सर्लाही – चार दिनयता उखु बोकेका सवारी साधनले पूर्व–पश्चिम राजमार्ग भरिभराउ बन्न थालेको छ ।ईन्दुशंकर चिनी उद्योगमा उखु लिएर आएका ट्रक र ट्रयाक्टरले भरिभराउ हुँदा हरिवनस्थित ३ किलोमिटर पूर्व–पश्चिम राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ ।
गत शनिबार राती १० बजेदेखि राजमार्गमा उखु बोकेका सवारी साधनको लाइन सुरु भएको हो ।उखु बाेकेका सवारी साधन लामो समयसम्म पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय सुरेश भट्टराईले बताए । ‘चिनी उद्योगले उखु लिएर आउने सवारी साधनको पार्किङ व्यवस्थामा उचित ध्यान नदिँदा हरेक वर्ष जसो राजमार्गमा लाइन लाग्ने गरेको छ’ उनले भने, ‘जताततै उखुका ट्रक र ट्रयाक्टर छरपष्ट राख्दा गञ्जागोल बनेको छ ।’ उद्योग पूर्व बाँसाटोलसम्म तथा पश्चिम हरिवन बजारसम्मै उखुका सवारीको लाम लाग्ने गरेको भट्टराईले बताए ।
उद्योगका उखु प्रबन्धक योगनारायण रजकले ५ दिनअघि ‘क्लिनीङ’का कारण तीन दिन उद्योग बन्द हुँदा उखुको चाप बढेको बताए । ‘सफाईका कारण ३ दिनसम्म उद्योग बन्द रह्यो’, उनले भने, ‘त्यसैले शनिबार रातीबाट उखु बोकेका सवारी साधनको चाप ह्वात्तै बढ्यो, अहिले पनि ठूलो उद्योगमा पटक–पटक समस्या आईरहेकाले सोचेजति उखु क्रसिङ हुन सकेको छैन ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक केसरमान बस्नेतले चिनी उद्योगमा आएका सवारी साधनको लामले पूर्व–पश्चिम राजमार्गको सहज आवागमनमा बाधा पुगेको बताए । ‘पार्किङको व्यवस्था मिलाउन उद्योगलाई पटक–पटक भनिसक्यौं’ उनले भने, ‘तर हरेक वर्ष यस्तै समस्या आउने गरेको छ ।’ उखु बोक्ने साधनका कारण दुर्घटनाको जोखिम समेत बढ्ने गरेको बस्नेतले जानकारी दिए ।
विशेषगरी अत्यन्त तिव्रगतिमा दौडने लामो दुरीका रात्रीबस चल्ने समयमा पूर्व–पश्चिम राजमार्गमा त्यस्ता सवारी साधनको अव्यवस्थित लामले ठूला दुर्घटना निम्तिन सक्ने भएकाले सरोकारवालाहरुले उचित ध्यान दिनुपर्ने हरिवन स्थित सौर्य होटलका सञ्चालक सौर्यप्रताप सिंह बताउँछन् ।
प्रकाशित: २४ माघ २०७४ ०६:५७ बुधबार