१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

माघे सङ्क्रान्ति: इलाम माइबेनीमा धार्मिक मेला

माघे सङ्क्रान्तिमा लागेको इलामको माइबेनी मेला।तस्बिर: भीम/नागरिक

इलामको प्रसिद्ध धार्मिक स्थल माइबेनीमा माघे सङ्क्रान्ति अवसरमा मेला लागेको छ। मेलामा इलाम, झापा, पाँचथर ताप्लेजुङसहित सीमावर्ती भारतका दार्जिलिङ, सिलिगुडी लगायत स्थानबाट समेत हजारौँ भक्तजन भेला भएका छन्।

माई, पुवामाई र जोगमाई खोलाको सङ्गम माइबेनीमा हरेक माघे सङ्क्रान्तिमा तीन दिन ठूलो  धार्मिक मेला लाग्ने गरेको छ। आइतबारबाट सुरु भएको मेला माघ २ सम्म लाग्ने गरेको हो। माइजोगमाई गाउँपालिकाले मेला आयोजना गरेको हो।

माघे सङ्क्रान्तिको दिन वर्षाैंयता माइबेनीमा धूमधाम मेला लाग्न गरेको छ। ऐतिहासिक स्थल भएकाले माइबेनीमा स्थानीयले नै वर्षाैंदेखि मेला आयोजना गर्थे।केही वर्षयता माइजोगमाई गाउँपालिकाले नै मेला आयोजना गर्ने गरेको छ।माघे सङ्क्रान्तिका दिन जिल्लाका अरू मुख्य सहर नै सुनसान हुन्छन्। ती सहरका व्यापारी–ग्राहक सबै माइबेनी मेला झर्छन्।

माइबेनीमा मकर नुहाउँदा मनोकाङ्क्षा पूरा हुने विश्वास छ।नजिकै रहेको शिवालयमा सद्बीज छर्दा धर्म कमाउने विश्वासमा हरेक वर्ष यहाँ दर्शनार्थीको घुइँचो लाग्छ।मकर सङ्क्रान्तिको दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुल कन्दमूल खाने परम्परा कायमै छ। माइखोलामा परेवा उडाउने भाकल गर्नेहरूले पनि त्यसै दिन परेवा उडाउँछन्।

धर्म सिन्धुका अनुसार यस दिनको नदी स्नान उत्तम मानिन्छ। मकर सङ्क्रान्तिमा सूर्योदय हुनु पूर्वको नदी स्नान अझ उत्तम मानिएको छ। यस दिनको नद स्नानले कर्म सिद्धि हुने, आरोग्य ल्याउने र छालासम्बन्धी रोगको निवारण हुन्छ भन्ने विश्वास गरिन्छ। मकर स्नानको सम्बन्ध शारीरिक शुद्धिका साथै चित्तशोधनसित पनि रहेको धार्मिक विश्वास छ। यसैले मानिसहरू माघे सङ्क्रान्तिको अघिल्लै दिन माइबेनी पुगिसकेका हुन्छन्।

मौसम अनुसार सुन्तला र उखुको व्यापार सबैभन्दा बढी हुन्छ। तीन सयभन्दा बढी दोकान राखिने मेला हरेक वर्ष स्थानीय संघसंस्थाहरूले आयोजना गर्दै आएका छन्। मेलामा राडी पाखी, गलैँचा, लुगाफाटा, भाडा वर्तन, शृङ्गारका साधन र तरुलको व्यापार बढी हुन्छ।त्यसबाहेक कृषिजन्य उत्पादन पनि प्रदर्शनी र बिक्रीका लागि ल्याइएको हुन्छ।माइबेनीको अर्को आकर्षण भनेको धान नाच, चुड्केनाच, जुहारी गीत पनि हो। यी नाचहरू एक अर्काप्रति आत्मीयताको प्रतीक हुन्।  

१९२० सालतिर तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालामा माइबेनी मेला लाग्न सुरु भएको स्थानीय अग्रज बताउँछन्। पहिले महिना दिनसम्म लाग्ने मेला दुई साता, एक साता हुँदै अहिले तीन दिनमा झरेको छ।  

प्रकाशित: १ माघ २०८० १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App