५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

फाइल तस्बिर: नागरिक

बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ। बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएपछि प्रहरीले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा साना तथा ठूला सवारीका चालकलाई उक्त कार्यक्रम राखिएको जनाइएको छ।

कार्यक्रमअन्तर्गत दैनिक दुर्घटना न्यूनीकरणका लागि गर्नुपर्ने सावधानीका साथै दुर्घटना भइहाले गर्ने प्राथमिक उपचारलगायतका कामबारे जानकारी गराउन थालिएको हो। बुधबारदेखि बिपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङमा सुरु गरिएको उक्त कार्यक्रम जिल्लाअन्तर्गतका अन्य राजमार्ग एवं सहायक मार्गमा सञ्चालन गर्दै जाने ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेले बताए।

उनका अनुसार ट्राफिक र स्वास्थ्य कार्यालयका अधिकारीले चालकलाई दुर्घटना न्यूनीकरणका उपाय तथा प्राथमिक उपचारका बारेमा जानकारी गराइन्छ। घिमिरेका अनुसार जिल्लामा चालु वर्षको पुस मसान्तसम्म २२ जनाको दुर्घटनामा निधन भएको छ भने ८२ दुर्घटना भएका छन्। तीव्रगति, बढी आत्मविश्वास तथा अस्वाभाविक रूपमा उछिन्न खोज्नाले र चालक अनिदो हुँदा दुर्घटना हुने गरेको घिमिरेले जानकारी दिए।

नेपाल जनसंख्यायिक स्वाथ्य सर्वेक्षणले दुर्घटनामध्ये ६८ प्रतिशत मोटरसाइकल दुर्घटनामा पर्ने देखाएको छ। यसमध्ये पनि ७५ प्रतिशत बागमती प्रदेशमा दुर्घटनामा पर्ने गरेका छन्। ट्राफिक प्रहरी र स्वस्थ्य कार्यालयको समन्वयमा मंगलबार बनेपाको शिक्षा सदन माध्यमिक विद्यालय तथा बेलर इन्टरनेसनल स्कुलमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीका लागि सडक दुर्घटना रोकथाम तथा न्यूनीकरण र विद्यार्थी सचेतना कार्यक्रम आयोजना गरिएको थियो।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुर्घटनापछिका समस्या, दुर्घटना हुने कारण, सवारी चालक अनुमतीपत्र, सवारी चलाउँदा मादक पदर्थ र लागुपदार्थ सेवन नगर्न तथा सिकेका कुरा घरपरिवार र समुदायमा सचेत गर्न विद्यार्थीसँग अनुरोध गरे।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल, स्वास्थ्य कार्यालयका प्रमुख अनिता खनाललगायतले सडक दुर्घटना न्यूनीकरणमा सरोकारवाला व्यक्ति र संघसस्थाले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए। स्वास्थ्य कार्यालयले ट्राफिक प्रहरीसँगको समन्वयमा अन्य केही विद्यालयका विद्यार्थीसँगको सचेतनापछि चालक र सहचालकलाई पनि प्रशिक्षण दिने योजना बनाइएको छ।

दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत ट्राफिक प्रहरीले कम्युनिटी वेलनेश सेन्टर बनेपाको प्राविधिक सहयोगमा गत सोमबार बनेपामा चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्दा अरनिको राजमार्ग भएर गुड्ने सवारीसाधनका अधिकांश चालक तथा सहचालक मधुमेह र उच्च रक्तचापका बिरामी रहेको पाइएको छ। स्वास्थ्य परीक्षण गराएका ७४ मध्ये १५ जनामा उच्च रक्तचाप र १२ जनामा मधुमेह (सुगर) देखिएको थियो। दुर्घटना बढ्दै गएको तथा चालक, सहचालकले यात्रुसँग राम्रो व्यवहार नगरेको गुनासो आएपछि स्वास्थ्य जाँच सुरु गरिएको घिमिरेले बताए।

घिमिरेका अनुसार अधिकांश चालकमा बिहान चार–पाँचदेखि बेलुका नौ–दश बजेसम्म झन्डै १८ घण्टा सवारी चलाउँदा राम्रो निद्रा नपर्ने, खाना खाने समय नमिल्नेलगायत कारण उनीहरूको स्वास्थ्यमा समस्या देखिएको हो। सवारी दुर्घटना न्यूनीकरण गर्न चालकको स्वास्थ्य अवस्थासँगै सवारीसाधनको जाँच महत्त्वपुर्ण हुने जनाइएको छ।

जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने सडक दुर्घटना रोकथाम तथा न्यूनीकरण समितिले न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण, विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतनालगायतका कार्य निरन्तर गरिरहने जनाएको छ।

काभ्रेपलाञ्चोकअन्तर्गत काठमाडौंबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा र रामेछाप, बिपी राजमार्गबाट सिन्धुली हुँदै मध्य एवं पूर्वी तराई तथा हेलम्बु राजमार्गबाट सिन्धुपाल्चोकको मेलम्चीमा यातायातका साधन सञ्चालन हुन्छन्।  –रासस

प्रकाशित: ११ माघ २०८० ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App