोमबारदेखि नै साधुसन्त आउन सुरु भइसकेको र उनीहरू आ–आफ्नो अखडामा खाने, बस्ने व्यवस्था पनि भइरहेको उनले बताए।

‘बुधबार एकादशीको दिनदेखि साधुसन्तहरू मन्दिरभित्र प्रवेश गर्ने तय गरिएको छ,’ खत्रीले भने, ‘यस वर्ष मन्दिर पनि पनि चारवटा र्‍यापमा नौ वटा लाइनबाट दर्शन गराउने व्यवस्था गरिएको छ।’

मूल समारोह समितिले पर्व व्यवस्थापन गर्न गठन गरेको विभिन्न क्षेत्रका आठवटा उपसमितिको सहकार्यमा महाशिवरात्रि पर्वका लागि आवश्यक सबै व्यवस्थापन पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।

उनका अनुसार महाशिवरात्री मेला व्यवस्थापन गर्न मूल समारोह समितिले सुरक्ष, दर्शन, चन्दन र रात्रिकालीन पुजा व्यवस्थापन उपसमिति, स्वयंसेवक उपसमिति, स्वास्थ्य सुरक्षा उपसमिति, साधुसन्त व्यवस्थापन उपसमिति, सरसफाइ तथा मेलाबजार व्यवस्थापन उपमसमिति, प्रचारप्रसार तथा आवास र भोजन उपसमिति, चप्पलजुत्ता व्यवस्थापन र वातावरण व्यवस्थापन तथा चुस्त उपसमितिहरू गठन गरेर काम अघि बढाएको हो।

‘बर्सेनि महाशिवरात्रि पर्वमा मेला भर्न आउने भक्तजनलाई शौचालयको ठूलो समस्या पर्ने गरेको विगतको अनुभवलाई दृष्टिगत गरी यसपटक कोषले पर्याप्त शौचालयको व्यवस्था गरेको छ,’ अधिकारीले भने, ‘यसपटक भारत र हिन्दु धर्म मान्ने विभिन्न देशबाट तीन हजारभन्दा बढी साधुसन्त आउने सूचना कोषलाई प्राप्त भएको छ। स्वयंसेवकलाई पनि भक्तजसँग असल व्यवहार गर्न अभिमुखीकरण गरिएको छ। स्वयंसेवक अचारसंहिता समेत जारी गरिएको छ।’

सदस्यसचिव खत्रीका अनुसार गंगा आरतीबारे उब्जिएको विवादबारे छानबिन गर्न गठन गरिएको समितिले छानबिन गरी अध्ययन प्रतिवेदन तयार पारेर बुझाउने तयारीमा छ।

प्रकाशित: २२ फाल्गुन २०८० १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App