१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दिगो विकास लक्ष्यको समीक्षा गर्दै नेपाल

नेपालले आगामी असार महिनाभित्र दिगो विकास सम्बन्धी ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसंघ (युएन) अन्तर्गतको उच्चस्तरीय  राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने भएको छ।

राष्ट्रिय योजना आयोगले मंगलबार काठमाडौंमा राष्ट्रिय स्वेच्छिक समीक्षा कार्यशालामा आयोजना गर्दै विभिन्न क्षेत्रबाट सुझाव लिएको छ। दिगो विकास लक्ष्यका सम्बन्धमा नेपालले सन् २०२३ सम्ममा हासिल गरेका उपलब्धिको समीक्षा र अबको कार्यदिशाबारे राय–सुझाव लिएको हो।

यसअघि नेपालले पहिलोपटक सन् २०१७ र दोस्रोपटक सन् २०२० मा समीक्षा गरेको थियो। अबको छ महिनाभित्रमा तेस्रोपटक समीक्षा गरिने आयोगले जनाएको छ।

दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले गरिरहेको काम र नतिजाको समीक्षा भइरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बताए।

दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको र निर्धारित लक्ष्य प्राप्त गर्न संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहका सरकारले भूमिका निर्वाह गरिरहेको उनले बताए।

आगामी आर्थिक वर्ष २०८१/०८२ बाट लागु हुने गरी तयार भइरहेको सोह्रौं पञ्चवर्षीय आवधिक योजनाले पनि अतिकम विकसित मुलुकबाट स्तरोन्नति र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने लक्ष्यसहित कार्ययोजनाको मस्यौदा तयार भइरहेको श्रेष्ठले बताए।

दिगो विकाससम्बन्धी तेस्रो राष्ट्रिय स्वेच्छिक समीक्षा तयार गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा रहेको दिगो विकास कार्यान्वयन तथा अनुगमन समितिले काम गरिरहेको छ।

आयोगको आर्थिक व्यवस्थापन महाशाखाले सचिवालयको रूपमा काम गरिरहेको छ। नेपालले यो प्रतिवेदन आगामी जुलाईमा संयुक्त राष्ट्रसंघ अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने पनि उपाध्यक्ष श्रेष्ठले बताए।

कार्यक्रममा संयुक्त राष्ट्रसंघको नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालले गरिरहेका कामको प्रशंसा गर्दै थप प्रगतिमूलक नतिजाका लागि प्रयास गर्नुपर्ने बताए।

अति कम विकसित मुलुकको अध्यक्ष राष्ट्र भएका हैसियतले नेपालले दिगो विकास लक्ष्य र स्तरोन्नतिका काममा थप जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड छ। सन् २०१५ मा संयुक्त राष्ट्रसंघका सबै सदस्य देशले दिगो विकास लक्ष्य (२०१६–२०३०) अनुमोदनका साथै कार्यान्वयन सुरु गरेका थिए।

नेपालले पनि ‘नेपालका निम्ति दिगो विकास लक्ष्य २०१६–३० मार्गचित्र’ तयार गरी कार्यान्वयन गरेको छ। सन् २०२२ मा दिगो विकास लक्ष्य प्राप्तिको समीक्षा गरी वर्तमान अवस्था र भावी मार्गचित्र समेत निर्धारण गरेको छ।

राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्यांकअनुसार दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले हालसम्म करिब ४३ प्रतिशत प्रगति हासिल गरिसकेको छ। एसिया प्यासिफिक क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगको समन्वयमा कार्यशाला आयोजना भएको आयोगले जनाएको छ।

कार्यशालामा सबै विषयगत मन्त्रालयका प्रतिनिधि, नेपाल राष्ट्र बैंक, सबै प्रदेशका नीति तथा योजना आयोग, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, सहकारी क्षेत्रलगायतको सहभागिता रहेको थियो।

प्रकाशित: ३ माघ २०८० ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App